जेष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य सेवा 



Download our app to get more features

रुपन्देही २२ । सिद्धार्थनगर नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।  विशेषज्ञ चिकित्सकहरुको टोलीसहित नगरपालिकाले घरघरमा पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।
 
नगरभित्र बसोबास गर्ने ८५ वर्ष पुगेका जेष्ठ नागरिकको सम्मान गर्ने र उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित सेवा सुरु गरिएको हो । मंलबारबाट सुरु भएको स्वास्थ्य सेवा पहिलो दिन नगरका ३ वडामा दिइएको छ । जनप्रतिनिधि आएसँगै जेष्ठ नागरिकलाई सम्मान गर्ने र कुनै कारणले अस्पतालसम्म जान नसक्ने भए उनीहरुलाई घरमै सहज सेवा दिने उद्देश्यले सेवा सुरु गरिएको उपप्रमुख उमा काफ्लेले बताइन् ।

नगरपालिकाले थालेको जेष्ठ नागरिक उपचार सेवामा भैरहवाको युनिभर्सल मेडिकल कलेजले प्राविधिक सहयोग गरेको छ । 

पहिलो दिन नगरको वडा नं. २, १० र ११ का जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिइएको छ । चेकजाँचका क्रममा अधिकांश जेष्ठ नागरिकमा सामान्य समस्या देखिएको चिकित्सकले बताएका छन् ।

केहीमा ग्यास्ट्रिक तथा मोतियाविन्दुको समस्या समेत देखिएको युनिभर्सल मेडिकल कलेजका चिकित्सक डा. सुमनराज सापकोटाले बताए ।

नगरपालिकाका अनुसार जेष्ठ नागरिकको घरमै पुगेर सुगर, ब्लड प्रेसर, सामान्य चेकजाँच लगायत चेकजाँच गरिएको हो । समस्या देखिएका जेष्ठ नागरिकलाई निःशुल्क औषधी समेत वितरण गरिएको छ र उनीहरुको उपचारमा थप सहयोग पुगोस् भनेर नगद ३ हजार ५ सय समेत सहयोग गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । 

पहिलो दिन २१ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको छ । नगरभित्र १ सय  ८७ जना ८५ वर्ष पुगेका जेष्ठ नागरिक छन् । जेकजाँचका क्रममा थप उपचार गर्नु पर्ने भए जेष्ठ नागरिकलाई भैरहवा मेडिकल कलेजमा २० प्रतिशत छुटमा उपचार गरिने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले जनाए ।

स्वास्थ्य सेवा एक हप्तासम्म चल्नेछ । स्वास्थ्य सेवा दिन चिकित्सक टोलीसहित नगर प्रमुख, उपप्रमुख, बरिष्ठ लेखा अधिकृत गणेशबहादुर क्षेत्री, वडानम्बर २ का अध्यक्ष दीपक कुमार थापा, १० का विजयनाथ धवल, ११ का दिलिपकुमार यादव, सामाजिक विकास अधिकृत यादवप्रसाद सापकोटो लगायत जेष्ठ नागरिकको घरघरमा पुगेका थिए । मेडिकल कलेजबाट २ सदस्यीय चिकित्सक टोली खटिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts