हिमाली जिल्लामा देखियो औलो, चिकित्सक र औषधि अभाव



Download our app to get more features

हुम्ला, २६ जेठ । प्रायः तराईका जिल्लामा देखिने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि देखिएको छ । 

लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग हिमाली जिल्ला मुगु र हुम्लामा पनि देखिएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार पछिल्लो एक सातामा हुम्लाको दक्षिण ताजाकोट, अदानचुली, सर्केगाढ लगायतका गाउँपालिकाका १५ जनामा यो रोग देखापरेको छ ।

महाशाखाबाट हुम्ला जिल्लामा खटिएका चिकित्सक अरुन प्रसाद चौधरीले गर्मीको समयमा तराईका अधिकांश जिल्लामा देखापर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाका कर्णाली नदी छेउछाउका बस्तीहरुमा देखापरेको बताए । 

हिमाली जिल्लामा पनि तापक्रम बढेपछि औलो रोगका बिरामी भेटिएको उनले बताए । हुम्लाका केहि गाउँमा औलोका बिरामी देखिएपछि महाशाखाले गर्भवती महिलालाई  निःशुल्क झुल र औषधि समेत वितरण गरे छ । 

औलो रोग  नेपाल सरकारले सन २०२५ साल सम्म औलो रोग निवारण गर्ने अभियान संचालन गरेता पनि हिमाली जिल्लामा यो रोगका बिरामी देखा परेका छन् । नेपालका हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिएत पनि हुम्ला, बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले जनाएको छ । 

एउटा आयातित औलो जुन छिमेकी जिल्लाहरु बाट फर्किँदा मानिसहरुमा देखा परेको छ भने अर्को स्थानीयस्तरमा नै देखापर्ने गरेको महाशाखाले जानकारी गराएको छ । हुम्लामा देखापरेको औलौ स्थानीयस्तरको रोग रहेको पुष्टि भएको छ ।

जिल्लामा देखापरेको औलो सामान्य असर गर्ने किसिमको भएकाले अहिलेसम्म ठुलो असर नपुगेको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख तुलसी प्रसाद अधिकारीले जानकारी दिए । यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाईका कारण हुने चिकित्सकहरु बताउँछन् ।

संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा लामख’ट्टेले आफनो र्यालसँगै व्यक्तिको रगतमा औलो परजीवीलाई पुर्याइदिन्छ । हुम्लामा गएको वर्ष देखि औलो रोगका विरामीको संख्या बढ्दै गएपछि जिल्ला अस्पताल हुम्लालाई नियन्त्रणमा चुनौती देखिएको अधिकारीले बताए । 

हुम्लाको समुन्द्री सतह ४ हजार देखि ५ हजार फिट उचाई रहेको जिल्लामा पनि औलो रोग देखा पर्न थालेको जिल्ला अस्पतालका डाक्टरहरुले बताउदै आएका छन । हुम्ला जस्तो चिसो ठाउँमा समेत यस वर्ष देखि ग्रामिण क्षेत्रमा रहेका स्वाथ्य चौकीहरुमा औलो रोगी देखापरेका डाक्टर टसी लामाले बताए । 

शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखा परेको डाक्टरहरुको भनाई रहेको छ । 

गाउँमा औलो रोग फैलिएकाले औषधि र स्वास्थ्यकर्मीको अभाव देखिएको छ । कसरी ज्यान जोगाउने भन्ने चिन्ता रहेको स्थानीयवासी ताँजकोट गाउँपालिका ५ का औलो बिरामी किशोर बुढाले बताए । औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीनुनामक औषधीको अभाव हुन नदिन जिल्ला स्वास्थय कार्यालय हुम्लाले पहल गरेको छ । 

Last modified on 2019-06-10 10:12:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts