वर्षेनी नयाँ क्षयरोगका बिरामी थपिदै, सन् २०३५ सम्म नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न कठिन 



Download our app to get more features

काठमाडौं, २६ जेठ । नेपालमा वर्षेनि नयाँ क्षयरोगका बिरामीको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । 

विगत २० वर्षदेखि नेपालमा वर्षेनि ३० हजार क्षयरोगका बिरामी उपचारका लागि आउने गरेको आइतबार सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ । तथ्याङ्क अनुसार विगत २० वर्षदेखि हरेक वर्ष क्षयरोगका उपचारका लागि आउने बिरामीको संख्यामा कमि आउन सकेको छैन । 

सरकारले भने २०३५ सम्म क्षयरोलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । क्षयरोगका लागि सरकारले निःशुल्क उपचार सेवा लगायतका कार्यक्रमहरु सञ्चालन गरेता पनि वर्षौदेखि क्षयरोगीको संख्या न्यून हुन नसकेको देखिन्छ ।

पछिल्लो समय क्षयरोगका कारण वर्षेनि मृत्यु हुनेको संख्या घट्दै गएता पनि  नयाँ रोगीको संख्या भने बढ्दो क्रममा रहेको पाइएको छ ।

केही समयअघि मात्रै ८ विदेशी र ४ नेपाली विज्ञ सम्मिलित टोलीले प्रदेश नम्बर १ र गण्डकी प्रदेश बाहेक बाँकी ५ वटा प्रदेशमा क्षयरोगको कार्यक्रमको स्थलगत अध्ययन र समिक्षा गरेको थियो ।

 आईतबार राजधानीमा सार्वजनिक गरेको सोही समिक्षाअनुसार क्षयरोग नियन्त्रणका लागि अहिलेकै  कार्यक्रमलाई अघि बढाउने हो भने नेपालले क्षयरोग नियन्त्रणका लागि लिएको लक्ष्य हासिल हुन कठिन हुनेछ ।

यसअघि सन् २०१४ मा गरिएको समिक्षापछि हाल जोइन्ट एक्स्टर्नल मोनिटरिङ मिसनले गरेको  समिक्षाका क्रममा नेपालमा पछिल्लो समय क्षयरोग नियन्त्रणका कार्यक्रम नै ट्रयाक बाहिर गएको पाइएको छ ।   
गाउँ–गाउँमा क्षयरोगीले कस्ता स्वास्थ्य सुविधा पाएका छन्, कति उपचार भएर ठिक भए, कति भएनन् ?  स्वास्थ्य संस्थामा समयमै औषधि पुगेको छ/छैन, क्षयरोगका कार्यक्रम कसरी सञ्चालन भइरहेका छन्, जनशक्तिको परिचालन कस्तो छ ? लगायतका विषयमा गरिएको समिक्षाबाट क्षयरोगीको अवस्था अझै कमजोर हुँदै गइरहेको पाइएको छ । 

अध्ययनमा सहभागी डा तारासिंह बमले समिक्षा गरिएका समुदायका क्षयरोगीले समयमै उपचार नपाएको, सरकारले दिएको यातायात खर्चलगायतका सेवाबारे समेत थहा नभएको पाइएको बताए ।

निरन्तर परीक्षणका लागि स्वास्थ्य संस्थामा जानुपर्नेमा बिरामीहरु चेतना अभावका कारण समयमै औषधि सेवन नगर्ने, नजिकै डाइग्नोसिस सेवा नभएर टाढा धाउन बिरामी बाध्य रहेको भन्दै डा बमले डाइग्नोसिस पछि मात्रै ५ लाखसम्म क्षयरोगीको खर्चभएको पाइएको बताए ।

औषधि भएर पनि राम्रो व्यवस्थापन हुन नसक्दा समबन्धित ठाउँमा औषधि पुग्न नसकेको अवस्था रहेको उनको भनाई छ । 

क्षयरोग नियन्त्रणका लागि क्षयरोगका कार्यक्रमको अनुगमन तथा निगारानी हुन जरुरी रहेको भन्दै उनले त्यसका लागि तालिम प्राप्त जनशक्ति र बजेट सहि ठाउँमा परिचालन गर्न आवश्यक रहेको प्रष्टाए ।

डा. बमले भने ‘क्षायरोग निवारणका लागि संघीय संरचनालाई अवसरमा रुपमा लिएर स्थानीय जनप्रतिनिधिलाई पनि उत्तरदायी बनाउँदै जानुपर्छ ।’ उनले थपे, ‘यससँगै सबै जिल्ला स्वास्थ्य कार्यालयमा क्षयकुष्ठ अधिकृतको दरबन्दी राख्न, क्षयरोग कार्यक्रमका बारेमा थप अनुगमन गर्न र क्षयरोगीको खोज तथा उपचारको पहुँचमा ल्याउनपर्छ ।’

समिक्षामा सहभागि अर्का विदेशी विज्ञ डा पल नानले क्षयरोग नियन्त्रणका लागि तत्कालै कार्यक्रमको प्रारुप (मोडालिटी) परिवर्तन गर्दै समय सान्दर्भिक बनाउन र स्थानीय जनप्रतिनिधिलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।

समीक्षको निचोड सार्वजनिक गर्दै डा नानले भने ‘कार्यक्रमको स्वरुप परिवर्तन नगर्ने हो भने क्षयरोग नियन्त्रणमा नेपाल असफलतातर्फ अगाडि बढ्ने छ,।’ क्षयरोग उन्मूलनका लागि नेपालमा उल्लेखनीय लगानीको आवश्यकता रहेको भन्दै डा. नानले अन्य मुलुकमा क्षयरोगका लागि छुट्टाइने बजेटको  तुलनामा नेपाल सरकारको बजेट पनि न्यून रहेको बताए ।

डा. नानले पहाडका दुर्गम क्षेत्र तथा तराईका अविकसित क्षेत्रमा उपचार नपाएका मानिसलाई समेत पहिल्याउने हो भने क्षयरोगीको संख्या दुईतिहाइले बढ्ने  बताए ।

यसअनुसार  २०३५ सम्म क्षयरोगी नियन्त्रणको सट्टा भयावह रुपमा बढ्ने उनको भनाइ छ ।  

उनले तालिमप्राप्त जनशक्ति व्यवस्थापन, प्रयोगशाला, स्वस्थ्यकर्मी, कार्यक्रमको प्रारुप लगायतका सुझावलाई कार्यान्वयनमा लैजान समेत अनुरोध गरे ।

समिक्षमा सहभागि अन्य विज्ञहरुले  क्षयरोग निवारणका लागि अहिले सञ्चालित पाँच वर्षे रणनीति ९२०१६–२०२१० लाई समयसापेक्ष पुनरावलोकन गर्न पनि सुझाव दिएका छन् । 
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताए ।

उनले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने बताए । मन्त्री यादवले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको जानकारी दिए ।

यस्तै स्वास्थ्य सचिव डा पुष्पा चौधरीले संघीयता कार्यान्वयनकै क्रममा हुँदा अलमलका कारण कार्यक्रममा केही समस्या आएको हुनसक्ने बताइन् ।  डा चौधरीले विज्ञहरुले दिएको सुझावका आधारमा छलफल गरेर अगाडि बढ्ने बताइन् ।

यससँगै उनले क्षयरोगीको वास्तविक तथ्याङ नआएको बताइन् । डा चौधरीले निजी अस्पतालमा उपचार गराएका बिरामीको तथ्यांक सरकारी संयन्त्रमा आउन नसकेको बताउँदै  निजी अस्पतालसित पनि सहकार्य गरेर अघि बढ्न सकेमा लक्ष्य हासिल गर्न सकिने बताइन् ।

स्वास्थ्य मन्त्रालयका अर्का सचिव रामप्रसाद थपलियाले  क्षयरोगका कार्यक्रमको अनुगमनलाई प्रमुख प्राथमिकतामा राख्दै सरकारले लिएको लक्ष्य पूरा गर्नेगरी अगाडि बढ्नमा जोड दिइने बताए । 

यता राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भीमसिंह तिन्करीले विज्ञले दिएको सुझावका आधारमा पञ्च वर्षिय  रणनीतिलाई पुनरावलोकन गर्दै क्षयरोग नियन्त्रणका काम अघि बढाउने दावी गरे ।

नयाँ क्षयरोगीको संख्या ४५ हजार, करिब ७ हजारको मृत्यु
विसं २०७४/७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएका थिए। तीमध्ये सात हजारको अकालमा मृत्यु भएको थियो। 

आइतबार सार्वजनिक गरिएको तथ्याङअनुसार  नयाँ क्षयरोगीको संख्या ४५ हजार पुगेको छ  भने मृत्यु हुनेको संख्या  छ हजार ६ सय रहेको उल्लेख छ। जसमा ६४ प्रतिशत पुरुष रहेकोमा ३६ प्रतिशत महिला रहेका छन्  ।

प्रत्येक दिन १२३ क्षयरोगीका बिरामी आउने गरेको तथ्याङले देखाएको । जसमा १८ जनाको मृत्यु हुने गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रकाअनुसार  ३४ प्रतिशत क्षयरोगी सम्पर्कमै आएका छैनन् । 
 

Last modified on 2019-06-10 14:59:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts