वालिङमा डायलाईसिस सेन्टर संचालन हुने



Download our app to get more features

रुपन्देही, २७ जेठ ।   मिर्गौलाको डायलाईसिस सेवा लिन बुटवल तथा पोखरा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्याङजा जिल्लाको वालिङमा डायलाईसिस सेन्टर संचालन हुने भएको छ । 
डायलाईसिस सेन्टर संचालनको लागि वालिङ नगरपालिका र बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा शनिवार सम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खांड र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले हस्ताक्षर गरेका छन् । 

वालिङ नगरपालिका वडा नंं १० मा रहेको सरकारी भवन (फुलवारी गेष्ट हाउस) मा रोटरी सामुदायिक डायलाइसिस सेन्टर, वालिङको नामबाट संचालन गरिने सेन्टरको लागि नगरपालिकाले अस्पताललाई उक्त भवन मर्मत संभार गरी निशुल्क रुपमा प्रयोग गर्न दिने छ । सेन्टरको संरक्षकत्व भने वालिङ नगरपालिकाको रहने गरी सम्झौता गरिएको छ । उक्त सेन्टर रोटरी क्लव अफ वालिङको सहयोगमा संचालन गर्न लागिएको हो ।

पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधी दुवै पक्षको सहमती र आवश्यकता अनुसार थपघट गर्न पनि सकिने वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खांडले जानकारी दिए । 
स्याङजाको वालिङ, गल्याङ लगायत आसपासको क्षेत्रमा मृगौलाका विरामीहरुको संख्या उच्च रहेको र सरकारले निशुल्क उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वालिङमा डायलाईसिस सेन्टर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेशिन जडान गरी बिरामीहरुको डायलाईसिस सेवा शुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने अध्यक्ष आलमले बताए ।

रोटरी क्लव अफ वालिङका अध्यक्ष मधुसुदन आचार्यले डायलाइसिस सेन्टर संचालनहुने भवन मर्मत संभार गर्नु पर्ने भएको हुँदा ३ महिना भित्र मर्मत कार्य सम्पन्न गरी सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिए ।
 

Last modified on 2019-06-10 14:59:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts