महिलाको स्वास्थ्य सुधारमा नीतिगत परिवर्तनको खाँचो



Download our app to get more features

महिलाको स्वास्थ्यमा विभिन्न तत्वहरुले प्रभाव पारिरहेका हुन्छन । सामाजिक आर्थिक र राजनैतिक तत्वहरुले आधारभुतरुपमा महिलाको स्वास्थ्यमा प्रभाव पार्छन ।

बसोबास, र उचित आहार आधारभुत आवश्यकता हो । महिलाको उमेर, जात, लिंग, शिक्षा, धर्म, सस्कृति, रहनसहन, स्वास्थ्य स्याहार र निर्णय क्षमता आदिको कारण पनि महिलाको स्वास्थ्यमा प्रभाव पारिरहेका हुन्छन् ।

कतिपय महिलाहरुमा श्रोत साधनको उपलब्धता, प्रयाप्तता र उपभोगको ज्ञानको कमि, गरिवी, अशिक्षा, बेरोजगार, वातावरणिय अवस्था(दुर्गमता र सुगमता) आदिले पनि महिलाको स्वास्थ्यमा प्रभाव पार्ने पारिरहेका हुन्छन् ।

नेपालमा महिलाको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा कुरा गर्नुपर्दा यिनै उल्लेखित तत्हरु नै जोडिएर आउछन् ।

उमेर नपुगि गरिने विबाह, कम उमेरमा वा इच्छा विपरित गर्भवति हुनु वा सन्तान जन्माउनु, विभिन्न जाति समुदायले पछ्याउदै आएका कुरिति, अन्धविश्वास धर्म सस्कृतिहरु (जस्तै छाउपडि प्रथा , मासिक श्रावको बेला गरिने दुब्र्यवहार) सामाजिक विभेद, लिंग र जातको आधारमा भेदभाव गरिनु, घरेलु तथा यौन हिंसाका कारण भौतिक र मानसिक रुपमा स्वास्थ्य समस्या आउनु, कमजोर आर्थिक अवस्था हुन ।

त्यस्तै अशिक्षा भूगोलका साथै स्वास्थ्य र शिक्षामा पहँच नहुनाको कारण महिलाको पोषण अवस्था कमजोर हुनु, असुरक्षित गर्भपतन, यौन जन्य रोग लाग्नु र स्वास्थ्य उपचारमाबाट बञ्चित हुनु नेपालमा विद्यमान महिलाका समस्याहरु हुन ।

वातावरणिय प्रभावका सरुवा रोगको जोखिम, राजनैतिक रुपमा महिलालाइ उचित अवसर नदिदा महिलाहरुको निर्णय क्षमतामा कमि आउनु पनि अर्को समस्या हो ।

नेपाल जनसांिख्क र स्वास्थ्य सर्वेक्षण(२०१७)को अनुसार प्रजनन उमेरका महिलाहरुको मातृ मृत्यु दर अझै १२ प्रतिशतमा छ । एकलाख जिवित बच्चा जम्माएका महिलामा २३९ जनाले ज्यान गुमाएका छन् । बिशेष गरि गर्भवति र स्तनपान गराउने महिलाहरुमा रक्त अल्पताको समस्या छ । पुरुषको तुलनामा महिलामा एड्स रोगको समस्या  १ः३ को अनुपातमा छ ।

अर्कोतर्फ महिलामा सामाजिक र कानुनी विभेद पनि रहेको पाइन्छ । समाजमा छोरा र छोरीलाइ हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आएको छैन । पौष्टिक आहारमा पनि त्यतिकै समस्या छ ।

हाल महिलाले अनुभव गर्दै आएका मुख्य स्वास्थ्य समस्याहरुमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, असुरक्षित यौन सम्पर्कबाट सृजित यौन जन्य घातक रोगहरु, महिला हिंसा, प्रजनन स्वास्थ समस्या, मानसिक समस्या, किशारीहरुमा हुने स्वास्थ्य समस्या, बलत्कार तथा बुढ्यौली अवस्थामा हुने स्वास्थ्य समस्याहरु हुन । बुढयौली अवस्थामा स्वास्थ्य स्याहार सुसारको खाँचो छ भने किशारीहरु र महिलाहरुमा शसक्तिकरणको खाँचो छ ।

पुरुषको तुलनामा महिलाले कानुनी अधिकार समेत कम पाइरहेका छन् ।

नेपालमा हाल सरकारी तह र नीजि तह दुवैबाट महिलाको स्वास्थ्य समस्या सुधारको लागि कार्य योजना बनाउने, मातृ शिशु स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार नियोजन, सेनेटरी प्याड वितरण, कानुनी गर्भपतन जस्ता कार्यहरुमा केहि नीतिगत सुधार भएको देखिएता पनि बिस्तृत रुपमा महिलाको स्वास्थ्य अवस्थाको अध्ययन अनुसन्धान र देखिएका स्वास्थ्य समस्याको कार्यान्वयनको बारेमा नीतिगत सुधारको अझै खाँचो छ । कार्यक्रम कार्यन्वयनमा समेत रणनीतिहरु परिवर्तन गर्नुपर्ने देखिन्छ ।

महिलाहरुको स्वास्थ्य समस्यालाइ सम्बोधन गर्नका लागि उनिहरुलाई नेतृत्व तहमा पुरयाउनको साथै  स्वास्थ र शिक्षामा पहुँच, उचित वातावरण र न्यायको जरुरत पर्दछ । जसको लागि निम्न अनुसारको रणनीति अवलम्बन गर्न सकिन्छ ।

१. महिला स्वास्थ्य सेवामा पहुँच
आर्थिक अवस्था कमजोर भएका तथा विपन्न महिलाको पहिचान गरि सामाजिक आर्थिक अवस्थामा सुधार गर्नको लागि महिलालाइ उद्यमी बनाउन क्रृण सहुलियत दिने, महिला कामदारको ज्यालामा वृद्धि गर्ने, महिला साक्षरता कार्यक्रम र विद्यालय स्वास्थ्य कार्यक्रमको विशेष ब्यवस्था गर्नुपर्ने देखिन्छ  ।

ग्रामिण भेगका सुविधायूक्त बाटो र यातायातको पहुँच बढाउनको साथै मेडिकलको सुविधा गाँउ–गाँउ पुरयाउने, महिलाको स्वास्थ्यको लागि तालिम प्राप्त दक्ष प्राविधिकको ब्यवस्था गर्ने, महिला स्वास्थ्यका उपकरणहरुको ब्यवस्था गरि महिला स्वास्थ्य सेवामा पहुँच बढाउन सकिन्छ ।

२. महिलालाई समान अवसर
महिलाका आधारभुत आवश्यकताको सम्बोधन गर्ने खालका कल्याणकारी कार्यक्रम, न्यून ब्याजमा नयाँ ब्यवसायिक कार्यक्रम, सामाजिक आर्थिक ब्यवस्थापन, समान ज्याला, काम तथा निर्णय तहमा महिलाको सहभागिता र महिला र पुरुषमा समान अधिकारको ब्यवस्था गर्नुपर्ने देखिन्छ ।

३. महिला शसक्तिकरण
विद्यालय तहमा नै एकिकृत महिला स्वास्थ्य र तिनिहरुको जीवनसंग सम्बन्धित जस्तै ब्यक्तिगत दक्षता, चरित्र विकास गर्ने खालका पाठ्यक्रम बनाउने, सामाजिक समर्थन र महिलालाइ सिप मुलक तालिमको ब्यवस्था गर्न सकिन्छ ।

आर्थिक अवसर र श्रोतहरुको पहुँच बढाउने र महिलाइ बलियो राजनैतिक शक्ति सम्पन्न बनाइ समाजमा रहेका गलत धारणाको विरुद्ध उभिन प्रेरित गर्नुपर्छ । महिलाको आत्मबल बढाउन आर्थिक विकास, नेतृत्वदायि भुमिका, स्वास्थ्य शिक्षा, वातावरणिय सुधार र न्यायमा जोड दिनुपर्ने देखिन्छ ।

४. महिलाका लागि स्वास्थ्यका गतिविधिहरु
 महिलाको स्वास्थ्य सेवामा सरोकारवालाहरुसंग पैरवि गर्ने, महिला विरुद्ध हुने हिंसा र त्यसका चुनौतिहरुको सामना गर्ने समुदायबाट नै मद्दत गर्ने वातावरण बनाउने, यौन स्वास्थ्य र स्वास्थ्य सेवा पक्का गर्न प्रर्वधन गर्ने, समुदायमा महिला स्वास्थ्य र अधिकारको बारेमा काम गर्ने संघ संस्थाहरु संगै मिलेर शिक्षा र पैरवी कार्यक्रम परिचालन गर्नुपर्ने देखिन्छ ।

गर्भवति महिला र सुत्केरी अवस्थामा हुने जटिलताको कमिका लागि महिला मैत्रि अस्पतालका साथमा साझेदारी कार्यक्रमहरु गर्दै महिला र शिशुको स्वास्थ्य प्रर्वधनका लागि  गरिबी निवारण कार्यक्रम पनि शुरु गर्नुपर्ने देखिन्छ ।

अन्तमाः  महिलाका सबै स्वास्थ्य समस्याहरुको खोजि तथा अनुसन्धान गर्न आवश्यक देखिएको छ । उनीहरुको स्वास्थ्य समस्या र स्वास्थ्य शिक्षाको बारेमा जागरुक गराउनको साथै पेशा, कामको प्रकृति, ज्याला, काम गर्ने वातावरण, लैगिक अवस्था, जाति, भाषा रहनसहन, सामाजिक, सास्कृतिक, आर्थिक, राजनैतिक अवस्था र यस संग जोडिएका महिला स्वास्थ्य समस्याको बारेमा पहिचान गरि सहि कदम उठाउन सकेको खण्डमा ब्यक्ति, परिवार, समाज र देशले नै फड्को मार्ने प्राय निश्चित छ ।

त्यसैले महिला शसक्तिकरणको माध्यमबाट सबै तहमा महिलालाई समान अवसर दिदै उनीहरुको क्षमता अभिबृद्धि गरि निर्णायक भूमिकामा पुरयाउन सक्नुपर्छ । 

Last modified on 2019-06-11 09:23:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts