धरानमा देखिएको डेंगु मोरङ र झापामा पनि फैलियो

अबको एक साता भित्र डेंगु नियन्त्रणमा आउने प्रदेश सरकारको दावी



Download our app to get more features

सुनसरी, ३० जेठ । सुनसरीको धरानमा देखिएको डेंगु संक्रमण तीन जिल्लामा फैलिएपछि प्रदेश सरकारले दैनिक जानकारी गराउन निर्देशन दिएको छ । 

डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि एक हप्ते कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

बुधवार मुख्ययमन्त्री कार्यालयमा भएको सर्बपक्षीय छलफलपछि प्रदेश सरकारले एक साताको कार्ययोजना बनाएर काम अघि बढाउने निर्णय गरेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । 

एक महिनासम्म नियन्त्रणमा आउन नसकेको डेंगु अबको एक हप्ताभित्रमा नियन्त्रणमा आउने घिमिरेले दावी गरे ।

बैठकले निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

प्रदेश सरकारले डेंगुको संक्रमण देखिएका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणमा भएका कामबारे दैनिक रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

केहि समयपहिले डेंगु अन्य जिल्लामा फैलिन नदिन भन्दै केन्द्र  सरकारले सर्च एण्ड डिस्ट्र्यो अभियान सञ्चान गरेको बताएको थियो । तर, केन्द्र सरकारको प्रयासका बाबजुद डेंगु नियन्त्रणमा आउन नसक्दा अन्य जिल्लामा पनि डेंगु देखिएको हो ।

यता जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको जानकारी दिएका छन् ।

गत वैशाख ३१ मा धरानमा देखिएको डेंगु मोरङ र झापामा पनि भेटिएका छन् । मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

मोरङको उर्लाबारी नगरपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिकामा १–१ जनामा डेंगुको संक्रमण देखिएको छ भने सुन्दरहरैचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
 

Last modified on 2019-06-14 07:04:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts