यस्तो अवस्थामा महिलाको पाठेघर फ्याँक्नुपर्छ



Download our app to get more features

महिलामा धेरै देखिने स्वास्थ्य समस्यामध्ये पाठेघरसम्बन्धी समस्या पनि हो । धेरैजसो महिलाको पाठेघरमा मासु पलाउने, संक्रमण हुने, पाठेघरको मुखको क्यान्सर हुने गर्छ । के कारणले महिलामा यस्ता समस्या देखिन्छ र यस्ता समस्या आउनै नदिन के गर्नुपर्छ भन्ने विषयमा हेम्स अस्पतालमा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर सुनिता पुनसँग गरिएको कुराकानीको अंश :

पाठेघरमा मासु पलाउने समस्या करिब २०–२२ प्रतिशत महिलामा हुन्छ । सामान्यतया यस्तो समस्यालाई दुई भागमा विभाजन गरिएको छ । यस्तो मासु पलाउँदा पेट दुख्ने, पेट फुलेजस्तो हुने, महिनावारीमा बढी रक्तस्राव हुने गर्छ । 

यसकारण पलाउँछ पाठेघरमा मासु
यस्तो समस्या सबैमा एउटै कारणले हुन्छ भन्ने हुँदैन । यद्यपि, धेरैजसोमा खानपान, सरसफाइको कमी, वंशाणुगत र वातावरणीय कारणले हुने गर्छ । 

लक्षण
पाठेघरमा मासु पलाउँदा लामो समय कुनै लक्षण नै नदिन पनि सक्छ । लक्षण देखिए पनि सबैमा एकै प्रकारको नहुन सक्छ । व्यक्तिको शारीरिक क्षमता र पलाएको मासुको प्रकृतिअनुसार फरक पर्न सक्छ । तैपनि अधिकांशमा निम्न लक्षण देखिन्छन्:
    

पेट ठूलो हुँदै जाने
पेट दुख्ने
महिनावारीको समयमा बढी रक्तस्राव हुने, धेरै दिनसम्म रगत बग्ने
शरीर आलस्य हुने
 रिँगटा लाग्ने
 खाना अरुचि हुने, बान्ता हुने
 सेतो, गनाउने पानी बग्ने
 शरीरमा रगतको कमी हुने 
 त्यस्तो मासु ठूलो भए बच्चा नबस्ने, निःसन्तान हुने अवस्थासमेत आउँछ

कस्ता व्यक्तिलाई हुन्छ ?
पहिले–पहिले पाठेघरको समस्या ४५–५० वर्ष कटेका महिलामा मात्रै देखापर्छ भन्ने थियो । तर, अहिले कलिलो उमेरका किशोरीमा पनि यस्तो समस्या देखिन थालेको छ ।

किशोरीमा महिनावारी र अन्य वेलामा पनि गुप्तांगको सरसफाइमा ध्यान नदिँदा, धेरैसँग यौन सम्पर्क गर्दा, सुत्केरी अवस्थामा सरसफाइमा ध्यान नदिँदा पाठेघरसम्बन्धी समस्या देखिने गर्छ । यस्तो समस्या बढ्दै गएमा पाठेघर फ्याँक्नुपर्ने अवस्थासम्म पनि आउँछ ।

यस्ता समस्या विशेषगरी महिनावारी सुकेका महिलामा बढी हुन्छ । 

पाठेघरमा मासु पलाउनेबित्तिकै शल्यक्रिया वा पाठेघर फ्याँक्नैपर्ने भन्ने होइन । विभिन्न सहज उपचार पद्धति भित्रिएका छन् । महिलाको उमेर, उसको पाठेघरमा पलाएको मासुको आकारप्रकार र यसले गर्न सक्ने बाधाअनुसार उपचार पद्धति अवलम्बन गरिन्छ । 

पाठेघर फ्याँकेका महिलाले यस्ता विषयमा सावधानी अपनाउने

पाठेघर फ्याँकिसकेपछि कमजोरी हुने र हर्मोनमा गडबढी हुन सक्ने भएकाले सन्तुलित खानपान, सरसफाइ, व्यायाममा सन्तुलन मिलाउनुपर्छ । चिकित्सकले भनेबमोजिम औषधि सेवन, स्वास्थ परीक्षण गराउनुपर्छ । 

यसरी बच्ने पाठेघरसम्बन्धी समस्याबाट 

कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हो । पाठेघरमा मासु पलाउने वा अन्य रोग लाग्ने समस्यामा पनि त्यही हो । यस्ता कुरामा ध्यान दिए समस्याबाट बच्न समिन्छ । 
    कम्तीमा वर्षको एकपटक पाठेघरको परीक्षण गराउने
    गुप्तांग सधैँ सफा राख्ने
    कम उमेरमा बच्चा नजन्माउने
    असुरक्षित गर्भपतन नगराउने
    धेरैसँग यौनसम्पर्क नगर्ने
    स्वस्थ र सन्तुलित खानपान गर्ने

 
 

Last modified on 2019-06-16 20:39:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts