कस्ता औषधिमा नेपाल आत्मनिर्भर ?



Download our app to get more features

 

घटना १
वैशाख दोस्रो साता हुम्लामा मौसमी रुघाखोकीका कारण नौजनाले ज्यान गुमाए । हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा एक साताभित्र सामान्य रुघाखोकीले नौजनाले ज्यान गुमाए । मौसमी रुघाखोकीको महामारी नै भएपछि स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्नु स्वाभाविक हो । तर, बिरामीको चाप बढेसँगै स्वास्थ्य चौकीमा औषधिसमेत अभाव भएपछि बिरामी मारमा परे । 

घटना २
हुम्लामा सामान्य रुघाखोकीबाट मानिसको मृत्यु भएको घटना सेलाउन नपाउँदै गुल्मीमा यस्तै प्रकृतिको अर्को घटना भयो । १७ वैशाखमा गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा झाडापखालाका कारण १२ वर्षीय एक बालकको मृत्यु भयो । समयमै औषधि उपचारको पहुँच नहुँदा बालकले ज्यानै गुमाउनुपर्यो । 

यी त प्रतिनिधि घटना मात्रै हुन्, देशका विभिन्न भागमा औषधि समयमा नपाएर कैयौँ मानिसले ज्यान गुमाएका छन् ।

राज्यबाट आधारभूत स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था गर्ने भनिए पनि मुलुकका दुर्गम क्षेत्रमा औषधि अभावका कारण मानिसको अकालमा ज्यान गइरहेको घटना वेलाबखत आइरहन्छन् ।

काठमाडौं उपत्यकामा नै रेबिजको इन्जेक्सन नपाउँदा मानिसको मृत्यु भएको घटना सार्वजनिक हुने गरेका छन् । तर, स्वदेशी औषधि उत्पादकहरू भने मुलुक औषधिमा ७० प्रतिशत आत्मनिर्भर भइसकेको राग अलापिरहेका छन् । 

चालू आर्थिक वर्ष ०७५/७६ को बजेटको बुँदा नम्बर ३३ मा समेत अत्यावश्यक औषधि उत्पादन बढाउन अभिपेर्रित गरिने उल्लेख छ । तर, सरकारले हालसम्म स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कुनै किसिमको कार्यक्रम अगाडि नबढाएको औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल बताउँछन् ।

पछिल्लो समय नेपालमा औषधि उद्योग बढ्दो क्रममा छन् । अहिले ५४ वटा औषधि उद्योग सञ्चालनमा छन् भने २० उद्योग दर्ताको प्रक्रियामा छन् । संख्यात्मक हिसाबले औषधि उद्योग बढे पनि उत्पादित औषधि सबै ठाउँमा भने पुग्न सकेको छैन । अझै यी उद्योगले एकै किसिमका औषधि उत्पादनलाई जोड दिएको देखिन्छ ।

औषधि उद्योग मात्रै थपिए: औषधिविज्ञ राउत
नेपाल जडीबुटीको देशसमेत भएकाले औषधि निर्माण गरी आत्मनिर्भर हुनुपर्नेमा आत्मनिर्भर भइसकेका भनिएका औषधि पनि आयात भइरहेको अवस्था छ ।

अहिले पनि नेपालमा इन्जेक्टेबल औषधि उत्पादनमा जोड नदिइएको विज्ञहरू बताउँछन् ।

औषधिविज्ञ राजनबहादुर राउतले नेपाल केही औषधिमा आत्मनिर्भर भए पनि सबै औषधिमा आत्मनिर्भर भइनसकेको बताए ।

उनले भने, ‘औषधिमा आत्मनिर्भर भन्नलाई सबै किसिमका औषधिमा पूर्ण हुनुपर्छ, तर नेपालमा क्याप्सुल मात्रै बन्छ, सोही रोगको इन्जेक्सन भने बन्दैन ।’ 

नयाँ औषधि उद्योग थपिँदै गएका छन्, त्यसरी नयाँ–नयाँ औषधि उत्पादन भने हुन नसकेको उनको दाबी छ ।

‘हामीलाई कति परिणाममा कस्ता औषधि आवश्यक पर्छ, त्यसअनुसार पुग्छ–पुग्दैन हेरर सबै तवरबाट आत्मनिर्भर भएपछि मात्रै पूर्ण भएको मानिन्छ, एकथरी छ, अर्कोथरी नभएपछि कसरी आत्मनिर्भर भन्ने ?’ उनले प्रश्न गरे ।

औषधि उद्योगीहरूले ७० देखि सय किसिमका औषधिमा नेपाल पर्याप्त भइसकेको भनिरहेको अवस्थामा हालसम्म इन्जेक्टेबल औषधि उत्पादनमा पछाडि रहेको विज्ञहरूको भनाइ छ ।

यो भनाइलाई लोमश फर्मास्युटिकल्सका निर्देशक प्रज्वलजंग पाण्डेले पनि स्विकारेका छन् । उनी इन्जेक्टेबल औषधि उत्पादनमा नेपाल निकै पछाडि रहेको बताउँछन् ।

उनले भने, ‘नेपाल ७० देखि सय किसिमका औषधिमा आत्मनिर्भर भइसकेको छ, तर इन्जेक्टेबल औषधिमा हामी आत्मनिर्भर भइसकेका छैनौँ ।’

नेपालका चार–पाँचवटा औषधि उद्योगले मात्रै इन्जेक्टेबल औषधि बनाउँछन् ।

निर्देशक पाण्डेले भने, ‘अबको तीन–चार वर्षभित्रमा नेपालको औषधि बजार प्रतिस्पर्धामा जाने निश्चित छ ।’ उनले दर्ताका क्रममा रहेका औषधि उद्योगले उत्पादन गर्न थालेपछि औषधि उत्पादन बढ्छ ।’

यी हुन् औषधि निर्यात गर्ने नेपाली औषधि उद्योग
नेपालका चारवटा औषधि उद्योगले औषधि निर्यातसमेत गर्दै आएका छन् । सात सय किसिमका औषधि उत्पादन गरिरहेका लोमश फर्मास्युटिकल्सले १० देखि १२ किसिमका औषधि निर्यात गर्दै आएको छ ।

नेपालमा उत्पादित औषधि पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने सन्देश विश्वबजारमा पुर्याउने यो एउटा सुरुवात गरेको निर्देशक पाण्डेले बताए ।

औषधि निर्यात गर्ने कम्पनी लोमशसहित नेसनल फर्मा क्याम्प, नेसनल हेल्थकेयर रहेको औषधि उत्पादक संघका अध्यक्ष दाहालले जानकारी दिए ।

नेपालमा उत्पादन हुने औषधि 
कार्डियोभास्कुलर ओरल रेन्ज
डाइबेटिक ओरल रेन्ज
लो भोलुम एन्ड लार्ज भोलुम प्यारेन्टल
एन्जिबायोटिक्स पेनिसिलिन
सेफालोसपोरिन रेन्ज
ग्यास्ट्रो इन्टेस्नल
एन्टासिड
अर्थोपेडिक रेन्ज
भिटामिन एन्ड मिनेरल इन फिक्स् डोज कम्बिनेसन 
रेसपिरेटोरी ट्रयाक्ट ओरल रेन्ज
ओरल रेहिड्रेसन सोलुसन
जेनेकोलोजी
हर्मोनका औषधि

नेपालमा १२ सयभन्दा बढी रेन्जका औषधि बन्ने गरेको लोमशका निर्देशक पाण्डले जानकारी दिए । उनका अनुसार माथि उल्लेखित औषधिबाहेक नेपालमा उत्पादन भएको एन्टिक्यान्सर औषधि पनि छिटै बजारमा आउँदै छ ।

आत्मनिर्भर भइसकेका औषधि
१. एल्बेन्डाजोल
२. एमोक्सिलिन
३. एजिथ्रोमाइसिन
४. ट्रिमेथोरपिम
५. मेट्रोनिडाजोल
६. एन्टासिड
७. ओम्निप्राजोल
८. पेन्टाप्राजोल
९. रेनिटिडिन
१०. भिटामिन
११. प्यारासिटामोल
१२. कफसिरफ
१३. इन्जाइम
१४. राइड्रेसन
१५. आइबुप्रोफेन
१६. सेट्रिजिन
१७. इन्डोमेथासिन
१९. डिक्लोफेन्याक
२०. टिनिडाजोल
२०. अल्बेन्डाजोल, भेट
२१. अक्सिक्लोनाजाइड, भेट
२२. लेभामिसोल, भेट
२३. प्यारासिटामोल, भेट
२४. अक्सिटेट्रयासाइक्लिन, भेट
२५. कालामाइन लोसन
२६. क्याल्सियम कार्बोनेट
२७. जेन्सन भोइलेट
२८. निमेसुलिड
२९. ट्रामाडोल
३०. साइप्रोहेप्टाडिन

Last modified on 2019-06-19 16:33:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts