स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई भन्यो : खटिएकै ठाँउमा रहेर काम गर्नू, पत्र त्यहि आउँछ



Download our app to get more features

काठमाडौं, ६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीलाई खटिएको कार्यालयबाटै धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन अनुरोध गरेको छ ।

मन्त्रालयले समायोजनको सूचि विवरण अद्यावधिक गर्ने काम भइरहेको हुँदा सबै स्वास्थ्यकर्मीहरुलाई आफू खटिएको कार्यलयमा नै रहेर सेवा प्रवाह गर्न अनुरोध गरेको हो । विज्ञप्ति प्रकाशन गर्दै मन्त्रालयले नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी समायोजन ऐन, २०७५ अनुसार स्वास्थ्य सेवाका सबै समूह तथा उपसमूहका कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन सम्बन्धी काम सम्पन्न भएसकेको पनि जनाएको छ ।

मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको समायोजनमा परेको गुनासो संकलन गरी आवश्यक सम्बोधन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटसमेतको सूची प्राप्त भएको पनि जनाएको छ । मन्त्रालयले सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुले पनि समायोजनको पत्र प्राप्त नहुँदा सम्म आफू मातहतका कर्मचारीहरुलाई खटिएकै कार्यालयबाट सेवा प्रवाह गराई नागरिकलाई सेवा प्रवाह गरीरहन आग्रह गरेको छ । समायोजन सूचीमा गुनासो सम्बोधनबाट प्राप्त हुन आएको विवरण अद्यावधिक गर्ने कार्य सँगसँगै समायोजन भएका पदनामका कर्मचारीहरुको समायोजन पत्र कार्यरत कार्यालयमा नै पठाउने गरी आवश्यक व्यवस्था मिलाईएको पनि मन्त्रालयले जनाएको छ । समायोजनको सम्वन्धमा कसैको वहकाउ तथा भ्रममा नपरी सेवारत हुन अनुरोध पनि कर्मचारीलाई अनुरोध गरिएको छ ।

समायोजनको पत्र प्राप्त भए पछिको पदस्थापनाको कार्य सम्पन्न नभए सम्म यथावत रुपमै कार्यरत रहीरहन सम्बन्धित सबैलाई आग्रह समेत गरेको हो ।

Last modified on 2019-06-22 15:28:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts