सैनामैना नगरपालिकाभित्र रहेका विद्यालयहरुमा जंकफुड प्रतिबन्ध



Download our app to get more features

रुपन्देही, ८ असार । सैनामैना नगरपालिका भित्र रहेका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध गरिएको छ । नगरभित्र रहेका ३६ विद्यालयको परिसर भित्र कुनैपनि किसिमको जंकफुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए।

जंकफुड प्रयोग गर्दा अधिकांशमा विद्यार्थीमा हड्डी र जोर्निको समस्या देखिएको कार्कीले बताए । कार्कीले भने त्यसैले हामीले घरमा बनाएको नास्ता खाने  अभियान सुरु गरेका हौं ।

घरको नास्ता प्रयोग गर्दा एकातिर विद्यार्थीहरु स्वस्थ हुने, अभिभावकलाई आर्थिक व्ययभार कम पर्ने र बालबालिकाप्रति परिवारको माया र कर्तव्य बढेर जाने पनि कार्कीको तर्क छ। 

अभिभावकले बालबालिकालाई नास्ताबापत पैंसा दिने र त्यो पैंसाले चाउचाउ, चिजबल्स जस्ता जंकफुड नियमित खाँदा एकातिर बच्चाहरु अस्वस्थ हुँदै गएका छन् भने अर्कोतिर अभिभावकलाई पैंसा दिएपछि सबथोक हुन्छ भन्ने प्रवृत्ति पनि हाबी हुँदा बालबालिका परिवारबाट टाढिँदै गएका छन्।

 नगरसभाले नगरभित्रका सबै विद्यालय दिवा सत्रमा मात्रै सञ्चालन गर्न निर्देशनसमेत दिएको छ। यस्तै माध्यमिक तह पुरा गर्न नसकेका र प्राविधिक शिक्षा पढ्न चाहने युवाहरुलाई सीटीइभीटीबाट संचालन गरिएका छोटो तथा लामो अवधिको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा दिइँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने भएको छ।

उपप्रमुख विना रानाको अध्यक्षतामा भएको  नगरसभामा प्रमुख चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। स्वास्थ्यलाई प्राथमिकतामा राखी प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६७७ को नीति तथा कार्यक्रम सैनामैनाको पाँचौ नगरसभाले पारित गरेको छ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts