अन्तराष्ट्रिय सेतो दुबी दिवस

सेतो दुबी रोग होइन, सम्भव छ उपचार



Download our app to get more features

काठमाडौं, १० असार । अनुहार वा शरीरको अर्को कुनै अंगमा सेतो दाग आएका व्यक्तिलाई हाम्रो समाजमा पापका कारण भएको सरुवा रोगका रुपमा लिने भ्रम अझै बाँकी छ ।

अझै त्यस्तो समस्या भएका व्यक्तिलाई विभिन्न नामले बोलाएर हिनताबोध समेत गराइन्छ । यसो गरिनु गलत हो । दुबी कुनै पाप नभएर पूर्ण रुपमा उपचार हुने छालाको एक समस्या हो ।

 दुबी आएका व्यक्तिको उमेरअनुसार  र दुबीको अवस्था अनुसार ठीक हुने समयको निर्धारण हुने छाला विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् ।  मंगलबार अन्तराष्ट्रिय सेतो दुबी दिवसको अवसरमा मध्यबानेश्वरस्थित क्युटिस केयरले आयोजना गरेको जनचेतना कार्यक्रममा डा. कर्णले सेतो दुबी सरुवा रोग नभएको स्पष्ट पारे ।
उनले ३० वर्ष अगाडि यसको कुनै उपचार नभएकोमा हाल नेपालमै सरल रुपमा उपचार सम्भव भएको जानकारी दिए ।

डा. कर्णले बच्चामा भन्दा ठूला व्यक्तिमा सेतो दुबी निको हुन समय लाग्ने बताए । ‘साना बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढदो क्रममा हुन्छ, तर जति ठूलो भयो त्यो क्षमता तुलनात्मक रुपमा घट्दै जान्छ यसकारण पनि ठूला व्यक्तिलाई ठिक हुन समय लाग्छ’ उनले थपे । सेतो दुबी आएका ४०वर्षभन्दा बढी उमेरका र  कपाल फुलिसकेका जो व्यक्ति छन्,  उनीहरुलाइ ठिक हुन केही वर्ष पनि लाग्नसक्छ । 

के हो सेतो दुबी ?
सेतो दुबी एक प्रकारको छालामा हुने समस्या हो । जुन शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखा पर्दछ । हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिले काहीं बढी भएर आफ्नै शरीर विरुद्ध काम गर्ने हुन्छ । जसले गर्दा छालालई रङ दिने कोषहरु नष्ट हुनपुग्दछन् ।

यो जुनसुकै उमेरमा पनि हुनसक्छ तर साधारणतया दुई उमेर समूहमा बढी हुन सक्छ । जस्तैः १० देखि २० र ४० देखि ५० वर्षसम्मका व्यक्तिहरुमा बढी देखापर्छ । साधारणतया सेतो दुबीलाई रोग नै मानिदैन । यो दुख्दैन, पोल्दैन तर अरुले के भन्ला भन्ने मात्रै लाग्छ । डा. कर्णले भने वास्तवमा सेतो दुबी रोग होइन ।

अमेरिका र युरोपमा यसको उपचार पनि गरिंदैन किनभने यसलाई उपचार नगर्दा केही फरक पर्दैन । सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुनसक्छ । 

कसरी आउँछ सेतो दुबी
हाम्रो छालालाई सेतो वा कालो रंग दिने एक प्रकारको ‘मेलानोसाईट’ हुन्छ ।  जसले मेलालीन बनाउँछ ।  यो एक किसिमको ‘केमिकल’ हो जसले छालालाई पुरै शरीरमा रङ दिन्छ । यो रङ जसको शरीरमा बढी हुन्छ त्यस्तो छालालाई कालो छाला भनिन्छ र यो जसको छालामा कम हुन्छ त्यस्तो छालालाई गोरो छाला भनिन्छ ।

हामी नेपालीहरुको छाला माध्यम खालको पर्दछ न कालो न गोरो जसलाई गहुँगोरो भनिन्छ ।

कुनै पनि व्यक्तिहरुको छालामा रङको समस्या बढी हुनसक्छ र कम पनि हुनसक्छ, बढी भएमा जसलाई कालो दाग भनिन्छ भने कम भएमा त्यसलाई सेतो दाग भनिन्छ ।

बोलीचालीको भाषामा त्यसलाई सेतो दुबी भनिन्छ । यो रङमा भएको एउटा परिवर्तन मात्रै हो, यसकारण यसले शरीरमा कुनै असर गर्दैन । 

सेतो दुबी शरिरको कुन अंगमा देखापर्छ ?
सेतो दुबी प्रायजसो शरीरको धेरै चलिरहने अंगहरुमा देखापर्दछ जस्तैः आँखा, ओठ, कम्मर, कुइना, घुडा । यो अरुलाई सर्ने व्यथा होइन तर आफ्नै जिउमा भने फैलिनसक्छ । 

दुबी भएकालाई थाइराइड हुनसक्छ ?
सेतो दुबी आएका व्यक्तिलाई थाइराइड हुनसक्छ तर सबै थाइराइडका बिरामीलाई सेतो दूबी नै आउँछ भन्ने हुँदैन ।

यसकारण सेतो दूबी आएका व्यक्तिले थाइराइड र मधुमेह भएका छ वा छैन थहा पाउन रगत परीक्षण गर्नुपर्छ । 

‘स्ट्रेस’ले बढाउन सक्छ सेतो दुबी
सेतो दुबी आएका व्यक्तिले बढी  ‘स्ट्रेस’ लिएमा दुबी बढ्नसक्छ । ‘बढी स्ट्रेस’ले  प्रतिरोधात्मक क्षमतालाई घटबढ गराउँछ जसकारण दुबीलाई नकारात्मक प्रभाव पार्दछ ।

यसलाई रोकथाम गर्न विशेषगरी ११ देखि २ बजेको घामबाट बच्नपर्छ । सेतो दूबी आएका व्यक्ति यो समयमा हिँडेमा घामले दूबी रातो बनाउने, चिलाउने हुन्छ । साथै दूबी अझै बढी फैलिन सक्छ ।  

 ओठमा र औंलामा आउने दूबी बढी आक्रामक ? 
दुबी विशेषगरी दुई किसिमका हुन्छन् । एउटा ‘सेगमेन्टल’ अर्को ‘नन सेगमेन्टल’  सेगमेन्टल भन्नाले शरीरको एउटै अंगमा मात्रै आउने वा एउटै साइडमा मात्रै आउने बुझिन्छ ।

नन सेगमेन्टल भन्नाले शरीरको सबैतिर फैलिन्छ । जसमध्ये ओठमा र औंलामा आउने दूबी बढी आक्रमक खालको हुन्छ र ठिक हुन समेत समय लाग्छ । यससँगै सबैभन्दा बढी चल्ने अंगहरुमा सेतो दुबी ठिक हुन समय लाग्छ  । 

सेतो दुबीमा के गर्न हुन्छ र के गर्न हुँदैन ?
सेतो दुबी हुने व्यक्तिले चोटपटक लाग्ने काम गर्नु हुँदैन टाइट कपडा टाइट जुत्ताहरु लगाउनु हुँदैन ।

घाममा बस्नु फाइदाजनक मानिन्छ तर नरम खालको घाममा मात्र जस्तै बिहान ८ बजेदेखि ११ बजेसम्मको घा र दिउँसो २ देखि ५ बजे बिचको घाम तर ११ देखि २ बजेसम्मको घामले छालालाई असर गर्न सक्छ ।

सेतो दुबी भएको व्यक्तिले जाँड, रक्सि र चुरोट बाहेक अन्य जुनसुकै खाने कुरा खान सकिन्छ । 

के सेतो दुबीको उपचार हुन्छ ?
सेतो दुबीको उपचार दुई किसिमको हुन्छ । एउटा औषधि खाने लगाउने र घाममा देखाउने हुन्छ भने अर्को मेसिनमा सेक्ने जसलाई ‘फोटोथेरापी’ भनिन्छ ।

यो प्रविधि गर्भवती महिला र भर्खरै जन्मेको बच्चालाई समेत दिन मिल्छ । यस प्रविधिबाट पनि निको भएन भने शल्यक्रिया गर्नुपर्ने आवश्यकता हुनसक्छ । 

०.५ देखि २ प्रतिशत दुबी 
यदी संसारको तथ्याङ्क हेर्ने हो भने ०.५ देखि २ प्रतिशत दुबी हुने व्यक्ति छन् । क्युटिस केयरको तथ्याङक हेर्ने हो भने ६ देखि ८ प्रतिशतले बिरामीको चाप बढिरहेको छाला विशेषज्ञ कर्णले जानकारी दिए ।

Last modified on 2019-06-25 16:52:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts