बच्चाको आँखा ठीक छ छैन, कसरी थाहा पाउने ?



Download our app to get more features

आँखा संवेदनशील अंग हो । ठूला व्यक्तिहरुमा मात्र होइन बालबालिकामा पनि आँखामा विभिन्न समस्या देखिइरहेका हुन्छन्। सबै बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन्।  आफ्ना बच्चाको आँखा ठीक छ कि छैनभनेर अभिभावकले ध्यानदिनु आवश्यक छ ।

खासगरी बच्चा जन्मेपछि दुई तीन महिनापछि आमा हेरी मुस्कुराउने, उज्यालो पछ्याउने हुनुपर्छ । यदि तीन महिनासम्मको बच्चालाई आवाज सुनेर मात्र हेर्छ, कि वस्तु हेरेर पछ्याउँछ भन्ने विचार गर्नुपर्छ । 

आखाँ हल्लिइरहेको वा दुवै आँखाले सीधा अगाडि सोझो हेर्दैन भने अभिभावकले बच्चाको आँखा कमजोर रहेछ भनेर बुझ्नुपर्छ । यस्तो कुनै समस्या भएको लागेमा चिकित्सककहाँ जचाउँनुपर्छ । बच्चा स्कुल जाने भएपछि स्कुलमा राम्रोसँग पढ्न सक्दैन, गृहकार्य सार्न सक्दैन  घरमा टिभी हेर्दा टाढा बसेर हेर्दाहेर्दै नजिकै गएर हेर्छ भने पनि शंका गर्नुपर्छ ।

आँखाको दृष्टि थाहा पाउन निम्न कुरामा विचार गर्नुपर्छ  बच्चा नयाँ ठाउँमा जाँदा अभिभावक खोज्ने, आफै हिँड्न नसक्ने, आवाज पछ्याउने तर हेरेर हिँड्न नसक्ने हुन्छ । हिँड्न खोज्दा ठोक्किने, पटकपटक लड्ने भयो भने पनि आँखामा समस्या छ कि भनी बेलैमा ध्यान पुर्याउनुपर्छ ।

हाम्रो आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि कालो भागमा सेतो सेतो भाग कालो रङ देखिएमा त्यो असाधारण आँखा हो। हाम्रो आँखाको तलको भाग परेला भएको डिलले कालो भागलाई छोएको हुनुपर्छ भने माथिको डिलले आँखाको नानीलाई दुई मिलिमिटर जति ढाकेको हुनुपर्छ तर यस्तो छैन भने त्यो पनि असाधारण आँखाहो ।  

यस्ता कुरा अभिभावक, विद्यालयका शिक्षकले ध्यान पुर्याउन आवश्यक छ । त्यसबाहेक पनि ६ महिनावा एक वर्षमा नियमित रुपमा बच्चाको आँखा जाँच गराइरहनुपर्छ ।अर्को महत्वपूर्ण कुरा त, बच्चा समय नपुग्दै जन्मिएको छ, जन्मँदा बच्चाको तौल १५ सय ग्रामभन्दा कम छ भने आँखामा समस्या देखिने प्रवल सम्भावना हुन्छ । 

बच्चालाई जन्मँदै हुने मोतिविन्दु, जलविन्दु पनिहुन सक्छ । बच्चाहरुको आँखाको नानी अस्वाभाविक रुपम टल्किरहन्छ, वा बिरालोको जस्तो आँखाको नानी देखिएको छ भने तुरुन्त जाँच गराउनुपर्छ । किनकि त्यो आँखाको क्यान्सर हुन सक्छ। त्यसलाई चिकित्सकीय भाषामा रेटिनो ब्लास्टोमा भनिन्छ ।  

त्यसको समयमा उपचार भएमा औषधि दिएर ट्युमर सानो बनाउन सकिन्छ । केमोथेरापी दिएर ज्योति बचाउन सकिन्छ तर ढिला भएमा आँखा झिकेर फाल्नुको अर्को विकल्प छैन। 

बच्चाको आँखामा चोटपटक लाग्न नदिन पनि अभिभावकले चासो राखिरहनुपर्छ। चोटपटकका कारण पनि धेरै बच्चाले आँखा गुमाएका छन्। 

गर्भवती अवस्थामा महिलालाई मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ। त्यो समयमा कुनै संक्रमण, रुवेला भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ ।

Last modified on 2019-07-04 06:06:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts