उमेरको शर्तमा 'बठ्याईं' गरेपछि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि परेन दरखास्त



Download our app to get more features

काठमाडौं, २१ असार । बहुचर्चित चिकित्सा शिक्षा ऐन अन्तर्गत निर्माण हुने चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सरकारले दरखास्त माग गरेपनि आकांक्षीहरुले निवेदन नदिएको पाइएको छ । 

१५ दिने सूचना निकालेर आयोगको कार्यकारी उपाध्यक्ष बन्न इच्छुक उम्मेदवारका लागि आह्वान गरिएपनि आवेदन नपर्नुलाई चासोका साथ हेरिएको छ । शिक्षा मन्त्रालय अन्तर्गत रहेको नाम सिफारिस समिति समक्ष उपाध्यक्षको आकांक्षी मानिएकाहरुले समेत आवेदन हालेका छैनन् ।

सूचनाको म्याद सकिन ३ दिनमात्र बाँकी हुँदा समेत दरखास्त नपर्ने कारण भने विज्ञापनमा राखिएको उमेरको शर्त रहेको बुझिएको छ । 'चिकित्सा शिक्षा ऐनमा भएको दफाको भावना विपरित विज्ञापनमा उमेरको शर्त राखिएको छ । त्यसैले आकांक्षीहरुले दरखास्त नदिएको हुनसक्छ ।' उपाध्यक्षका एकजना आकांक्षीले हाम्रो डक्टर न्यूजसँग भने, 'ऐनले आयोगको उपाध्यक्ष हुन ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । तर, विज्ञापनमा ६१ वर्ष उमेर ननाघेको भन्ने शर्त राखेर आफ्नो मान्छे छिराउन खोजिएको छ ।' शिक्षा मन्त्रालयका पदाधिकारीलाई इंगित गर्दै उनले दावी गरे । 

उपाध्यक्ष मागिएको विज्ञापनमा ६१ वर्ष ननाघेको भन्ने शर्त पनि राखिएको छ । जुन ऐन विपरित भएको आकांक्षीहरुको दावी छ । 

६१ वर्ष हुँदा निकटलाई ल्याउन सजिलो 
शिक्षा मन्त्रालय अन्तर्गतको सिफारिस समितिले शिक्षा मन्त्री एवं आयोगका पदेन सहअध्यक्ष रहेका गिरिराजमणि पोखरेलको निर्देशनमा उपाध्यक्षको दौडमा रहेका केही मान्छेलाई पाखा लगाउन ६१ वर्षको प्रावधान राखिएको आकांक्षीहरुको जिकिर छ ।

शिक्षामन्त्री पोखरेलले आफु स्वास्थ्य मन्त्री रहँदा मन्त्रालयको नीति तथा योजना महाशाखामा ल्याएका डा. श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्ष बनाउन खोजेको स्रोतको दावी छ । पोखरेलले उनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति बनाउन खुबै जोड गरेपनि उपकुलपति तत्कालिन फोरमको कोटामा रहेकाले केही गर्न सकेनन् । अहिले उनले ६१ वर्षको हदबन्दी राखेर उपाध्यक्षको आकांक्षी मानिएका बलिया उम्मेदवारहरु प्राडा. धर्मकान्त बास्कोटा, प्राडा रमेशकान्त अधिकारी, प्राडा. अर्जुन कार्की लगायतका उम्मेदवारलाई सुरुमै आउट गराउन खोजेको स्रोतको दावी छ । तीनैजना आकांक्षी ६१ वर्ष नाघेका छन् । 

'शिक्षा मन्त्रालयको विज्ञापन विभेदपूर्ण र ऐनविपरित नभएको खैलाबैला चिकित्सा शिक्षा क्षेत्रमा फैलिएपछि उम्मेदवारहरु पछि हटेका हुनसक्छन् ।' एकजना आकांक्षीले बताए । उमेरको हदबन्दी नलाग्ने आकांक्षी मानिएका डा. भगवान कोइराला बाल मुटु अस्पताल बनाउने दौडमा रहेकाले उनले आवेदन नहाल्ने आंकलन शिक्षा मन्त्रालयले गरेको हुनसक्ने स्रोतको दावी छ । ऐनमा ६५ वर्षपछिमात्र आयोगको उपाध्यक्ष हुननपाउने भएकाले ६१ वर्षको हदबन्दी राख्नु आवश्यक नभएको आकांक्षीहरुले बताउने गरेका छन् ।

आयोगमा उपाध्यक्षको ४ वर्षे कार्यकाल हुन्छ । चारवर्ष पुरै कार्यकाल काम गर्नसक्ने भन्दै समितिले यस्तो शर्त राखेको बताएपनि यो आफु अनुकुल मान्छेलाईमात्र योग्य बनाउन गरिएको आकांक्षीहरुको आरोप छ । उपाध्यक्षका लागि दरखास्त मागिएको म्याद आउँदो २३ गते सकिँदैछ । आयोगको कार्यकारी अधिकार उपाध्यक्षमा हुने भएकाले सबै आकांक्षीहरुले विभिन्न माध्यमबाट लविंग तीव्र पारेका छन् ।

Last modified on 2019-07-07 12:07:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts