गर्भवतीले आइरन पाएनन्

What's This?


Download our app to get more features

फाल्गुन २६, २०७२- मोरङको तेतरिया २ की चार महिने गर्भवती कञ्चना थापा नि:शुल्क पाइने आइरन चक्की खोज्न आइतबार तीन वटा स्वास्थ्य चौकी पुगिन् । घर नजिकको तेतरियामा नपाएपछि ५ किलोमिटर टाढा हरैचा पुगिन् । त्यहाँ पनि पाइनन् । बनिगामा स्वास्थ्य चौकीमा पनि नपाएपछि निजी औषधि पसलबाट किनेर घर फर्किनुपरेको बताइन् ।

‘आइरन चक्की स्वास्थ्य संस्थामा नि:शुल्क पाइन्छ भन्ने सुनेको थिएँ,’ थापाले भनिन् ‘तर अनेकतिर चहार्दा पनि पाइनँ । अनि प्रतिगोटा १० रुपैयाँमा मेडिकलबाट किनें ।’ सुत्केरी भएको ४५ दिनसम्म नियमित खानुपर्ने यो चक्की सरकारले नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ । तर मोरङका स्वास्थ्य चौकीमा एक महिनादेखि उपलब्ध छैन । महिनाअघि सुत्केरी भएकी तेतरियाकै सन्ध्या जीसी पनि आइतबार आइरन चक्कीको खोजीमा प्राथमिक स्वास्थ्य चौकी हरैंचा, स्वास्थ्यचौकी तेतरिया र बनिगामा पुग्दा पाउन सकिनन् ।

बनिगामा स्वास्थ्य चौकीमा गर्भवती महिलालाई दिने आइरन चक्कीमात्र नभएर अन्य कुनै पनि अत्यावश्यक औषधि नभएको स्वास्थ्यकर्मी नवीन निरौलाले बताए । ‘यहाँ सिटामोल र डाइजिनसमेत छैन,’ उनले भने ‘अरू औषधिको कुरै नगरौं । यो स्वास्थ्य चौकीमा दैनिक सरदर ४० जना बिरामी उपचारका लागि आउँछन् ।' चौकीमा आइरन चक्की खाने सरदर २० जना गर्भवती छन् । उनीहरूले पनि ६ महिनादेखि चक्की पाउन नसकेको उनले बताए ।

कान्तिपुर दैनिकमा विनोद भण्डारीले लेखेको समाचार छ ।

अत्यन्तै न्यून प्रयोग हुने सिप्रो नामको एन्टिबाइटिक औषधिमात्र बनिगामा स्वास्थ्य चौकीमा अहिले बिरामीले नि:शुल्क पाइरहेका छन् । अत्यावश्यक एमोक्सिलिङ एन्टिबायोटिक ६ महिनादेखि आएकै छैन । निरौलाले भने, ‘स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि नि:शुल्क उपलब्ध हुनुपर्ने हो । तर पछिल्लो ६ महिनायता मुस्किलले ४ वटा औषधि मात्र बिरामीलाई नि:शुल्क उपलब्ध हुँदै आएको छ ।’

 उल्टी रोक्ने, पेट दुख्दा खाने, श्वासप्रश्वास, छालासम्बन्धीका औषधि र आँखामा हाल्ने ड्रपसमेत ६ महिनादेखि उपलब्ध नभएको निरौलाले बताए । छिमेकी तेतरिया स्वास्थ्य चौकीमा पनि आइरन चक्कीमात्र नभएर सिटामोल र डाइजिनसमेत नभएको स्वास्थ्यकर्मी गजेन्द्रप्रसाद यादवले बताए ।

स्वास्थ्य चौकीले नि:शुल्क वितरण गर्ने ३५ मध्ये तेतरियामा १२ प्रकारका औषधि छन् । यादवले कुनै पनि अत्यावश्यक औषधि नभएको बताए । ‘श्वासप्रश्वासका बिरामीलाई दिने एमिनोफाइलिङ र सालबुटामोर दुवै औषधि छैन । यो औषधि नियमित खाने बिरामी दैनिक सरदर ५ जना यो स्वास्थ्य संस्थामा आउँछन्,’ यादवले भने, ‘छैन भनेर फर्काउन बाध्य हुन्छौं । सिटामोल र डाइजिनसमेत छैन । उच्च रक्तचाप, बान्ता रोक्ने, एन्टिबायोटिक, एन्टिएलर्जी, खोकीलगायत औषधिको कुरै नगरौं ।’

७० प्रकारका औषधि नि:शुल्क वितरण गर्ने प्राथमिक स्वास्थ्य चौकीमा पनि अत्यावश्यक औषधि छैन । मोरङमा ७ प्राथमिक स्वास्थ्य चौकी छन् । तिनमा पनि आइरन चक्की, डाइजिनसमेत नभएको सम्बद्ध स्वास्थ्य संस्थाले जनाएका छन् ।

लामो बन्द र नाकाबन्दीका कारण मोरङका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक मात्र नभएर सामान्य औषधिको समेत अभाव भएको जनस्वास्थ्य कार्यालयका प्रमुख भानु योङदेनले बताए ।

‘स्वास्थ्य संस्थाले नि:शुल्क वितरण गर्ने औषधिमध्ये ९५ प्रतिशत माथिल्लो निकायबाट आउनुपर्ने हो । तर अहिलेसम्म आएको छैन,’ उनले भने, ‘स्थानीयस्तरमा केही मात्रामा औषधिको जोहो गरिएको छ । त्यसलाई चाँडै स्वास्थ्य चौकीमा पुर्‍याउने प्रयास भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts