विषादीयुक्त फलफूल र तरकारी जाँच नहुँदा नेपालीको स्वास्थ्य जोखिममा, क्यान्सरको जोखिम बढ्यो



Download our app to get more features

काठमाडौं, २२ असार । नेपालमा प्रत्येक वर्ष ६० देखि ७६ प्रतिशतको दरले भारत लगायत अन्य देशबाट फलफूल र तरकारी आयात हुने गरेको छ । नेपाल भित्रिने अधिकांश फलफूल विषादीयुक्त हुने भएकाले त्यसले मानव शरीरमा गम्भीर समस्या पनि निम्तने गरेको छ । तर, हालैमात्र भारतबाट आयात हुने फलफूल र तरकारी आयात परीक्षण गरेर मात्रै नेपाल भित्र्याउने सरकारको निर्णयले चर्चा बटुल्यो तर, अन्त्यमा जाँच गर्ने संयन्त्र नभएको भन्दै बीचैमा निर्णय तुइने अवस्था आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच्ने प्रविधि र जनशक्ति व्यवस्थापन गरेरमात्र आयात हुने तरकारी जाँचिने बताएका छन् । 

उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले बाहिरबाट आयात गरिएको फलफूल र तरकारीमा धेरै विषादी हुने हुँदा आयातमा रोक लगाउन भन्दै गत असार २ गते पत्र जारी गरेको हो । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले फलफूल र तरकारीमा बढि विषादी प्रयोग हुने भएकाले बाहिरबाट आयात हुने त्यस्ता तरकारी र फलफूलको विषादी जाँच गरेर मात्रै नेपाल भित्र्याउने भन्दै विशेष सावधानी अपनाइएको बताए । तर, यो कार्यान्वयन हुनेमा भने सुरुमै तगारो लागेको छ ।

सरकारले नेपालका विभिन्न नाका हुँदै नेपाल भित्रिने तरकारी र फलफूलका ट्रक नाकामै रोकेपछि त्यसले विवाद सुरु भएको हो । नाकामै तरकारी र फलफूल थन्किएपछि नेपालका आयातकर्ता व्यापारी बढि समस्यामा परे । त्यस्तै भारतले पनि आफ्नो निर्यातकर्ताहरुको तरकारी फलफूल नरोक्न दूतावासमार्फत अनुरोध गरेको बुझिएको छ । आमउपभोक्ताले भने विषादी परीक्षणलाई तत्काल सुरु गर्न र विषादीयुक्त तरकारी फलफूल भित्र्याउन नहुने माग गरेका छन् । पछिल्ला केहीदिनयता सामाजिक सञ्जालमा पनि विषादी परीक्षणको विषयले चर्चा पाएको छ । 

नेपालमा वर्षेनी झन्डै २० देखि २५ अर्बको फलफूल आयात हुने गरेको छ भने ४० देखि ६० अर्बका तरकारी आयात हुने गरेको छ । आँप, स्याउ, सुन्तला, लिची, अङ्गुर, केरा, अनार, नास्पाति जस्ता मौसमी तथा वेमौसमी फलफूल, प्याज, अदुवा, गोलभेँडा, तिते करेला, काँक्रो, काउली, बन्दा लगायतका मौसमी र वेमौसमी तरकारी हेर्दा आकर्षक देखिन्छन् । तर, यस्तो लोभलाग्दो र आकर्षक फलको सेवन मानव स्वास्थ्यका लागि भने घातक हुन सक्ने चिकित्सकहरु बताउँछन् । 

वीर अस्पतालको निर्देशक एवं फिजिसियन डा.केदार सेञ्चुरीका अनुसार विषादी प्रयोग गरिएको फलफूल वा तरकारीको सेवनले मानिसलाई विभिन्न खतरनाक रोगले आक्रमण गर्न सक्छन् ।

हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै डा. सेञ्चुरीले विषादीयुक्त खानाले तत्कालिन र दीर्घकालिन स्वास्थ्य समस्या देखिने गरेको बताए । 

उनले भने, ‘विषादीयुक्त तरकारी र फलफूल खानाले पेट पोल्ने, वान्ता हुने, झाडापखाला लाग्ने तत्कालिन स्वास्थ्य समस्या देखिने हुन्छ ।’

उनले थपे, ‘लामो समयसम्म विषादीयुक्त खाना खानाले मिर्गौला खराब हुने, आन्द्राको समस्या हुने, मस्तिष्कमा असर पार्ने साथै क्यान्सरको जोखिम पनि बढ्दै जान्छ ।’

तर, मानव स्वास्थ्यलाई सरकारले बेवास्ता गर्दै फलफूल र तरकारीको विषादी परीक्षणमा भारतको दवावका कारण रोक लगाइनु विडम्वनापूर्ण भएको जनआक्रोश बढेको छ । सरकारको यो निर्णयले नेपाली नागरिकको स्वास्थ्यमाथिको जोखिम झन् बढ्दै गइरहेको भन्दै सर्वत्र तत्काल विषादी परीक्षण रोकिएकोमा विरोध बढेको छ ।

Last modified on 2019-07-08 08:02:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts