किन फाल्दैछन् भारतीय महिलाले गर्भाशय ? गाउँ नै गर्भाशयविहीन महिलाको



Download our app to get more features

बीबीसी, २४ असार । भारतमा पछिल्ला महिनामा कामकाजी महिला र महिनावारीसँग सम्बन्धित दुईवटा चिन्ताजनक समाचार सार्वजनिक भएका छन् ।

लामो समयदेखि त्यहाँ महिनावारी एउटा प्रतिबन्धित विषयजस्तो रहिआएको छ ।

महिनावारी हुने बेला महिलाहरूलाई अपवित्र ठानिन्छ र उनीहरूलाई सामाजिक तथा धार्मिक कार्यक्रमबाट अलग राखिन्छ ।

हुन त शहरका महिलाहरूबाट पछिल्ला वर्षहरूमा यो पुरातनवादी सोचलाई निरन्तर चुनौती दिइँदैछ ।

तर यी दुई घटनाबाट महिनावारीसँग सम्बन्धित भारतको यो समस्या अझै कायमै रहेको स्पष्ट हुन्छ ।

खासगरी गरीब र अशिक्षित परिवारका महिलाहरूलाई यस्तो विकल्प रोज्न लगाइन्छ, जसको असर उनीहरूको जीवन र स्वास्थ्यमाथि लामो तथा स्थायी रूपमा पर्न जान्छ ।

पहिलो घटना महाराष्ट्रको हो जहाँ विगत तीन वर्षमा हजारौँ महिलाले गर्भाशय झिक्न शल्यक्रिया गराउनुपर्यो ।

उनीहरूले शल्यक्रिया यसकारण गराउनुर्पयो ताकि उखुबारीमा उनीहरूले काम पाउन सकून् ।

प्रत्येक वर्ष सोलापुर, साङ्ली, उस्मानाबाद र बीडजस्ता जिल्लाबाट दशौँ हजार गरीब परिवारका मानिस सम्पन्न पश्चिमी क्षेत्र पुग्छन्, जहाँ उनीहरू उखुबारीमा छ महिनासम्मका लागि काम पाउँछन् ।

त्यहाँ पुगेपछि उनीहरूको जिन्दगी लालची ठेकेदारहरूको हातमा हुन्छ, जसले उनीहरूमाथि शोषण गर्ने कुनै मौका छाड्दैनन् ।

३० वर्षमुनिका महिला शिकार
उखु काट्ने काममा निकै मेहनत हुन्छ। अतः उनीहरूलाई काम दिन ठेकेदारहरू अनिच्छुक हुन्छन् ।

र, अर्को कारण महिनावारी हुने बेला महिला कामदारहरू एक९दुई दिन काममा जाँदैनन् ।

काममा एक–दुई दिन गयल हुँदा पनि उनीहरूले जरिवाना तिर्नुपर्छ ।

काम गर्ने ठाउँमा उनीहरू बस्ने सुविधा एकदम दयनीय छ, खेतनजिकै बनाइएका झुपडी अथवा पालमुनि उनीहरू बस्नुपर्छ ।

त्यहाँ शौचालय पनि हुँदैन भने कहिलेकाहीँ राति पनि उखु काट्नुपर्ने हुँदा सुत्ने र उठ्ने समय पनि निश्चित हुँदैन ।

र, महिनावारी हुने बेला महिलाहरूलाई झन् गाह्रो हुन्छ । राम्ररी सरसफाइ गर्न नपाउँदा अधिकांश महिलालाई सङ्क्रमण हुन्छ ।

सो क्षेत्रमा काम गर्ने सामाजिक कार्यकर्ताहरूका अनुसार त्यस्ता महिलाहरू डाक्टरकहाँ पुग्दा लालची डाक्टरहरूले आवश्यक नै नभएको शल्यक्रिया गराउन भन्छन्, भलै औषधिले निको हुने समस्या किन नहोओस् ।

सो क्षेत्रमा अधिकांश महिलाको कम उमेरमै बिहे हुन्छ । २० देखि ३० वर्षको उमेरमा उनीहरू दुई–तीन बच्चाकी आमा भइसकेका हुन्छन् ।

गर्भाशय फाल्ने शल्यक्रियासँग सम्बन्धित समस्याबारे डाक्टरहरूले नबताउने भएपछि ती महिलाहरू गर्भाशयबाट मुक्ति पाउनुलाई नै उपयुक्त विकल्प ठान्न पुग्छन् ।

यो कारणले ती क्षेत्रका अधिकांश गाउँ ’गर्भाशयविहीन महिलाहरूको गाउँ’ मा परिणत हुन पुगेका छन् ।

‘गर्भाशयविहीन महिलाहरूको गाउँ’
गत महिना महाराष्ट्रको विधानसभामा जब विधायक निलम गोरहेले यसबारे प्रश्न उठाए तब राज्यका स्वास्थ्यमन्त्री एकनाथ शिन्देले गत तीन वर्षमा बीड जिल्लामा मात्रै ४ हजार ६ सय ५ जना महिलाले गर्भाशय फाल्न लगाएको स्वीकारे ।

हुन त उनले ती महिलाहरू उखुबारीमा काम गर्ने मात्रै नभएको दाबी गरे ।

मन्त्रीले घटनाहरूबारे छानबिन गर्नका निम्ति एउटा समिति गठन गरिएको पनि जानकारी गराए ।

बीड जिल्लाको वन्जारवाडी गाउँ पुगेकी बीबीसी मराठीकी प्रजाक्ता धुलप भन्छिन्, प्रत्येक वर्ष अक्टोबरदेखि मार्च महिनाको बीचमा ८० प्रतिशत गाउँले उखुबारीमा काम गर्न आफ्नो गाउँ छाड्छन् ।

यो गाउँमा आधाजति महिलाको गर्भाशय निकालिसकिएको थियो। तीमध्ये अधिकांश ४० वर्षभन्दा मुनिका थिए भने केही ३० वर्षभन्दा पनि मुनिका थिए ।

केही यस्ता महिलालाई पनि प्रजाक्ताले भेटिन् जसले शल्यक्रियापछि आफूहरूको स्वास्थ्य झन् खराब भएको बताए ।

एकजना महिलाले गर्दन, पिठ्यूँ र घुँडामा निरन्तर दुख्ने समस्या भइरहने र बिहान उठ्दा हातखुट्टा तथा अनुहारमा सुन्निने समस्या देखिएको बताइन् ।

अर्की महिलाले आफूलाई रिँगटा लाग्ने र टाढासम्म हिँड्दा गाह्रो हुने गरेको सुनाइन् ।

ती कारणले उखुबारीमा अब काम गर्न पनि असमर्थ भएको उनीहरूले दुखेसो गरे ।
 

Last modified on 2019-07-10 07:21:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts