गुणस्तरहीन भेटिएका आठ प्रकारका औषधि किन भएन तत्काल फिर्ता ?



Download our app to get more features

काठमाडौं, २४ असार । औषधि व्यवस्था विभागले केही दिनअघि बिक्रिमा रहेका औषधिको अनुगमनका क्रममा ८ प्रकारका औषधि गुणस्तरहीन भेटाएको थियो ।

औषधि नमूना परीक्षणमा भेटिएका नेपाली कम्पनीका ६ वटा र भारतीय कम्पनीका २ वटा न्यून गुणस्तरका औषधि फिर्ता गर्न विभागले निर्देशन समेत दिइसकेको थियो । तर, ती औषधि फिर्ता भइसकेका छैनन् । न्यून गुणस्तरका औषधि बजारबाट तुरन्त फिर्ता गर्न सम्बन्धित सबै औषधि कम्पनीलाई निर्देशन दिइसकेको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए । उनले भने ‘हामीले सम्बन्धीत कम्पनीहरुलाई निर्देशन दिइसकेका छौं, तर, यो आजको भोलि हुने काम होइन, विस्तारै हुँदैछ ।’ ‘ती कम्पनीहरुले औषधि फिर्ता गर्ने काम थालिसकेको सूचना विभागमा दिइरहेका छन्’ उनले थपे ।

वार्षिक कार्यक्रमअनुसार बजारमा विक्रिवितरण भइरहेका औषधिको अनुगमन गर्ने गरेको क्षेत्रीले जानकारी दिए ।

कुन–कुन कम्पनीका कुन औषधि गुणस्तरहीन ?

विभागले भेटाएको न्यून गुणस्तरका औषधिअन्तर्गत नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्राइभेट लिमिटेड वीरगन्जले उत्पादन गरेको औषधि ब्याच नम्बर एलपिएन–७४१६५ को फर्मिन–जिआई फोर्ट रहेको छ । यो डायबेटिज रोगको औषधि हो । त्यसैगरी, जिडी फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याजच नम्बर पिआइटिआई–१७०२ को प्यान्टोनामा न्यून गुणस्तरको भेटिएको निमित्त महानिर्देशक क्षेत्रीले जानकारी दिए । प्यान्टोना एसिडिटिका लागि प्रयोग हुने औषधि हो ।

विभागका अनुसार ३ वटा आयुर्वेदिक कम्पनीका ४ वटा औषधिमा मापदण्डभन्दा बढी मात्रामा जीवाणु र ब्याक्टेरिया भेटिएको छ । गोरखा आयुर्वेद कम्पनीको ब्याच नम्बर १३५१ को अभिपत्तिकर चूर्ण र पेट सफा नामक औषधिमा मापदण्डभन्दा बढीको जीवाणु भेटिएको हो । त्यस्तै, आरोग्य भवन वर्क प्रालिको ब्याच नम्बर ०१६९ एसएफको आरोग्य बल्बेल चूर्ण र सगरमाथा आयुर्वेदिक औषधि उद्योगको ब्याच नम्बर ०१४ को पुष्यनुग चूर्ण न्यून गुणस्तरको भेटिएको निमित्तमहानिर्देशक क्षेत्रीले बताए । उनका अनुसार आयुवेर्दिक औषधिमा सूक्ष्म जीवाणु तथा ब्याक्टेरिया केही मात्रामा हुनुपर्नेमा मापदण्डभन्दा बढी जीवाणु रहेको पाइएको छ । यससँगै भारतका दुई न्यून गुणस्तरका औषधिअन्तर्गत अलकेम ल्याबोरेटोरिज, मुम्बई, भारतको ब्याच नम्बर ८२८२३४६ को अल्मोक्स–५०० र सागा ल्याबोरेटोरिज, अहमदावाद, भारतको ब्याच नम्बर एक्स–०१४०१८ को अल्मोक्जिन–५०० एन्टिबायोटिक औषधि रहेको छ ।

Last modified on 2019-07-10 11:51:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts