Exclusive

ह्याम्स अस्पतालमै नक्कली डाक्टर, सहायकलाई डाक्टर भन्दै बिरामीलाई झुक्याइयो



Download our app to get more features

काठमाडौं, २५ असार । राजधानीको धुम्बराहिस्थित ह्याम्स अस्पतालले सहायकलाई डाक्टर भन्दै बिरामीलाई गुमराहमा राखेर उपचार सेवा दिएको पाइएको छ । ख्यातिप्राप्त चिकित्सकहरु राखेर आफुलाई अत्याधुनिक भन्दै दावी गरेको अस्पतालको यस्तो कार्य बाहिर आएको हो ।

अप्थाल्मोलोजिष्ट (आँखारोग विशेषज्ञ) भन्दै अप्थाल्मोलोजी असिस्टेन्टबाट बिरामीको चेकजाँच गराइको पाइएको छ । देशकै प्रतिष्ठित डाक्टरहरु काम गर्ने तथा जनताले गुणस्तरीय सेवाको आश गरेको प्रतिष्ठित अस्पतालमा यस्तो अभ्यास भएपछि अस्पतालमा जाने बिरामीले नै घटना संवाददातासम्म ल्याएका हुन् । 

अस्पतालमा कार्यरत एक डाक्टरले सिफारिस गरेको आधारमा अस्पताल प्रशासनले कुनै सोधखोज, अन्तर्वार्ता, कागजी प्रकृया बिनानै अप्थाल्मोलोजी एसिस्टेन्ट कविता कार्कीलाई डाक्टर बनाएर उपचार गराउन लगाएको पाइएको हो । अस्पतालका आँखा रोग विशेषज्ञ डा. विशाल पाण्डे बिदामा बसेदेखि उनलाई डाक्टर बनाएर उपचार गर्न लगाइएको हो । यता कार्कीले भने आफु डाक्टर नभएको र अस्पतालमा नाम टिपाउँदा कविता कार्कीमात्र टिपाएको बताउँछिन । डा. पाण्डेसंगै क्लिनकमा काम गर्दा भएको चिनजानले उनी ह्याम्स अस्पतालमा बिरामीको उपचार गर्न पुगिन । उनले अस्पताल गएर तीन दिन बिरामीको जाँच गरेको स्वीकार गरेकी छन् । 

कार्कीले तिलगंगा आखाँ प्रतिष्ठानबाट तीन वर्षे अप्थाल्मोलोजी सहायकको विषयको अध्ययन गरेको बताइन् ।

उनले डाक्टरको सिफारिसमा अस्पतालमा बिरामीको चेकजाँच गर्न पुगेको तर एउटा सहायकको हैसियतले कति काम गर्नुपर्ने हो त्यतिमात्र गरेको दावी गरेकी छन् ।

उनले अस्पतालमा बिरामीको परीक्षण गरीरहँदा तीन दिनका दिन आफ्नो नामको अगाडि डाक्टर लेखेको देखेपछि त्यसलाई अटाउन पटक पटक आग्रह समेत गरेको बताइन । उनले भनिन् ‘मैले त्यहाँको एउटा भाइलाई नामबाट डाक्टर हटाउन भने तर हटेन त्यसपछि म अस्पताल नै जान छाडें । 

अस्पतालले पटकपटक डाक्टरको नाम परिवर्तन गराइरहेको बताइन । उनले कहिले डा. कविता कार्की, कहिले डा. बबिता कहिले डा. कपिल काफ्ले भनेर बोड झुन्डिएको बताइन् । उनका अनुसार अस्पताल प्रशासनका कसैले पनि उनको बारेमा सोधेनन् । उनले आफ्नो पद अनुसार बिरामी जाँच्न पाउने तर डाक्टर नै भएर नपाउने बताइन् । अस्पतालले आफ्नो नामको अगाडि डाक्टर लेख्नु गलत भएको कविताको भनाइ छ । 

एक जना बिरामीले एनएमसी नम्बर मागेको समेत उनले बताइन । साथै उनले आफुले गर्न नसकेको उपचारका लागि बिरामीलाई रिफर गरेको बताइन् । 

आफ्नो चाहना विपरित बिरामीसँग मजाक भएको उनले स्वीकार गरेकी छन् । साथै उनले अस्पतालको व्यवस्थापन पक्षमा प्रश्न पनि गरेकी छन् । कार्कीले आफ्नो परीक्षणले बिरामीलाई कुनै बेफाइदा नहुने भन्दै आफुले जाने जतिमात्र परिक्षण गरेको भन्दै आरोपबाट पन्छिन खोजेकी छिन् । साथै उनले अस्पतालले डाक्टर लेखेर गल्ती गरेको दोहोर्याउँदै यसमा आफ्नो कुनै दोष नरहेको जिकिर गरिन् ।  

अस्पतालको यस्तो कर्तुत अस्पतालको नामसँग भने सुहाउँदैन । अस्पतालको नाम भने हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) तर काम भने बिरामीहरुप्रति संवेदनहीन देखिएको छ । अस्पतालले नेपालका केही प्रतिष्ठित चिकित्सकहरु डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. भोला रिजाल लगायतलाई आवद्ध गराएर अस्पतालको प्रचार गरेको छ । अस्पतालले उनीहरुलाई पनि न्यूनतम सेयर दिएर सबैको स्वामित्वको अस्पताल बनाउन खोजेको अस्पताल स्रोत बताउँछ । यद्यपी डाक्टरहरुले भने अस्पतालको सञ्चालन कसरी अगाडी बढ्छ त्यो अनुसारमात्र निर्णय लिने भनेर शेयर नलिइसकेको स्रोतको जिकिर छ । 

सर्जिकल सामाग्रीको व्यवसाय हुँदै अस्पतालका अध्यक्ष बनेका आर.एस भण्डारीले अस्पतालमा प्राविधिक त्रुटि भएको स्वीकार गरे । हाम्रो डक्टर न्यूजसंग कुरा गर्दै भण्डारीले भने ‘डाक्टर बस्ने कोठामा प्राविधिक बसेकोले दुविधा भएकोले नामको अगाडि डाक्टर भएको रहेछ ।’ 

साथै भण्डारीले कार्कीले बिरामीहरुलाई आफ्नो मेडिकल दायरा भन्दा बाहिर गएर चेकजाँच नगरेको पनि दावी गरेका छन् ।  
 

Last modified on 2019-07-11 06:59:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts