नोबेल मेडिकल कलेजको मनोमानी, बाउन्सर राखेर औषधि सञ्चालकलाई कुटपिट

३ हजार पर्ने ‘डीजे गार्ड’ ९ हजार ५ सयमा बेच्दै



Download our app to get more features

विराटनगर, २६ असार । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले बिरामीलाई लुट्ने नयाँ रणनीति अपनाएको छ ।

अस्पतालले बाहिरका औषधि व्यवसायी र एम्बुलेन्स चालकलाई अस्पताल परिसर भित्र प्रवेश निषेध गर्दै सूचना जारी गरेको छ ।

अस्पताल भित्रबाट बिरामी तथा सेवाग्राहीले औषधि खरिद गर्नुपर्ने नियम लगाउँदै अस्पताल प्रशासनले एम्बुलेन्सका चालक र बाहिरका औषधि व्यवसायीलाई प्रवेशमा निषेध गरेको हो ।

आन्तरिक प्रणालीबाट मात्रै सेवाग्राहीले औषधि लिनुपर्ने बाध्यकारी नियमसँगै औषधिको मूल्यसमेत वृद्धि गरिएको छ । नोबेल परिसरमा चार वटा औषधि पसल सञ्चालनमा रहेका छन् । जसमध्ये सु–स्वास्थ्य फार्मेसीले बोलपत्र मार्फत अस्पतालका बिरामीलाई औषधि आपूर्ति गर्दै आएको छ ।

गत असार १६ गतेदेखि लगाइएको यो नियमले सेवाग्राहीले तीन हजार रुपैयाँ पर्ने ‘डीजे गार्ड’ नौ हजार ५ सय रुपैयाँमा खरिद गर्दै आएका छन् । मिर्गौलामा पथरी भएका बिरामीको अप्रेशनपछि लगाउनुपर्ने सामन्य पाइपको मूल्य यति धेरै लिएर सेवाग्राहीमाथि ब्रम्हलुट मच्चाउन थालिएको छ ।

नोबेलले बाहिरी परिसरमा रहेका ३४ औषधि पसलमा सेवाग्राही औषधि खरिद गरेर उपभोग गर्न नसक्ने भन्दै प्रसाशनले सार्वजनिक सूचना जारीसमेत गरेको छ ।

प्रशासकीय अधिकृत दिपेश राईले बारिहका फार्मेसी र एम्बुलेन्स चालकका लागि अस्पतालभित्र प्रवेश गर्ने अनुमति नभएको व्यहोराको सूचना जारी गरेका हुन् ।

अस्पतालको यो सूचनासँगै बाहिरका फार्मेसी सञ्चालक र बिरामी बोकेर आएका एम्बुलेन्स चालक भित्र प्रवेश गर्न पाउँदैनन् । उनीहरुलाई रोक्न अस्पतालले बाउन्सर राखेको औषधि व्यवसायी सुनिल साहको गुनासो छ ।

सेवाग्राहीले बाहिरबाट औषधि खरिद गरेर भित्र लान समेत नपाउने र त्यो औषधि प्रयोगमा ल्याउन नमानेका कारण अस्पताल प्रशासन र बारिहका फार्मेसी सञ्चालकबीचको दुरसमेत निकै बढ्दै गएको छ । अस्पतालले फार्मेसी सञ्चालक र एम्बुलेन्स चालकलाई भित्र प्रवेश गर्दा हातपात गर्दै बारिह निकालि दिने गरेको रामसुनिल साहको भनाई छ ।

सोमबार राति भित्रका बाउन्सरले प्रियबन्धु फार्मेसीका सञ्चालक राजकुमार यादवमाथि कुटपिटसमेत गरेका छन् । अस्पतालले राखेका बाउन्सर सागर कोइरासहितको समूहले यादवमाथि आक्रमण गर्दा गहिरो चोटसमेत लागेको छ ।

मोरङ प्रहरीको नियन्त्रणमा रहेका कोइरालाविरुद्ध फार्मेसी सञ्चालकले कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा उजुरी दिइएको प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

अस्पताल परिसरमा सु–स्वास्थ्य फार्मेसी सञ्चालन गर्दै आएका अनिल चौधरीले भने आफूले कुनै फार्मेसीलाई भित्र प्रवेश गर्नमा रोक नलगाएको दावी गरेका छन् ।

नोबेल मेडिकल कलेजका जनसम्पर्क तथा सूचना अधिकृत रविन कट्टेलले भने फार्मेसीबीचको विवाद अस्पतालसँग सरोकार नभएको विषय रहेको बताए । बाहिरका औषधि पसलमा बिरामी ठगिएको गुनासो आएपछि अस्पतालले उनीहरुलाई निषेध गरेको कट्टेलको दावी छ । 
 

(आजको गोरखापत्र दैनिकबाट)

Last modified on 2019-07-11 12:09:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts