समयमै उपचार नभए पिनासले लिन्छ जटिल रुप

के कारण हुन्छ पिनास ? कसरी गर्ने उपचार ?



Download our app to get more features


काठमाडौं, ३ साउन । कतिपय व्यक्तिलाई पिनासले निकै सताएको हुन्छ । उनीहरुलाई यसको उपचार कसरी गर्ने समेत थहा हुँदैन । पिनासले सताएर जिवनशैलीमा पनि नकारात्मक असर परिरहेको हुन्छ भने काम गर्न पनि बाधा पुर्याइरहेको हुन्छ ।। पिनास विग्रेमा जटिल समस्या निम्तने हुँदा यसबारे  बुझ्न अति आवश्यक छ । 

नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ । यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ । रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थालाई पिनास भनिन्छ । बाहिरी वातवरणसँग नाकको सम्बन्ध सीधा र धेरै हुन्छ । मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा किटाणु बढी सक्रिय हुन्छन् । जसका कारण रुघाखोकी लागिरहने हुन्छ ।

त्यस क्रममा पिनास हुने सम्भावना बढ्ने  डा. ढुण्डराज पौडेल बताउँछन् ।‘मौसम परिवर्तन हुने क्रममा वातवरणमा रुघाखोकीका भाइरस बढी सक्रिय हुन्छन्, त्यसकारण जाडोमा रुघा धेरै लाग्छ,’उनले भने,‘रुघा धेरै लागेपछि नै पिनास हुने जोखिम पनि बढ्ने हो ।’

डा.पौडेलका अनुसार जब वातवरणमा रुघा लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन् । कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ । वातवरणाीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ । 

पिनास हुने दोस्रो कारण रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु हो ।  यस्तो क्षमता कमजोर भएका व्यक्तिलाई रुघा लागिसकेपछि चाँडै निको हुँदैन । यस्ता बिरामीलाई एन्टिबायोटिकले पनि सजिलै काम गर्दैन र रुघाखोकी लम्बिएर संक्रमण साइनससम्म पुग्छ । यस्तो अवस्थामा पिनास हुन्छ ।

पिनास हुने तेस्रो कारण हो, नाकको हड्डी बांगो हुनु । नाकको डाँडी लामो भएका व्यक्तिहरूको नाकको हड्डी बांगो हुन्छ ।

यस्तो हड्डी जतापट्टि बांगो भएको हो, त्यतापट्टि नाकको प्वाल सानो हुन्छ । यस्तो प्वालबाट हावा आवतजावत राम्रो हुन सकेन भने किटाणु प्रवेश गर्छन् । यस्तो अवस्थामा पनि साइनसमा संक्रमण भइ पिनास हुने डा. पौडलले बताए ।

हाम्रो वातवरणमा किटाणु बढी हुनुका कारण रुघा लागिरहने भएकाले हामी सबै पिनासको जोखिममा रहेको डा. पौडेल बताउँछन् ।

तसर्थ सकेसम्म व्यक्तिगत सफाइमा ध्यान दिने, बाहिर हिँड्दा भरपर्दो मास्कको प्रयोग गर्ने गरेर रुघा लाग्नबाट बच्नुपर्छ । कारणवश रुघा लागिहालेमा पनि यसको छिटो र उचित उपचार गर्नुपर्छ ।

सानोमा कुपोषण भएका तथा पछि गएर कुपोषण भएका व्यक्तिमा पनि रुघाखोकीको संक्रमण बढी हुने र सामान्य उपचारले निको नहुने डा. पौडेल बताउँछन् ।

यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्ने र पोषणयुक्त खानपान गरेर शरीरको रोग प्रतिरोध क्षमता बढाउन सकिने उनी सल्लाह दिन्छन् । अर्काे कुरा, रुघाखोकी लागिहालेमा तथा पिनास भइहालेमा त्यसको बेलैमा उपचार गर्नु यसको असरबाट बच्ने अर्काे उपाय भएको डा. पौडेल बताउँछन् ।

पिनासको कारण

साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो ।

साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन् । कहिलेकाही नाकको भित्री भागमा मासु पलाउने पोलिप, ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी पिनास गराउनमा मुख्य भूमिका खेलिरहेको हुन्छ ।

चुरोटको धुँवाले वायु प्रदुषणको कारणले पनि पिनास हुनसक्छ । त्यस्तै रुघाको औषधीहरुको बढी प्रयोग गर्नाले पिनास हुन्छ । सुख्खा मौसममा हुने सुख्खा हावाका कारणले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थको मात्रा मक हुँदा पिनास देखापर्छ ।

डा पौडेलकाअनुसार पिनासलाई मुख्यगरी दुई प्रकारका हुन्छन् । भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने पिनास १० दिनभन्दा कम समयसम्म रहने पिनास प्राय भाइरल संक्रमणका कारणले गर्दा हुने गर्छ । १० दिनभन्दा बढी यो समस्या रहेमा व्याक्टेरियाले पिनास गराउँछ । लगातार १२ हप्तामा पनि निको नभए नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा लामो समयसम्म रहने हुन्छ ।

पिनासका लक्षणहरु

पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । लगायतार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ । नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सुङ्ने शक्तिमा कमि आउँछ । कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्ने डा पौडलले बताए ।

टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन् । पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ ।

एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ । जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएर पछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।

टाउको दुख्ने

अनुहारका भागहरू दुख्ने

नाक बन्द हुने

नाकबाट बाक्लो सिंगान बग्ने

मुखबाट खकार आउने

खोकी लागिरहने

नाकले कुनै बास्ना, गन्ध थाहा नपाउने

आँखाको अगाडि र तलको भाग दुख्ने

नाकको छेउछाउमा दुख्ने

बिहानको समयमा टाउको बढी दुख्ने

सुँघ्ने शक्ति कमजोर हुने

नाकबाट सास फेर्न नमिल्ने

कहिलेकाँही नाकबाट रगत मिसिएको सिँगान बग्ने

उपचार

नेपालमा पिनासको उपचार निजी तथा सरकारी सबै अस्पतालमा हुन्छ। काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, निजी मेडिकल कलेज तथा अस्पतालमा यसको शल्यक्रिया हुन्छ । कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोगले पनि पिनास निको हुने डा. पौडेल बताउँछन् ।

तर रुघाखोकी लाग्यो भन्दैमा आफूखुसी औषधि सेवन गर्नु भने उचित नहुने उनको भनाइ छ ।  एन्टिबोयोटिकले निको नभएपछि मात्र नाकको हड्डी शल्यक्रिया गरिन्छ ।

एलर्जी समस्या भएका बिरामीले भने चिकित्सकको सिफारिसमा लामो समय औषधि खानुपर्छ । सँगसँगै आफूलाई कुन कुराले एलर्जी हुन्छ त्यो पत्ता लगाएर त्यसबाट बच्नुपर्छ ।

चिकित्सकका अनुसार नाकको हड्डी बांगो भएका कारणले पिनास भएको हो भने त्यसको शल्यक्रिया गर्न सकिन्छ । शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूले भने चिकित्सकको सल्लाहमा केही बढी समय नियमित एन्टिबायोटिक सेवन गरेर पिनास निको पार्न सकिन्छ ।

रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर भएकालाई बढी रुघा लाग्छ। प्रतिरक्षा बलियो भएकालाई कम लाग्छ । बारम्बार रुघा लागेपछि पिपमा परिणत भएर प्वालमा भरिन्छ ।

टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट बाग्लो सिंगान बग्ने, मुखबाट खकार निस्कने, अनुहार दुख्ने, खोकी लागिरहने, नाकले केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन् ।

समयमै पिनासको उपचार नभए यसले जटिल रूप लिने डा पौडेल बताउँछन् । नाकको बाटो हुँदै पिनासको पिप मस्तिष्कमा पुग्न सक्छ । मस्तिष्कमा पिप जम्यो भने ब्रेन एक्सिस (मस्तिष्कमा संक्रमण) र मेनेन्जाइटिस हुन्छ । साथै निमोनिया हुने, आँखामा खराबी आउने, साइनस मक्किने समेत हुन्छ ।
 

Last modified on 2019-07-19 12:42:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts