दुइतिहाई भन्दा बढी मृत्युको कारण नसर्ने रोग

कुन प्रदेशमा कस्ता बिरामी बढी ?



Download our app to get more features

काठमाडौं, १० साउन । कुल मृत्युको दुइतिहाईभन्दा बढी मृत्यु नसर्ने रोगको कारण हुने गरेको अनुसन्धानले देखाएको छ ।

नेपाल अनुसन्धान परिषद्ले गरेको अनुसन्धानअनुसार नसर्ने रोगले भयावह रुप लिदैं गएको हुँदा रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।

बिरामी भएर मृत्यु हुने मध्ये ६६ प्रतिशत (  दुइतिहाई) नसर्ने रोग लागेर मृत्यु हुने गरेको सन् २०१७ को अध्ययनले देखाएको हो ।

साथै थप ९ प्रतिशत मृत्यु चोटपटकले हुने गरेको अध्ययनले देखाएको छ । परिषद्ले गरेको अनुसन्धानमा नेपालमा २० वर्ष माथिका ३० प्रतिशत व्यक्तिमा चार प्रकारका नसर्ने रोग उच्च रहेको उल्लेख छ ।

जसमध्ये श्वासप्रश्वास सम्बन्धी दीर्घरोग (सिओपिडी) ११ दशमलव ८ प्रतिशत, मधुमेह ८ प्रतिशत, मिर्गाैलासम्बन्धी जटिल रोग ६ प्रतिशत र हृदय रोग २ दशमलव ९ प्रतिशत रहेको अनुसन्धानमा उल्लेख छ । यस्ता रोग महिलाको तुलनामा पुरुषमा बढी पाइएको स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख मेघनाथ धितालले जानकारी दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ३ वर्ष लगाएर गरेको अनुसन्धानमा नसर्ने रोगले विकराल रुपमा बढ्दै गएको पाइएको हो ।

परिषद्ले बिहीबार आयोजित अनुसन्धान सार्वजनिक कार्यक्रममा केही समयअघि गरेको जनसंख्या तथा वैज्ञानिक शिखर सम्मेलनमा भएका अनुसन्धानमध्येबाट छनोट गरी पाँच अनुसन्धान सार्वजनिक गरेको छ ।

अनुसन्धानबाट प्राप्त सुझावलाई स्वास्थ्यको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औल्याउँदै परिषद्ले सरकारलाई उक्त अनुसन्धान प्रतिवेदन बुझाएको हो । यी अनुसन्धानमार्फत नीति निर्माण गर्न मन्त्रालयललाई सहयोग पुग्ने परिषद्ले विश्वास व्यक्त गरेको छ ।

परिषद्को उक्त प्रतिवेदन बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुरेन्द्र यादवले नेपालमा युग परिवर्तन भएता पनि संघ/संस्थाको कार्यक्रम परिवर्तन हुननसकेको बताए । मन्त्री यादवले भने, ‘हाल रोगको प्रकृति परिवर्तन भएको छ।

नसर्ने रोगको कारण नै जीवनशैली, खानपान बनिरहेको छ, सोबारे अगाडिका र हालका अवस्थाबारे विश्लेषणात्मक अनुसन्धान हुन आवश्यक छ ।’ स्वास्थ्यको अहिलेको ग्राफलाई तल झार्न उपलब्ध बजेटले नपुग्ने मन्त्री यादवले बताए । जसका लागि बजेट बढाउनेपर्ने मन्त्री यादवको भनाइ छ ।

उनले भने ‘यो आर्थिक वर्षमा ६८ अर्ब बजेट छ, हामीलाई थप ३५ अर्ब बजेट अझै आवश्यक पर्छ।’ परिषद्ले गरेका अनुसन्धानहरू कार्यान्वयनमा ल्याएर मन्त्रालयले नीतिनिर्माण बनाओस् भन्ने विश्वास परिषद्ले लिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्क अध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले बताए ।

परिषद्ले गरेको अनुसन्धानको सर्वेक्षण नतिजा प्रकाशन गरेसँगै नेपाल स्वास्थ्य अनुन्धान नीति २०६७ खारेज गरी नयाँ रणनीति २०७६ को ड्राफ्ट सार्वजनिक गरिएको छ ।

परिषद्का अध्यक्ष प्रा.डा. झाकाअनुसार नेपाल स्वास्थ्य अनुसन्धान नीति २०६७ खारेज गरी नयाँ रणनीति २०७६ सार्वजनिक गरिएको हो ।

परिषद्को संस्थागत संरचनालाई प्रदेश र स्थानीय सरकारसँग समन्वयमा प्रत्येक प्रदेश तथा आवश्यकताअनुसार स्थानीय तहमा विस्तार गर्ने लगायतका कार्यनीति अवलम्बन गरिएको प्रा.डा. झाले बताए ।

कुन प्रदेशमा कस्ता बिरामी बढी ?

अध्ययनअनुसार मधुमेह रोगका बिरामी सबैभन्दा बढी प्रदेश ३ मा ११.५ प्रतिशत रहेको छ । त्यस्तै, प्रदेश ५ मा ९.६, प्रदेश २ मा ८.५, प्रदेश १ मा ७.७, गण्डकी प्रदेशमा ६.७, सुदूरपश्चिमाञ्चल प्रदेशमा ५.२ र कर्णाली प्रदेशमा ३.२ प्रतिशत मधुमेहका बिरामी रहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी, श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगलाई हेर्दा सबैभन्दा बढी कर्णाली प्रदेशमा २५.१ प्रतिशत बिरामी रहेको पाइएको छ । प्रदेश २ मा १६.४ प्रतिशत, सुदूरपश्चिमाञ्चल प्रदेशमा १४.३ प्रतिशत, प्रदेश ३ मा ११.७ प्रतिशत बिरामी रहेको अध्ययनले देखाएको छ ।

प्रदेश ५ मा ९.५, प्रदेश १ मा ६.२ र गण्डकी प्रदेशमा ९.५ प्रतिशत बिरामी पाइएको छ । मिर्गौलासम्बन्धी रोगहरुमा भने सबैभन्दा बढी गण्डकी प्रदेशमा ६.८ प्रतिशत बिरामी भेटिएका छन् ।

प्रदेश १ मा ५.२, प्रदेश २ मा ६.६ प्रतिशत, प्रदेश ३ मा ६.५, सुदूरपश्मिाञ्चल प्रदेशमा ५.९, प्रदेश ५ मा ५.७ र कर्णाली प्रदेशमा ४.७ प्रतिशत मिर्गौलारोगी रहेको अध्ययनमा उल्लेख छ । यस्तै, मुटुसम्बन्धी रोगमा सबैभन्दा बढी गण्डकी र सुदूरपश्मिाञ्चल प्रदेशमा ३.६/३.६ प्रतिशत बिरामी पाइएको अध्ययनमा उल्लेख छ । प्रदेश ३ र १ मा ३.३ प्रतिशत, प्रदेश २ मा २.८ प्रतिशत पाइएको छ । अध्ययनअनुसार प्रदेश ५ मा २.३ र कर्णाली प्रदेशमा ०.८ प्रतिशत पाइएको छ ।

Last modified on 2019-07-27 13:59:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts