क्यान्सर उपचारमा विदेश जानु रहर मात्रै 



Download our app to get more features

काठमाडौं,  १२ साउन । नेपालमै सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने भनिए पनि क्यान्सरका धेरै बिरामी उपचारका लागि विदेश जाने गरेका छन् । बर्सेनि क्यान्सरका हजारौँ बिरामी भारतलगायत मुलुकमा उपचारका लागि जाने गरेको विभिन्न अध्ययन–रिपोर्टले देखाएका छन् । 

बिरामीहरू उपचारका लागि विदेश जाँदा एकातर्फ करोडौँ रुपैयाँ बिदेसिरहेको छ भने अर्कोतर्फ राज्यले क्यान्सर उपचारमा गरेको लगानीप्रति सेवाग्राहीले विश्वास नगरेजस्तो देखिन्छ । सेवाग्राहीको विश्वास बढाउन र उपचारका नाममा बिदेसिने रकम देशमै रोक्न सरकारले स्पष्ट पहल गरेको पनि देखिँदैन ।

सरकारले मात्रै होइन चिकित्सकसमेत भारतलगायत देशमा क्यान्सरका बिरामी पठाउन लागिपरेको आरोप छ । उनीहरूले कमिसनको लोभमा बिरामीलाई जबर्जस्ती विदेश पठाइरहेको स्रोतको दाबी छ ।

चिकित्सकहरूको यो कर्ममा स्वास्थ्य क्षेत्रसँगै नजोडिएका व्यक्तिसमेत लागेको आरोप छ । नेपालका कतिपय अस्पतालले भारतीय अस्पतालको सम्बन्धन पाएको भनेर प्रचार गर्ने र उपचारभन्दा ‘कमिसन खेती’ गरेर पैसा कमाउने खेल बढ्न थालेको स्वास्थ्य क्षेत्रमै टिप्पणी हुने गरेको छ । 

क्यान्सरका बिरामीलाई हामी रिफर गर्दैनौँ : डा. श्रेष्ठ
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक ऋषिकेशनारायण श्रेष्ठले नेपालमा सबै प्रकारका क्यान्सरको उपचार सम्भव रहेको बताए । उनले भने, ‘क्यान्सरका सबै उपचार मुलुकमै सम्भव छ, हामी कुनै पनि बिरामीलाई उपचारका लागि विदेश रिफर गर्दैनौँ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालमा रिफर गर्छौँ, तर मुलुकबाहिर कुनै बिरामीलाई पठाउँदैनौँ ।’ उनका अनुसार विदेश जाने क्यान्सरका बिरामी नेपालको उपचारमा विश्वास नगरेर गएका हुन् ।

उनीहरू आफूखुसी गएको उनको भनाइ छ । आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा भक्तपुर क्यान्सर अस्पतालमा ३४ सय क्यान्सरका बिरामी उपचार र परीक्षणमा आएको जनाएको छ । प्रत्येक दिन अस्पतालमा क्यान्सर परीक्षणका लागि मात्रै सय नयाँ बिरामी आउने निर्देशक श्रेष्ठले बताए । जसमध्ये नौदेखि १० जनामा क्यान्सर हुने उनको भनाइ छ । 

क्यान्सरका बिरामी आफ्नै इच्छाले विदेश जान्छन्: प्रमुख श्रेष्ठ
नेपाल क्यान्सर अस्पतालका प्रमुख सुदीप श्रेष्ठले पनि उपचारका लागि विदेश जाने क्यान्सरका बिरामी आफ्नै इच्छाले जाने गरेको बताए । ‘क्यान्सर उपचारमा नेपालमै नयाँ–नयाँ प्रविधि भित्रिसकेकाले सबै प्रकारका उपचार नेपालमै सम्भव छ । यसकारण हामी कुनै पनि बिरामीलाई विदेश जाऊ भन्दैनौँ,’ निर्देशक श्रेष्ठले भने ।

उनले नेपाल क्यान्सर अस्पतालमा परीक्षणका लागि नयाँ बिरामी दैनिक १० देखि १२ जना आउने गरेको बताए । उनका अनुसार हजारमा एकजनालाई क्यान्सर हुने तथ्यांकमा देखिएको छ । चालू आर्थिक वर्षको हालसम्म क्यान्सर परीक्षणका लागि यस अस्पतालमा तीन हजार दुई सय बिरामी आएको अस्पतालको तथ्यांकमा उल्लेख छ । 

क्यान्सरका बिरामी बर्सेनि बढ्दै 
नेपालमा क्यान्सरका बिरामी बर्सेनि बढ्दो क्रममा छन् । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरद्वारा उपलब्ध तथ्यांकका आधारमा नेपालमा १० वर्ष (सन् २००३/०१३) मा ५६ हजार क्यान्सररोगी पहिचान भएको थियो । त्यसमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष थिए ।

नेपालमा हरेक वर्ष करिब ४० हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । त्यसमध्ये करिब २५ प्रतिशतले मात्र अस्पतालमा उपचार गराउने गरेको पाइएको छ । साथै क्यान्सरका कारण नेपालमा बर्सेनि २० हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । 

किन बढ्दै छन् क्यान्सरका बिरामी 
क्यान्सररोग विशेषज्ञ डा. राजेन्द्र बरालका अनुसार विकासोन्मुख देशमा क्यान्सरका बिरामी निरन्तर बढिरहेका छन् । त्यसमध्ये पनि पाठेघरको मुखको क्यान्सरको जोखिम सबैभन्दा उच्च रहेको छ । उनले भने, ‘दोस्रो स्थानमा स्तन क्यान्सर छ ।’

महिलामा हुने स्तन क्यान्सर सुरुमा पत्ता लगाउन निकै गाह्रो हुने हुँदा यसको संक्रमण ढिला मात्रै थाहा हुन्छ । जसका कारण उपचार कठिन बन्ने गर्छ । यस्तै पुरुषमा भने सबैभन्दा बढी फोक्सोको क्यान्सर हुने गरेको उनको भनाइ छ ।

विकसित देशहरूमा न्यून मात्रामा भेटिने पाठेघरको मुखको क्यान्सर नेपालमा करिब २१ प्रतिशत छ भने पुरुषमा १९ प्रतिशत फोक्सोको क्यान्सरका रोगी छन् । 

बर्सेनि पाँच लाख महिलालाई पाठेघरको क्यान्सर: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रतिवर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ ।

जसमध्ये दुई लाख महिलाको यो रोगबाट मृत्यु हुने गरेको अनुमान छ । संगठनको तथ्यांकअनुसार सन् २०१५ मा क्यान्सरजन्य रोगका कारण विश्वमा आठ करोड ८० लाख मानिसको मृत्यु भएको थियो ।

अर्थात् मृत्यु हुने ६ जनामध्ये एकको मृत्यु क्यान्सरले भएको थियो । यसमध्ये पनि ७० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका देशका छन् ।

कम उमेरमै क्यान्सर 
एक–डेढ दशकअघिसम्म क्यान्सरको जोखिम ४० वर्षपछि मात्रै हुन्छ भन्ने भनाइ थियो । तर, यो भनाइ अहिले मिथ्या साबित भएको छ ।

नेपालजस्ता अविकसित देशमा ३० वर्ष वा सोभन्दा कम उमेरमै क्यान्सर देखा पर्न थालेको क्यान्सर विशेषज्ञ डा. बरालले बताए ।

उनले भने, ‘अहिले क्यान्सर कम उमेरका मानिसमा पनि देखिन थालेको छ, १५ वर्षका किशोरीमा समेत स्तन क्यान्सर देखिएको छ ।’

तुलनात्मक रूपमा १५ देखि २० र ३० देखि ४० वर्षका मानिसमा क्यान्सर रोग लाग्ने सम्भावना कम हुने चिकित्सकहरू बताउँछन् । ४० वर्ष उमेर नाघेका मानिसलाई क्यान्सरले बढी आक्रमण गर्छ । बच्चामा पनि क्यान्सर नहुने भन्ने होइन । 

क्यान्सर रोग लाग्नुको एउटा कारण वंशाणुगत हो । बच्चाको जिनमै क्यान्सर संक्रमण फैलिन सक्ने भएकाले क्यान्सरले छिटै आक्रमण गर्छ । बच्चाहरूमा विशेषगरी रक्तक्यान्सर, लिम्फोमा क्यान्सर र टाउकोको क्यान्सर हुने गरेको छ । 

क्यान्सर के हो ?
क्यान्सर गम्भीर प्रकारको रोग हो । शरीरको सेल अनियन्त्रित रूपमा बढ्नु क्यान्सरको विशेष लक्षण हो । अनियन्त्रित ढंगले बढेको सेलमा देखिने डल्लालाई ट्युमरको आशंका गरिन्छ । जुनसुकै क्यान्सर लागे पनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर, क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिँदैमा आत्तिहाल्नु हुँदैन । तर, नियमित परीक्षण र चिकित्सकको परामर्श भने लिनुपर्छ ।

क्यान्सरका चरण 
पहिलो चरण: पहिलो चरणमा क्यान्सर रोगलाई पत्ता लगाउन सकियो भने शतप्रतिशत निको पार्न सकिन्छ । 
दोस्रो चरण: दोस्रो चरणमा पत्ता लाग्यो भने निको पार्न सकिन्छ, तर धेरै खर्चिलो, लामो समयसम्म उपचार गराउनुपर्ने हुन्छ । 
तेस्रो चरण: तेस्रो चरणमा पत्ता लाग्यो भने क्यान्सर रोग निको पार्न सकिँदैन, तर बिरामीको जीवनलाई केही हदसम्म लम्ब्याउन सकिन्छ । 
चौथो चरण: चौथो चरणको क्यान्सर रोगलाई केही गर्न सकिँदैन, तर रोगको कारणले उत्पन्न अन्य समस्या व्यवस्थापन गर्न भने सकिन्छ ।

यसका लक्षण
कुनै अंग वा भागमा निरन्तर दुखाइ महसुस हुनु
नियमित रूपमा ज्वरो आउनु
दुब्लाउँदै जानु वा वजन कम हुनु
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु 
अत्यधिक तनाव हुनु र शरीर चिलाइरहनु
दिशा र पिसाबको रङ बदलिन सक्छ

बच्ने उपाय
उपचारभन्दा यो रोगबाट बच्नु नै राम्रो हुने चिकित्सकहरूको सुझाब छ । करिब ६० प्रतिशत क्यान्सरबाट बच्न वा जोगिन सकिन्छ । शरीरको कुनै अंगमा धेरै समयसम्म चिलाउने भएमा यथासम्भव सो रोक्ने उपाय गर्ने । 

घाम या बढी हावामा धेरै बेर नबस्ने । 

बच्चा जन्मँदा भएको गर्भाशयको घाउ तत्काल उपचार गरी निको पार्ने । 

स्तनको जाँच नियमित रूपमा आफैँ गरिरहने । 

क्यान्सर विशेषज्ञद्वारा वर्षको एकपटक शरीरको परीक्षण गराउने । ४० वर्ष पुगेका महिलाले हरेक दुई–दुई वर्षमा मेमोग्राफी गराउने । 

रोगको शंका भएमा यथाशीघ्र क्यान्सर रोग विशेषज्ञद्वारा परीक्षण गराई आवश्यक जाँच गराउने । क्यान्सर उपचारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापीको प्रयोग गरिन्छ । 

क्यान्सर लाग्नुका कारण 

विशेषगरी मानिसको औसत आयु बढ्नु, स्वस्थ्य खानपानमा ध्यान नदिनु, राम्रो र सफा वातावरणमा रहन नसक्नु र धूम्रपानले क्यान्सर रोग लाग्ने गर्छ । 

अहिले संसारभर क्यान्सर रोग बढ्दो छ । त्यसैगरी नेपालमा पनि क्यान्सर रोगले दोब्बर बढ्दो रूपमा लिएको छ । मलेरिया र क्षयरोगको तुलनामा क्यान्सर रोगले उग्र रूप लिएको छ । विकसित देशमा क्यान्सर रोगको बिरामी कम भेटिन्छन् भने विकासोन्मुख देशमा क्यान्सर रोग बढी नै छ ।

नेपाल, भारत र चीनमा क्यान्सर रोगका बिरामी बढेका छन् । नेपालमा क्यान्सर रोगीको वास्तविक तथ्यांक छैन । तर, क्यान्सर अस्पतालमा बढेको बिरामीको चाप हेर्दा अन्य रोगभन्दा बढी भएको सहजै अनुमान लगाउन सकिने चिकित्सकहरू बताउँछन् ।
नेपालमा क्यान्सर रोग बढ्नुको कारण 
नेपालमा क्यान्सर रोग बढ्नुको मुख्य कारण धूम्रपान रहेको डा. बरालले बताए । सँगै खानपानमा रहेको विकृतिले स–साना उमेरका बच्चामा पनि क्यान्सर देखिन थालेको उनले प्रस्ट्याए । ‘हामी बसेको वरिवरि विभिन्न रोगको संक्रमण, विषादीयुक्त खानपानको प्रयोग हुने गरेको छ,’ उनले भने, ‘अखाद्य र मलखाद्य वस्तु, बढ्दो औद्योगिकीकरण, मानिसको बढ्दो औसत आयुजस्ता कुराले नेपालमा क्यान्सर रोग बढ्दै छ ।’

क्यान्सरको इतिहास
पहिलोपटक क्यान्सर शब्द ग्रिक फिजिसियन हिप्पोक्रेटस (४६०–३७० इसापूर्व)ले प्रयोग गरेका थिए । ग्रिकमा ‘कार्किनोस’ भन्ने शब्द कार्सिनोमा ट्युमर जनाउन प्रयोग गरिएको थियो ।

प्राचीन इजिप्टमा फेला परेका ममीहरूमा पनि हड्डीको क्यान्सर भएको प्रमाण फेला परेका थिए । विश्वकै सबैभन्दा पुरानो प्रामाणिक स्तन क्यान्सर भने १५०० इसापूर्वमा प्राचीन इजिप्टमा फेला परेको थियो ।

त्यतिखेर पनि यसको कुनै उपचार थिएन, मात्र पीडाबाट मुक्त गर्ने उपाय मात्र अपनाइन्थ्यो । प्राचीन इजिप्टका शिलालेखहरूमा पनि शरीरको सतहमा भएका ट्युमरलाई शल्यक्रियामार्फत हटाइने गरिएको उल्लेख छ । 

१८औँ शताब्दीसम्म क्यान्सरका कारणबारे विभिन्न अनुसन्धान भए पनि पहिलोपटक सन् १७७५ मा यसको कारण पत्ता लागेको थियो । बेलायती सर्जन पर्सिभल पटले चिम्नी कामदारमा हुने आमरोग अण्डकोषको क्यान्सरका कारण पत्ता लगाएका थिए ।

यही शताब्दीमा माइक्रोस्कोपको आविष्कार भएपछि प्राथमिक ट्युमर लिम्फ नोड हुँदै शरीरका अन्य भागमा बिस्तारै फैलने समस्याको कारण लागेको थियो । त्यसबीचमा क्यान्सरको उपचारका लागि गरिएका शल्यक्रिया हाइजिनको समस्याले सफल हुन सकेन । 

जेनेटिक हिसाबले क्यान्सरको पहिचान भने जर्मन जुलोजिस्ट थियोडोर बोभेरीले सन् १९०२ मा गरेका थिए । १९औँ शताब्दीको अन्त्यतिर मारिया क्युरी र पेरी क्युरीले रेडियसन पत्ता लगाएपछि पहिलोपटक नन–सर्जिकल क्यान्सर उपचार प्रभावकारी रूपमा प्रयोगमा आयो ।

जापानका चिकित्सकहरूले दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएको आणविक बम आक्रमणमा मारिएकाहरूको बोन म्यारो पूर्ण रूपमा नष्ट भइसकेको थियो ।

तिनीहरू के निष्कर्षमा पुगे भने बोन म्यारोलाई रेडियसनबाट नष्ट गर्न सकिन्छ । यही निष्कर्षले ल्युकेमियाका बिरामीमा बोन म्यारो प्रत्यारोपणको विकासमा सघाउ पुर्यायो  । सन् १९६८ मा एन्थोनी इप्स्टिन, बर्ट आचोङ र युन बारले पहिलो ह्युमन क्यान्सर भाइरस पत्ता लगाए, जसलाई इप्स्टिन बार भाइरस नाम दिइएको थियो ।

हाम्रो डाक्टर म्यागेजिनबाट
 

Last modified on 2019-08-02 11:51:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts