मेडिकल साइन्सका विद्यार्थी किन रोजिरहेका छन् आत्महत्या ?



Download our app to get more features

पछिल्ला दिनमा चिकित्सा पढ्दै गरेका विद्यार्थीले आत्महत्या गर्ने घटना बढी नै सुनिन थालेको छ । पछिल्लो तीन महिनामा मात्र गण्डकी मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका दुई विद्यार्थीले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।

चिकित्सा शिक्षा पढेर बिरामीको उपचार गर्ने लक्ष्य बोकेर हिँडिरहेका विद्यार्थीमा आफैँ आत्महत्या गर्ने क्रम किन बढ्दै छ भन्ने विषयको बहस जरुरी भएको छ ।
चिकित्सा शिक्षा कठिन र जटिल विधाका रूपमा लिइन्छ ।

करिब ६ वर्षको पढाइ, कतिपय अवस्थामा घरबाट टाढा होस्टेलमा बस्नुपर्ने अवस्था, धेरै मात्रामा आइरहने परीक्षा आदि चिकित्सा शिक्षासँग जोडिएका अप्ठ्यारा पाटाहरू हुन् । यस्तै कारण विश्वव्यापी रूपमै चिकित्सा अध्ययनरत विद्यार्थीमा डिप्रेसनलगायत मानसिक समस्या रहेको पाइन्छ ।

काठमाडौंको किस्ट मेडिकल कलेजमा अध्ययनरत चिकित्सा विद्यार्थीमा गरिएको एक अध्ययनले पनि २९ प्रतिशतमा डिप्रेसन तथा अन्य मानसिक समस्या रहेको तथ्य उजागर गरेको थियोे ।
चिकित्सा विद्यार्थीमा देखिएको यस्तो भयावह समस्याको केही कारण यहाँ केलाउने कोसिस गरिएको छ ।

लामो समय, कठिन पढाइ
चिकित्सा शिक्षाका विषयहरू एमबिबिएस, बिडिएस आदिको पढाइ लामो हुन्छ । करिब ६ वर्षको लगातार पढाइ, बीचबीचमा आइरहने परीक्षालगायतले मानसिक तनाव दिइरहेको हुन्छ । १२ कक्षासम्म पढ्दा राम्रै अंकका साथ पास भइरहेको विद्यार्थी पनि एमबिबिएस परीक्षामा फेल हुन सक्छन् ।

फेल भएपछि पुनः परीक्षा दिनुपर्ने वा कतिपय अवस्थामा एक वर्ष समय गुम्ने पनि खतरा हुन्छ ।

फेरि पनि पास नभएमा अर्को साल पनि गुम्ने र एमबिबिएस सकाउन नै सात–आठ वर्ष लाग्ने पनि हुन सक्छ । यसले विद्यार्थीमा थप मानसिक तनाव सिर्जना गर्ने र आत्महत्याको बाटोसम्म डोर्याउने पनि गर्न सक्छ ।

होस्टेलको बसाइ, कुलतमा फस्ने डर 
प्रायः मेडिकल साइन्सका विद्यार्थी घरबाट टाढा, होस्टेलमा वा साथीहरूसँग बस्ने गर्छन् । यसले गर्दा साथीहरूको संगतमा लागेर वा लहैलहैमा कुलतमा फस्ने चिकित्सा विद्यार्थीको संख्या पनि कम छैन ।

मेडिकल कलेजका होस्टेलमा जाँडरक्सी, चुरोट र गाँजाको समेत प्रयोग हुने समाचार पनि बेलाबेलामा आइरहेको हुन्छ । किस्ट मेडिकल कलेजमा भएको माथि उल्लेख गरेको अध्ययनमा पनि १५ प्रतिशत विद्यार्थीले गाँजा सेवन गरेको पाइएको छ ।

दुव्र्यसन र कुलतमा फस्नु पनि चिकित्सा विद्यार्थीमा आत्महत्याको एउटा प्रमुख कारण हो । 

प्रेम तथा अन्य सम्बन्धमा उतारचढाव
आधुनिकीकरण र उमेरअनुसार युवापुस्तामा देखिने प्रेम सम्बन्ध र धोका पनि आत्महत्याको एउटा कारण हो । घरबाट टाढा र लामो समयको पढाइले चिकित्सा पढ्ने विद्यार्थी मानसिक तनावमा हुन्छन् । यसकै कारण जोडिने हतारको सम्बन्ध कालान्तरमा गएर बिग्रने र त्यसले थप मानसिक तनाव उत्पन्न गराउने गर्छ ।

आम युवापुस्तामा देखिने आत्महत्याको कारण जस्तै चिकित्सा विद्यार्थीमा पनि यो पनि एउटा मुख्य कारण हो ।

काउन्सिलिङको कमी
नेपालको प्रायः मेडिकल कलेजमा काउन्सिलिङका लागि भनेर छुट्टै विभाग छैन ।

चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि आइपर्ने समस्या, मानसिक तनाव र तिनीहरूलाई समाधान गर्न अपनाउनुपर्ने उपायबारे जानकारी दिने ठाउँ छैन । हतास मानसिकता र क्षणभरको निर्णयले आत्महत्या रोज्न बाध्य भएमा विद्यार्थीले उचित सल्लाह सुझाव र ढाडस पाएमा आत्महत्या केही मात्रामा भए पनि न्यूनीकरण गर्न सकिन्थ्यो ।

समाधानका उपायहरू
आत्महत्या रोकथामको सबैभन्दा मुख्य विधि भनेको काउन्सिलिङ, सल्लाह, प्रेरणा र उसको मन अन्तैतिर मोड्ने उपाय अपनाउने हो । त्यसको लागि मेडिकल कलेजहरूमा चिकित्सा विद्यार्थीको काउन्सिलिङको निम्ति छुट्टै विभाग र तालिमप्राप्त काउन्सिलरको आवश्यकता पर्छ ।

परीक्षामा असफल भएका, दुव्र्यसनमा फसेका र मानसिक समस्या भएका विद्यार्थीलाई नियमित काउन्सिलिङ दिन सकिन्छ ।

प्रायः मेडिकल कलेजहरूमा पढाइ, विद्यार्थीका समस्यालगायत विषयमा अभिभावकसँग सम्पर्क र छलफल हुँदैन । नियमित रूपमा यस्तो छलफल र सल्लाहले केही मात्रामा भए पनि आत्महत्यामा कमी ल्याउन सक्छ ।
साथै चिकित्सा विद्यार्थीलाई दुव्र्यसन र कुलतमा फस्नबाट बचाउन मेडिकल कलेजका होस्टेलमा केही हदसम्म कडाइ गर्न जरूरी छ ।

चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीले पनि आफ्नो साथीहरूमा केही त्यस्तो समस्या देखिएको छ भने उसलाई सकेसम्म चाँडो मानसिक रोगका चिकित्सक वा काउन्सिलरसम्म पुर्याउन पहल गर्नुपर्छ ।
चिकित्सा विद्यार्थीमा हुने आत्महत्यालगायत घटना रोक्न कुनै एकजनाको मात्र कदमले सम्भव छैन ।

यसको निम्ति मेडिकल कलेज, अभिभावक र विद्यार्थीले सामूहिक रूपमा पहलकदमी लिनुपर्ने देखिन्छ । साथै मेडिकल काउन्सिलले पनि हरेक मेडिकल कलेजमा चिकित्सा विद्यार्थीको समस्या समाधानका निम्ति काउन्सिलिङ विभाग अनिवार्य हुनुपर्ने व्यवस्था ल्याउन जरूरी देखिन्छ ।

चिकित्सा विद्यार्थीमा हुने आत्महत्याको क्रमलाई कम गर्न पहलकदमी चाल्नुपर्ने वेला आइसकेको छ । नत्र यसले पछि गएर झन् विकराल रूप नलेला भन्न सकिन्न ।

Last modified on 2019-07-31 10:40:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts