मेडिकल पिजीको प्रवेश परीक्षा ढिलाइ भएकोप्रति गोदानको चिन्ता
पिजी अध्ययन/अध्यापनमा ढिलाई हुनु शंकास्पद
काठमाडौं, १७ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि.वि.रा.प्र.) को यस बर्षको स्नातकोत्तर (मेडिकल पिजी) प्रवेश परीक्षामा भएको ढिलाईप्रति सरकारी चिकित्सक संघ (गोदान)को गम्भीर ध्यानाकर्षण भएको छ ।
नियमानुसार असार महिनाभित्र प्रवेश परीक्षाको सूचना सार्वजनिक गरी साउन महिनाको दोश्रो हप्तामा नै पिजी प्रवेश परीक्षा सञ्चालन गरिसक्नुपर्ने गोदानको भनाइ छ । यसलगत्तै भदौ महिनाभित्र भर्ना प्रक्रिया पुरा गरी नियमित पिजी अध्ययन सुरु हुनुपर्ने बताइएको छ ।
तर, हाल साउन महिनाको तेश्रो हप्ता सम्ममा पनि प्रवेश परीक्षाको सूचना समेत सार्वजनिक नभएको भन्दै गोदानले चिन्ता प्रकट गरेको छ ।
यसरी, लामो समयपछि चि.वि.रा.प्र.मा पदाधिकारी नियुक्ति भएको यो बर्ष झनै पिजी अध्ययन/अध्यापनमा ढिलाई हुनु शंकास्पद भएको गोदानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यतिमात्रै नभइ यसले चि.वि.रा.प्र.मा आवासिय चिकित्सकको निरन्तरतामा कमी आउने, वीर अस्पताल लगायतको अस्पतालको स्वास्थ्य सेवाको निरन्तरतामा बाधा आउने उल्लेख गरिएको छ ।
यस्तो ढिलाइले संस्थामा अध्ययन गर्ने सरकारी चिकित्सकहरूको बढुवा लगायतको वृत्तिविकासमा समेत वाधा पुग्ने गोदानको भनाइ छ ।
गोदानले चाडोभन्दा चाडो प्रवेश परीक्षाको सूचना सार्वजनिक गरी भर्ना प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
हेरौं विज्ञप्ति