मनको इच्छा दबाए डिसोसिएटिभ डिसअर्डर


Download our app to get more features
Spark_health_home

धेरैजसो मनोसामाजिक समस्याका कारण व्यक्तिकै मनका अवयवहरू हुन् । मनोवैज्ञानिक भाषामा मनको तीन तह हुन्छन् । तेस्रो अर्थात अन्कन्सियस, दोस्रो अर्थात प्रिकन्सियस र पहिलो अर्थात कन्सियस । 

मनको तेस्रो तहमा व्यक्तिको पुरा हुन नसकेका इच्छा, आकांक्षा, सपना, चाहना, कुण्ठा आदि दबिएर बसेका हुन्छन् । यस्ता तत्वहरूले सजिलो निकास नपाउँदा विकारको रूप लिएर प्रकट हुन्छन् । यसरी पैदा हुने मानसिक समस्यालाई रूपान्तरित विकार भनिन्छ । रूपान्तरित विकारमा व्यक्तिको मन, स्मरणशक्ति, व्यक्तित्व, परिचय र व्यवहारबीचको समन्वय टुटेर असामान्य वा अस्वभाविक लक्षणहरू देखा पर्दछन् ।

vayoda Rastriya Swasthya Shishya suchana tatha sanchar kendra

bp_ad

रूपान्तरित विकार ( डिसोसिएटिभ डिसअर्डर) धेरै प्रकारका छन्, जसमध्ये केही यहाँ उल्लेख छ ।

डिसोसिएटिभ एम्नेसिया
२५ वर्षकी रेनुका ढकाल (नाम परिवर्तित) चितवनको, सौराह घुमघामको लागि जाँदा एक दिन बाथरूममा अचेत अवस्थामा भेटिईन् । उनको श्रीमानले नजिकैको चितवन मेडिकल कलेजमा लगेर उपचारार्थ भर्ना गरे । उपचारको क्रममा होस त आयो तर उनले न त श्रीमानलाई चिनिन् न त आफ्नो नाम, थर र ठेगाना नै भन्न सकिन । उनको टाउकोमा चोट लागेको हो कि भनेर एमआरआई  गरियो तर रिपोर्ट सामान्य आयो । अरू जाँच गर्दा पनि केही पत्ता नलागेपछि मनोचिकित्सकको राय मागियो । मनोचिकित्सकले रेनुकालाई डिसोसिएटिभ एम्नेसिया भएको हुनसक्ने बताए । सम्पूर्ण मनोवैज्ञानिक परीक्षण पश्चात उनलाई केही औषधी दिएर डिस्चार्ज गरियो । घर फर्किएको एक महिनापछि रेनुकालाई सबै कुरा याद आयो । हाल उनी आफ्नो परिवारसँग हाँसीखुसी जीवन बिताइरहेकी छिन् । 

डिसोसिएटिभ फ्युग
१८ वर्षकी मनिता वि.क. (नाम परिवर्तन) काठमाडांै, कलंकीमा बाबुसँग बस्छिन् । उनकी आमा धादिङ्गको दुर्गम गाउँमा अर्कीे छोरीसँग बस्छिन् । मनिताका बाबु पेशाले भरिया हुन् । तर उनी आफूले कमाएको पैसा सबै रक्सीमा खर्चन्छन् । यतिमात्र नभएर रक्सीको सुरमा कतिपटक मनितामाथि यौन हिंसा गरेका छन् । हुँदाहुँदा कतिचोटी उनका जँड्याहा साथीहरूले समेत मनितालाई नराम्रो व्यवहार गर्न खोजे । यी सबै सहन नसकेर मनिता कोठाबाट भागिन् । उनी धादिङ्गबेशी पुगिन् र आमालाई खोज्न थालिन् । केहीवर्ष पहिले उनी आमासँग धादिङ्गबेशी बसेकी रहिछन् । उनी धादिङ्गबेशीमा ४–५ दिन रुमल्लिँदै हिँड्दै गर्दा एकदिन उनको फुपु–फुपाजुले मनितालाई भेटे । तर उनले आफ्नो फुपु–फुपाजुलाई चिनिनन् । बारम्बार सोध्दा उनी हाल आमासँग धादिङ्गवेशीमै बसेको बताइरहेकी थिइन् । कलंकीमा बाबुसँग बसेको र आफूमाथि भएको हिंसाबारे उनलाई केही ज्ञान भएन । उनकै फुपु–फुपाजुको सहयोगमा उपचारार्थ काठमाडांै ल्याएर उनलाई मानसिक अस्पतालमा भर्ना गरियो ।

डिसोसिएटिभ कनभल्जन
१७ वर्षीया स्नेहा चपाईँ (नाम परिवर्तित) लाई बारम्बार मुर्छा पर्ने, हातखुट्टा कडा पार्ने, मुखबाट फिँज निकाल्ने आदि लक्षण देखिएपछि परिवारले उपचारको लागि धेरै ठाउँमा लगे । उनको सिटी स्क्यान, एमआरआइ लगायत सबै जाँच गरियो । सबै रिपोर्टहरू सामान्य थिए, केही रोग देखिएन । उनले केही औषधिहरू खाइरहेकी थिइन् तर पनि बारम्बार मुर्छा पर्ने क्रम रोकिएन । धेरै बेरसम्म उनी बेहोसी अवस्थामै रहन्थिन् । स्नेहाको बुबाले उनलाई मनोरोग क्लिनिकमा लिएर आए । मनोरोग क्लिनिकमा उनीसँग धेरै बेर कुरा भयो । कुराकै क्रममा उनको तनावबारे पनि धेरै कुरा प्रष्ट भयो । उनकी आमाले सिजोफ्रेनिया भन्ने कडा खालको मानसिक रोगको औषधि खाइरहनुभएको रहेछ । उनको बाबु सेनामा कार्यरत हुनुहुन्छ र हाल काठमाडांैमै बस्नुहुन्छ । उनी पाल्पाको एउटा विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । उनकी दिदी भने पोखरामा कक्षा ११ मा पढ्दैछिन् । यी सबै कुरालाई पनि उनले तनावको रूपमा लिएकी थिइन् । बाबु आमाको मायाबाट वञ्चित हुनुपरेको, आफ्ना आवश्यकताहरू पूरा नभएका आदि कारणले उनमा यस्तो समस्या आएको थियो । मनोवैज्ञानिक परामर्श र उपचार पश्चात उनको अवस्था राम्रो हुँदै गएको छ । उनको बाबुसँग पनि यसको बारेमा विस्तृत कुराकानी भएको छ र यो समस्या निराकणका लागि अपनाउनुपर्ने उपायहरू सिकाइएको छ । 

मास कनभर्जन/मास हिस्टेरिया
असार ०७३ मा स्नाकोत्तर तेस्रो वर्षमा अध्ययनरत रहँदा ललितपुरको दुर्गम गाउँ गिम्दीमा जाने साइत जु¥यो । कारण थियो त्यहाँको सरस्वती माविमा फैलिएको अज्ञात रोग । मानसिक अस्पतालबाट एकजना कन्सलटेन्टसहित म र टिपीओ नेपालबाट तीन जना काउन्सलर गिम्दीतर्फ लाग्यौं । वर्षाले अवरूद्ध पारे पनि त्यहाँको स्थिति सहज बनाउने दृढतासहित हामी गिम्दी पुग्यौं । त्यहाँ पुगेपछि थाहा भयो धेरैजसो कक्षा ६, ९ र १० का छात्रामा बेहोस हुने समस्या रहेछ । हाम्रो टोलीले प्रत्येक पीडित विद्यार्थीको मनोवैज्ञानिक जाँच तथा परामर्श ग¥यौं । त्यस्तो समस्या भएका मध्ये कक्षा नौ मा पढ्ने एउटी छात्रा सुरूमा बेहोस भएकी रहिछन् । उनलाई टाउको दुख्ने, आँखा पोल्ने, विस्तारै आँखा नदेख्ने, कमजोरी हुने, खुट्टा गल्ने हुँदै बेहोस् हुने लक्षण देखिएको रहेछ । उनमा त्यस्तो समस्या देखिएपछि विस्तारै त्यस्तै समस्या उनका अरू साथीहरू र अन्य कक्षाका अरु विद्यार्थीमा पनि देखिन थाल्यो । यस्तो अचम्मको समस्या देखिएपछि स्कुलमा पुजाआजा गर्नेदेखि विभिन्न उपाय अपनाइयो तर समस्या ज्यूँ का त्यूँ । कतिपय अभिभावकले पहिले चिहान भएको ठाउँमा स्कुल बनाएकाले त्यस्तो बिपत्ती परेको र स्कुल अन्यत्र सार्नुपर्ने अडान लिए । हाम्रो टोलीले शिक्षक–शिक्षिकासँग कुराकानी गरेपछि प्रत्येक कक्षामा गएर सो रोगको बारेमा बतायौं । यसरी सम्पूर्ण जानकारी गराएपछि र यो कुनै विशेष कडा खालको रोग होइन भनी बुझाउन सफल भयौं । तनावको कारणले यस्तो समस्या हुने हुनाले सबैलाई हामीले तनाव व्यवस्थापनका उपायहरू सिकायौं । त्यसपछि विस्तारै विद्यार्थी बेहोस हुने क्रम रोकियो र अवस्था सहज भएपछि हाम्रो टोली काठमाडांै फर्कियो ।

उपचार
रूपान्तरित विकार अर्थात डिसोसिएटिभ डिसअर्डरको उपचार मनोवैज्ञानिक पद्धतिबाट गर्नुपर्छ । कोग्नेटिभ थेरापी, हिप्नोसिस्, आदि उपचारका विधि हुन् । त्यसो त यस समस्याकै लागि भनेर विशेष औषधि छैन । यस रोगसँग जोडिएर आउने मनोसामाजिक समस्याहरूको निराकरण गरी उपयुक्त औषधोपचार गर्नुपर्छ । यस्ता समस्याहरू नहुन भन्नका निम्ति तनावपूर्ण अवस्थामा काम नगर्ने, तनावलाई सही ढंगले व्यवस्थापन गर्ने आदि कुराहरू सिकाइन्छन् । भुत–प्रेत, वा अन्य कारणले यस्तो समस्या आएको भन्दै खाली धामी–झाँक्री वा ‘माता’ को मात्र भर परेमा समस्याले विकराल रूप लिई उपचारमा कठिनाई समेत आउन सक्छ । त्यसैले सकेसम्म चाँडो मनोचिकित्सक र मनोविदलाई भेटी यो समस्याबाट मुक्ति पाउने उपायको खोजी गर्नुपर्छ ।


डा. सुमनप्रसाद अधिकारी
स्नायु तथा मनोरोग विशेषज्ञ
मनोशास्त्र काउन्सिलिङ एण्ड रिसर्च सेन्टर

Last modified on 2019-08-05 16:57:22

ohm pharmaceuticals samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Nova_adv