मरमसला: जाने ओखती नजाने विष 



Download our app to get more features

धेरै जसो मानिस स्वास्थ्यलाई भन्दा पनि स्वादलाई जोड दिएर खाना छान्ने गर्छन । यस्तो व्यवहारले जिब्रोमाथि न्याय त होला तर पेटमाथि अत्याचार गरेको ठहरिन्छ । त्यसो भन्दैमा जिव्रोलाई मिठो हुने खाना नराम्रो नै हुन्छ भन्ने होइन । विशेषगरी मसलेदार, अमिलो पिरो खाने कुरामा पनि औषधिय गुण हुन्छन् । तर त्यसको गुण र दोष भने पहिचान गर्नसक्नु पर्छ । 

वास्तवमा जति पनि मसला हामी प्रयोग गरिरहेका छौं तिनीहरुलाई तयार गर्न, मिसाउने, पकाउने र खाने तरिकामा विवेक अपनाउने हो भने तिनले अमृत सरह कार्य गर्छन् । तर जिब्रोको लहैलहैमा बहकियो भने मसलेदार खाना कलबिष हुन्छन् । 

हाम्रो भान्सामा जुन तरिकाले मरमसलाको प्रयोग भइरहेको छ, के त्यो तरिका स्वस्थ्यकर र प्रयोग लायक छ त ? यस विषयमा अध्ययन गर्ने हो भने थाहा हुन्छ की हामीमध्ये अधिकांश भान्सेले यसलाई न त स्वादप्रदायक मसला बनाउन सकेका छौं न त रोगनाशक औषधि नै । प्रायः व्यक्ति मसलाको नाममा चलिआएको ढर्रामा प्रयोग गरिरहेका छन् । फलस्वरुप चिकित्सकतुल्य मसला औषधिको सट्टा रोगको कारण बनिरहेको छ । 

मसला बनाउँदा यसो नगर्ने 

  • मसलालाई तातो तेलमा भुट्ने, डढाउने, झान्ने, पड्काउने गर्दा त्यसमा भएको अधिकांश तत्व नष्ट मात्र हुँदैन, अपाच्य र गरिष्ठ बन्छन् । 
  • किसिमकिसिमका मसला एकैचोटि मिसाएर प्रयोग गर्दा तिनको औषधिय गुण कम हुन गई लाभको सट्टा हानी गर्छ । 
  • प्रचलित खानेकुरा जस्तै दाल, तरकारी अचार मासु या पकवान कुन प्रकृति वा स्रोतको खानेकुरा हो, सोही प्रकृतिसँग मिल्ने मरमसलाको प्रयोग गर्न नजाने मसला र मसला प्रयुक्त खाद्य सामाग्री दुबै घातक हुनसक्छ । 
  • कुन चिजका लागि कुन मसला कति मात्र हुनुपर्ने हो त्यसबारे उपयुक्त ज्ञान नहुँदा पनि त्यसको प्रभाव उल्टो पर्न सक्छ । 
  • कुन खाद्यवस्तु पकाउँदा कुन समयमा कतिखेर कतिखेर मसला हाल्ने हो भन्ने नजान्दा पनि त्यसको फाइदा घट्न सक्छ । 
  • ऋतु, समय, मौसम, ठाँउ, उमेर र शरीरगत रोगावस्था हेरी उचित रितले मसलाको प्रयोग गरेमा अवश्यमेव लाभदायक हुन्छ । त्यस्तो गर्नाले मसलाकै कारण रोगमाथि रोग र मलमाथि मल थपिदैं जाने खतरा बढ्छ । 

दिनैपिच्छे र त्यसमा पनि परिकारैपिच्छे प्रयोगमा ल्याइने हुनाले नजिकको तिर्थ हेला भने झै मरमसलाको महत्व पनि ओझेलमा परेको हुनसक्छ । साथै यसका चमत्कारी गुणहरु थाहा नहुन सक्छ । 

जाने औषधि

  • मसला स्वाद, रस, व्यञ्जन, परिकार, मिठास र रुचिका लागि प्रकृतिको सर्वाेत्तम उपहार हो । 
  • मसलामा कुपोषण नियन्त्रण गर्न सक्ने चमत्कारी गुण हुन्छ । 
  • घर आँगन तथा भान्सा परिसरमा सुगन्धित वातावरण बनाई प्रसन्नचित्त रहन मद्दत गर्छ साथै कृत्रिमकीटहरु टाढा भगाउँछ ।
  • खानेकुरा र परिकारलाई सुन्दर, सुस्वादिष्ट, सुमधुर र आकर्षक बनाउँछ । 
  • आयुर्वेद अनुसार मरमसलाजन्य वनस्पतिमा औषधि, अनुपान, रसायन र पोषक तत्वजस्ता गुण हुन्छन् । 
  • जानेर खाँदा महाऔषधि तर नजानी प्रयोग गर्दा मसला विषालु र नसालु वस्तु हो । 

मसला र नुनको स्वादमाथि भ्रमित जिब्रो 
तपाईं यदि मसला र नुन नहालेको खाना खान सक्नुहुन्न भने त्यसको अर्थ हो तपार्इं मसला र नुन मात्रै खाने गर्नुहुँदोरहेछ । किनकी खानेकुराको मूल स्वादले तपार्इंको जिब्रोमा रुचि जगाएको भए वास्तविक स्वाद त त्यो मूल खाद्यवस्तुको लिनुपर्ने हो । वास्तवमा जिब्रो नुन र मसलाको स्वादलाई नै मिठास र स्वादको आधार मान्ने भूल गरिरहेको हुन्छ । मिठास र स्वाद त मुल खाद्ययवस्तुको विशेषता हो ।

तेल, मसला र नुनले त्यसमा केहि स्वाद र रुचि थप्ने काम मात्र गर्छ । अत अबदेखि नुन मसलाको स्वादलाई होइन, खानेकुराको मुख्य घटकको प्राकृतिक स्वादलाई वास्तविक स्वाद मानेर खाने अभ्यास गर्ने कि । 

डा. राजु अधिकारको पुस्तक खाने कसरी पिउने कसरीबाट

Last modified on 2019-08-09 10:13:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts