क्वाँटी धेरै खाएमा पाचन प्रक्रियामा समस्या



Download our app to get more features

आजको दिन क्वाँटी अधिकांश नेपालीको भान्सामा पाक्ने गर्छ । विशेष गरेर जनैपूर्णिमाको दिन झोलिलो बनाएर क्वाँटी खाने परम्परा छ ।  चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका ९ किसिमका गेडागुडीको मिश्रण नै क्वाँटी हो । 

नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटीले मद्दत गर्ने विश्वास गरिन्छ । क्वाँटीमा प्रशस्त प्रोटिन पाइन्छ । अझै गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि पकाएर खाँदा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

विशेषगरी हिन्दु धर्मालम्बीहरुले आजको दिनलाई विशेष पर्व मानेर क्वाँटी खाने गर्छ । तर, क्वाँटीलाई जनैपूर्णीमाको दिनमा मात्रै नभएर अन्य दिनमा पनि खाँदा फाइदा हुन्छ ।

क्वाँटी खानुका फाइदा 
वर्षायाम सकिन लागेसँगै सिजन परिवर्तन हुँदैछ । साउनमा धेरै जनाले माछामासु नखाने भएकाले पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पूरा गर्न यो खादा राम्रो हुन्छ । क्वाँटी रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ । क्वाँटीले पाचनशक्तिमा सुधार आउँछ ।

मधुमेह नियन्त्रणमा सहयोग गर्छ । तर, मधुमेह भएकाले डाइटिसियनसँग सल्लाह लिन आवश्यक हुन्छ ।

यसैगरी, क्वाँटीले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ भने कोलेस्ट्रोल नियन्त्रणमा सहयोग गर्छ ।

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन पनि क्वाँटीको महत्वपूर्ण भूमिका हुन्छ । क्वाँटीको मात्रा मिलाएर खाएमा स्मरणशक्ति वृद्धि पनि हुन्छ । 

के के पाइन्छ क्वाँटीमा ?
विशेषगरी क्वाँटीमा कार्बाेहाईड्रेड, प्रोटिन र फाईबर पाइन्छ । सुष्म पोषक तत्वमा पोेटासियम, फस्फोरस, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट पाइने भएकाले नियमित क्वाँटी खानुपर्छ ।

क्वाँटी धेरै खाए असर 
क्वाँटी धेरै खाएमा पाचन प्रक्रियामा समस्या आउँछ भने पेटबाट ग्याँस धेरै निस्किन्छ । कुपोषित व्यक्तिले खाएमा पखाला लाग्न सक्छ ।

यसैगरी, क्वाँटी मिर्गाैलाको समस्या हुनेहरुमा डाईलासिस गरिरहेकोले खान हुन्छ, तर नगरेकाले खाँदा समस्या आउनसक्छ । युरिक एसिड भएकाले पनि क्वाँटी कम खाँदा राम्रो हुन्छ । 

कस्ता व्यक्तिले बढी खाने ?
गर्भवती, सुत्केरी र मधुमेह नभएका बिरामीले प्रशस्त क्वाँटी खान सक्छन् । 
 

Last modified on 2019-08-16 08:55:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts