सुरक्षित गर्भपतन गराउनेहरु बढ्दै, गर्भपतन गराउनेमा १८ वर्ष मूनिका पनि 



Download our app to get more features

डडेल्धुरा, ३ भदौ  । डोटीमा सुरक्षित गर्भपतन गराउनहरुको संख्या वर्षेनि वढिरहेको एक तथ्याकंले देखाएको छ । विगत तीन वर्षको तथ्याङ्क हेर्दा डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गईरहेको छ । 

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट एक हजार एक सय ६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । डोटी जिल्ला अस्पतालबाट तीन सय तीन, परिवार नियोजन संघ डोटी शाखाको क्लिनिकबाट ६० र जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सूचिकृत १९ स्वास्थ्य संस्थाहरुबाट ८ सय ३ जनाले स्वास्थ्य सेवालिएको सुरक्षित गर्भपतन सेवाको क्षेत्रमा काम गर्ने संस्था सामुदायिक विकास केन्द्रको तथ्याङ्क छ । शैलेश्वरी अस्पतालबाट सेवा लिनेहरुको संख्या जोडिएको छैन । 

यस अघि आर्थिक बर्ष २०७४/०७५ मा एक हजार एक सय २६ र २०७३/०७४ मा ६ सय ३९ जनाले सुरक्षित गर्भपतन सेवालिएका उक्त संस्थाका कार्यक्रम संयोजक दिपिका सिंहले जानकारी दिईन् । डोटी जिल्ला अस्पतालले १८ हप्तासम्मको गर्भ र अन्य स्वास्थ्य संस्थाहरुले नौ हप्तासम्मको गर्भपतन गराउन पाउने ईजाजत पाएका छन् ।

‘पहिले ग्रामिण क्षेत्रमा सूचिकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम थियो, पहुँच थिएन’ डोटी जिल्ला अस्पतालका डाक्टर गिरीश अवस्थी  भन्छन ‘त्यसैले बढी असुरक्षित गर्भपतन हुने गरेको हुन सक्छ ।’  विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्ने उनले बताए । 

उनले एउटै महिलाले एकै वर्षमातीन पटकसम्म सुरक्षित गर्भपतन सेवालिएको बताए । परिवार नियोजनका साधनहरु प्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको संख्या बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर भुषण मिश्र वताउँछन् । श्रीमान् विदेशमा बस्ने भएपछि उनीहरुले परिवार नियोजनका साधनहरु प्रति वास्ता गर्दैनन्’ डा मिश्र भन्छन् ‘तर जब श्रीमान घर आउँछन् अनि अनईच्छित गर्भ रहन जान्छ र गर्भपतन गराउँछन् ।’

गर्भपतन गराउनेमा १८ वर्ष मूनिका पनि

सुरक्षित गर्भपतन सेवा लिनेहरुका १८ बर्ष मूनिका किशोरीहरु पनि रहेको सामुदायिक विकास केन्दकी कार्यक्रम संयोजक दिपिका सिंहले बताईन् । ‘१५/१६ बर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ’ उनले भनिन् ‘गतवर्ष गर्भपतन गराउनेहरुमध्ये २.८० प्रतिशत २० वर्षमूनीका छन । उनले २० देखि २४ वर्ष उमेर समूहका १६.४५ प्रतिशत रहेको वताईन । ४५ बर्ष पुगेका महिलाहरु गर्भपतन गराउन आएको उनको अनुभव छ । 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार १८ वर्षमूनिका किशोरीसंग उसको मञ्जुरी लिई वा नलिई यौन सम्पर्क गरे जवरजस्ती करणी भएको मानिने व्यवस्था रहेकोले १८ बर्ष मूनिका किशोरीहरु गर्भपतन गराउन आउँदा कानूनी दायरामा ल्याउनु पर्ने बताउँछन् डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उनले भने ‘किशोरीहरुबाट लिएको मञ्जुरीलाई मञ्जुरी मानिदैन्, त्यसैले यो क्षेत्रमा कामगर्ने संघसंस्थाहरुले कानूनी कुराहरु पनि जानकारी गराउनु जरुरी छ । 

असुरक्षित गर्भपतन पनि... 

सुरक्षितगर्भ पतनका साथसाथै असुरक्षित गर्भपतन पनि हुने गरेको बताउँछिन् जिल्ला समन्वय समिति डोटीका उपप्रमुख सशी सोवले बताइन । ‘असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै छ’ सोवले भनिन् ‘तर त्यो गैर कानूनी भएका कारण गणनामा आउँदैन् ।’ 

औषधी पसल सञ्चालकहरुले असुरक्षित गर्भपतन गराउने गरेको उल्लेख गर्दै उनले थपिन् ‘एक पटक औषधी व्यवसायीहरु संग समन्वय गर्नु जरुरी छ ।’ परम्परागत हानिकारक अभ्यासहरुबाट पनि असुरक्षित गर्भपतन गर्ने चलन कायमै रहेको सोवको भनाई छ । 

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको, गर्भपतन गराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी ईजाजत प्राप्त चिकित्सकको रायमा अठ्ठाइस हप्तासम्म, जवरजस्ती करणी वा हाडनाता करणीबाट रहनगएको गर्भ भएअठ्ठाइस हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणुु (एआईभी) वात्यस्ते प्रकृतिको अन्यनिको नहुने रोग लागेको अवस्थामा र भ्रुणमा कमीकमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वाजन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खरावी रहेको, वंशाणुगत खराबी वा अन्यकुनै करणले भ्रुणमा अशक्तता हुने अवस्था स्वास्थ्यकर्मीको रायमा अठ्ठाईस हप्तासम्मको गर्भ पतनगर्न पाउने भन्ने व्यवस्था रहेको छ ।
 

Last modified on 2019-08-21 14:58:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts