डडेल्धुराको परशुराममा हैजाको प्रकोपः तीन गाउँमा ८१ बिरामी



Download our app to get more features

डडेल्धुरा, ४ भदौ  । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएको छ । नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला र धादलीफाटाबाट फैलीएको प्रकोप नजिकै रहेकोे गुप्तेगाडा भन्ने गाउँमा पनि देखिएको छ ।

ती तीन गाउँमा अहिलेसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला ‘हैजा’ देखीएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले बताएका छन् । एक जना गर्भवती ७ बालबालीका र अन्य ७३ जनालाई हैजा भएको पुष्टी भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए । ८ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरीरहेको परशुराम नगरपालीका स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए।

‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं।’ उप–संयोजक धामीले भने,  ‘अहिलेसम्म ८१ जनामा झाडापाखला देखिएको छ। जसमध्ये ५ जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको छ । ती मध्य एक जनाको अवस्था गम्भीर छ ।’

साउन २९ गतेबाट सुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। ७३ जना बिरामीको सादनी स्वास्थ्य चौकीका प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जनाइएको छ । ५ बिरामीलाई सो टोलीले जोगबुढा अस्पतालमा रेफर गरेको जनाएको छ। जसमध्ये ४ जना डिस्चार्ज भइसकेको र १ जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ। 

बिरामीको दिशाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखाला ‘हैजा’ कै जिवाणु भेटिएको डडेल्धुरा अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईंले आफू बिदामा रहेको बताउँदै अहिलेसम्म जिल्लाको स्वास्थ्यकर्मीको टोली तथा प्रदेशको स्वास्थ्यकर्मीको टोली पनि उक्त क्षेत्रमा पुगेको जानकारी दिए।

पानिको नमुना परिक्षणमा दिशामा मात्र पाईने व्यक्टेरीया ‘इकोलाई’ भेटीएकाले महामारी यसैबाट फैलीएको र बिरामी आउने क्रम जारी रहेको सादनी स्वास्थ्य चौकी प्रमुख यादवले बताए ।

‘हैजा हो भन्ने पृष्टी भएको छ, पानिबाट आएको हो । यो अहिले नियन्त्रण बाहिर नै छ ।’ उनले भने, ‘बिरामी आएको आए छन् एक क्लिीनीकमा उपचार गर्दै छौ । हामी स्वास्थ्यकर्मी पाँच जना मात्र छौ।’

देखीएको महामारी गम्भीर खालको झाडापखाला ‘हैजा’ भएको र त्यसको समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्ने उनले बताए ।

Last modified on 2019-08-22 06:24:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts