चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यता पुगेको डा. शेरचनको दावी

यस्तो छ सात बुँदे प्रष्टिकरण



Download our app to get more features

काठमाडौं, ६ भदौ । डा. सुरेन्द्र शेरचनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आफ्नो योग्यता पुगेको दावी गरेका छन् । उपाध्यक्ष सिफारिस समितिले उनलाई एक नम्बरमा सिफारिस गरेको थियो । योसँगै योग्यता नै नपुगेको व्यक्ति सिफारिस भएको भन्ने समाचार सार्वजनिक भएपछि डा. शेरचनले शुक्रबार सात बुँदे प्रष्टिकरण दिएका हुन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि डा. शेरचनसहित तीन जनाको नाम सिफारिस भएको थियो । डा. शेरचन पहिलो, दोस्रो नम्बरमा डा. शम्भु पहारी र डा. श्रीकृष्ण गिरी तेस्रो नम्बरमा सिफारिस भएका थिए । सिफारिस भएका तीनै जनाको योग्यतामा प्रश्न उठेको छ । यसैक्रममा डा. शेरचनले आफ्नो योग्यता पुगेको दावी गरेका हुन् । योग्यताका विषयमा उठेको प्रश्नको खण्डन पनि गरेका छन् ।

यस्तो छ शेरचनको प्रष्टिकरण

उपाध्यक्ष सिफारिस समितिले सिफारिस गरेका ३ जनाप्रत्यासी मध्ये वरियताको क्रममा प्रथम स्थानमा रहेको म प्रा.डा. सुरेन्द्र शेरचन निम्न सत्य–तथ्यसहित गलत र भ्रमपूर्ण समाचार खण्डन गर्न स्पष्टिकरण पेश गर्दछु ।

१. तात्कालिन सोभियत संघ, हालको युक्रेनको खार्काेभ मेडिकल इन्स्टिच्युटबाट सन् १९८५ मा एमडि र सन् १९८८ मा साइक्याट्रि विधामा विशेषज्ञता हासिलगरी २०४८ सालबाट सरकारी जागिरमा प्रवेश गरेको हुँ ।

२. २०६४ देखि २०७४ सालमा अनिवार्य अवकाश अन्तर्गत सेवानिवृत्त नभएसम्म देशको एक मात्र केन्द्रीय मानसिक अस्पतालको प्रमुख (निर्देशक) भै कार्य गरे । २०६९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चिविराप्र) अन्तर्गत मानसिक अस्पतालमा एमडि साइक्याट्रि (मानसिक रोग विशेषज्ञ) उत्पादन गर्ने पोष्ट ग्राजुयट प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न २०६९ सालमा सह–प्राधापक र ०७१ सालमा प्राध्यापक पदको उपाधि प्राप्त तथा संयोजक भई कार्यक्रम सञ्चालनमा आएको हो ।

३. २०३९ देखि २०७४ सालसम्म जम्मा ५ वर्षको अवधिमा ३ ब्याचगरी ५ जना एमडी साइक्याट्री डिग्री प्राप्त मनोचिकित्सहरु मेरै संयोजकत्व र प्राध्यापकत्वमा उत्पादन भएका हुन् । यस तथ्यलाई नजरअन्दाज गरी मेडिकल कलेजमा अध्यापन नै नगरेका भन्नु भ्रम फैलाउने कार्य हो ।

४. मेरो डिग्री बारे अवमुल्यन गर्ने प्रयास गरिएको छ । तत्कालिन सोभियत संघबाट साइक्याट्रि विषयमा विशेषज्ञता हासिल गरेको डिग्रीलाई त्रिविबाट स्नातकोत्तर डिग्री सरह निर्धारण गरिएको छ तथा चिविराप्रको प्राज्ञिक परिषद्ले स्नातकोत्तर उपाधिको मान्यता प्रदान गरेको छ ।

५. स्नातकोत्तर तहको डिग्री हासिल गरी २६ वर्ष कार्य अनुभव भएको चिकित्सकलाई स्नातकोत्तर डिग्री हासिल गरी २० वर्षको कार्य अनुभव नभएको भनि प्रस्तुत गर्नु तथ्य जानकारी नलिई प्रस्तुत गरेको देखियो ।

६. दलगत राजनीतिसँग कुनै प्रकारको आबद्धता नरहेको विशुद्ध व्यावसायिक चिकित्सकलाई प्रतिष्पर्धामा प्रथम वरियतामा सिफारिस गरिदा समेत एक जना जनजाति समुदायका चिकित्सकलाई राजनीतिक व्यक्तित्व अमिक शेरचनसँग नाता रहेको विषयसँग जोडि अनावश्यक राजनीतिक रङ्ग दिन खोज्नु दृष्टिदोष भएन र ?

७. केहीवर्ष पहिला मात्र एनएमसिले विशेषज्ञता दर्ता गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको कारणले मेरो पनि सन् २०१५ मा विशेषज्ञताको दर्ता गरिएको यथार्थलाई गलत व्याख्या गरी विशेषज्ञता हासिल गरी २० वर्ष कार्य अनुभव चाहिने मापदण्डसम्बन्धी सन् १९८८ मा नै विशेषज्ञता हासिल गरेका चिकित्सकलाई पुरा नगरेको प्रमाणित गर्न खोज्नु पूर्ण रुपमा खोटपूर्ण छ ।

Last modified on 2019-08-24 10:09:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts