ब्रेस्ट रीकन्स्ट्रक्सनले फर्काएको खुसी...

के हो ब्रेस्ट री कन्स्ट्रक्सन ? कसरी गरिन्छ ? जानौं


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

बोसोलगायत कोषिकाद्वारा निर्मित स्तन स्त्री र पुरुष दुवैमा हुन्छ, तर हर्मोनको बदलावसँगै स्त्रीमा बढी विकसित हुने गर्छ । मातृत्वसँग जोडिएको यो अंगले मूलतः नवजात शिशुका लागि दूध बनाउने काम गर्छ । कारणवश स्तनका कोषिका आवश्यकताभन्दा बढी विकास हुन थाल्यो भने क्यान्सरको जोखिम हुन सक्छ ।

त्यति मात्र नभई महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सरको दर उच्च पनि छ । यही समस्याका कारण धेरै महिलाले बर्सेनि ज्यान गुमाइरहनुपरेको छ । तर, पहिलो स्टेजमै स्तन क्यान्सर पत्ता लगाउन सकिए निको पार्न पनि सकिन्छ । क्यान्सर लागेको थाहा नभई हेलचेक्र्याइँ भएमा भने यसले गम्भीर अवस्था ल्याउँछ । मानिसको बदलिँदो जीवनशैली, अस्वस्थकर परिकार सेवन तथा जीवनयापनका कारण स्तन क्यान्सरको प्रकोप दिनानुदिन बढिरहेको छ । क्यान्सरका बिरामीमध्ये ९० प्रतिशतमा धूमपानकै कारण क्यान्सर लाग्ने गरेको पाइन्छ । 

vayoda

स्तन वा काखीमा गाँठागुँठी देखिनु सबैभन्दा बढी देखिने लक्षण हो । सबै गाँठा क्यान्सर हुँदैनन्, तर क्यान्सर होइन भनेर छुट्याउनुचाहिँ जरुरी छ । महिनावारीसँगै गाँठो सानो–ठूलो नहुनु, धेरै नदुख्नु, गाँठो स्तनभन्दा बढी कडा हुनु, बाहिर छाला वा भित्र मासुसँग जोडिएको जस्तो महसुस हुनु, स्तनको आकार बिग्रिनु, स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रिनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सरतर्फ संकेत गर्छ ।

स्तन क्यान्सरका कारण
रगतको नाता जोडिएका परिवारका सदस्यमा समेत यो रोग लम्बिने भएकाले सन्ततिलाई पनि लाग्न सक्ने जोखिम रहन्छ । मानिसको जिनमा आउने गडबडीले यो रोगको जोखिम उच्च हुन्छ । साथै मोटोपना, शारीरिक शिथिलता, हर्मोनमा आउने गडबडी, हर्मोन प्रयोग भएर बनाइएका औषधि, विकिरणसँगको प्रत्यक्ष सम्पर्क तथा विभिन्न आनुवंशिक रोगले गर्दा पनि यो रोग हुन सक्छ । मूलतः इस्ट्रोजन भन्ने हर्मोनले स्तनको वृद्धिमा भूमिका खेल्छ । यही हर्मोनको अनियन्त्रित रूप नै स्तन क्यान्सरको कारक हो । यस्तै आमा नबन्नु वा ढिलो उमेरमा आमा बन्नुले पनि स्तन क्यान्सरको जोखिम रहन्छ । विलासी जीवनशैली, जन्मिँदा उच्च तौल तथा स्तनमा हुने अन्य रोगले गर्दा समेत क्यान्सरको सम्भावना रहन्छ ।

१. उमेर बढी भएपछि विवाह गर्ने र बच्चा नजन्माउने महिलामा स्तन क्यान्सरको जोखिम रहन्छ ।

२. शरीरको वजन अत्यधिक भएका महिलामा पनि जोखिम रहन्छ । त्यस्तै, धूम्रपान तथा मद्यपानले पनि स्तन क्यान्सर लाग्न सक्छ ।

३. महिलाले आफ्नो स्तनमा असामान्य परिवर्तन भएमा, स्तनमा गिर्खाहरू देखेमा परीक्षण गराउनु जोखिमबाट जोगिने उत्तम उपाय हो ।

४. क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन । शंका लागेमा स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ ।

. नियमित रूपमा व्यायाम गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ । फुर्सद नभए पनि समय निकालेर हरेक दिन बिहान करिब आधा घन्टा व्यायाम गर्नुपर्छ ।

६. बच्चा हुने आमाले नियमित रूपमा बच्चालाई स्तनपान गराउनु स्तन क्यान्सरबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । यसले बच्चासँगै आमाको स्तनलाई पनि फाइदा हुन्छ । स्तनपानले महिलामा एस्ट्रोजोन हर्मोनको मात्रा कम गर्न मद्दत गर्दछ । जसका कारण स्तनमा क्यान्सर कोषिका विकास हुन पाउँदैन ।

७. स्तनमा गाँठागुठी आउनु, स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिपजस्तो पदार्थ बग्नु स्तन क्यान्सरका लक्षण हुन् । यस्तै, स्तन सुन्निनु तथा थिच्दा पीडा अनुभव भएमा पनि स्तन क्यान्सर हुने जोखिम रहन्छ । अन्य लक्षणमा स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रिनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सरतर्फ संकेत गर्छ । धेरै विकसित भइसकेको स्तन क्यान्सरले हड्डी–जोर्नी दुख्ने, अस्वाभाविक तौल कम हुने, शरीरमा बिलिरुबिनको मात्रा बढेर जन्डिस भएर आँखा तथा छालामा पहेँलोपना आउने, खानामा रुचि नहुने, कमजोरी हुने हुन्छ ।

पहिचान कसरी गर्ने ?
क्यान्सरका कुनै लक्षण देखिएमा वा चिकित्सकलाई शंका लागेमा विभिन्न जाँच गरेर पहिचान गर्न सकिन्छ । ४५ वर्षदेखि ५४ वर्षसम्मका महिलाले क्यान्सरको कुनै लक्षण वा शंका नलागे पनि हरेक वर्ष म्यामोग्राम गराउन अमेरिकन क्यान्सर समाजले सल्लाह दिएको छ । ४० देखि ४४ वर्षको हकमा महिलाले इच्छाएको खण्डमा हरेक वर्ष तथा ५५ वर्षभन्दा माथिका महिलाले दुई वर्षमा एकपटक म्यामोग्राम गर्ने सल्लाह दिने गरिन्छ ।

म्यामोग्राम के हो ? 
म्यामोग्राम स्तनको कोषिकालाई चित्रमा देखाउने एउटा प्रविधि हो । यसले स्तनमा देखिने विभिन्न गाँठागुँठीको अध्ययन गर्ने तथा यिनीहरूको आकारमा आउने परिवर्तनलाई नियमित अध्ययन गर्ने गर्छ । यसको प्रयोग क्यान्सर पत्ता लगाउन तथा क्यान्सर नहुँदा जोखिम पत्ता लगाउनसमेत हुने गर्छ ।

अल्ट्रासाउन्डको प्रयोग
हामीले सुन्न सक्नेभन्दा बढी आवृत्तिको ध्वनि प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्बको अध्ययन गरेर स्तनका विभिन्न भागको अध्ययन गरिन्छ । यसबाट गाँठागुँठीलगायत स्तनका अन्य रोग पत्ता लगाउने तथा जोखिम वर्गीकरण गर्ने गरिन्छ । स्तनको गाँठागुँठीकोे सानो मासुको टुक्रालाई प्वाल भएको पातलो सियोको मद्दतले निकालेर (बायोप्सी) परीक्षण पनि गरिन्छ । बायोप्सी जाँचबाट गाँठागुँठी कस्तो अवस्थामा छ र कस्तो उपचार विधि प्रयोग गर्ने भन्ने निर्णय गरिन्छ । यस्तै अल्ट्रासाउन्ड मेसिनबाट गरिने इलास्टोग्राफी जाँचले समेत गाँठोको कडापन जाँच गरेर प्रकृति अध्ययन गर्न सकिन्छ । उपचार सामान्यतया क्यान्सर कुन अवस्थामा छ भन्ने कुराको पहिचानमा भर पर्छ । क्यान्सरको अवस्थाअनुसार स्तन काटेर फाल्नुपर्ने तथा काखीका ग्रन्थि निकाल्नुपर्ने हुन सक्छ । सकेसम्म कम भाग निकालेर स्तनको आकार जोगाइराख्ने अथवा नक्कली स्तन राख्नेसमेत गरिन्छ । औषधि र रेडिएसनको प्रयोगद्वारा समेत यसको उपचार गरिन्छ । क्यान्सरका कोषिकाले हर्मोनसँग देखाउने प्रतिक्रियाका आधारमा समेत उपचार निर्धारण गरिन्छ । क्यान्सरको उपचारसँगै नियमित चिकित्सकसँग जाँच गरिरहनुपर्छ । पहिलो पाँच वर्षमा क्यान्सर पुनः फर्किन सक्ने सम्भावना रहेकाले यो अवधिमा चिकित्सकसँग परामर्श गरेर विभिन्न जाँच गरिरहनुपर्छ ।

स्तनको आफैँले गर्ने जाँचका पाँच विधि
सेल्फ ब्रेस्ट इक्जाम अर्थात् स्तनको आफैँले जाँच गर्ने विधिमा महिलाले स्तनका हरेक भागलाई पालैपालो छामेर जाँच गर्ने गर्छन् । हरेक महिना यस्तो जाँच आफैँ गर्ने तथा कुनै शंका लागेमा चिकित्सकको परामर्श लिने गर्नुपर्छ ।
पहिलो: ऐनाअगाडि कपडा फुकालेर आफ्नो स्तन हेर्ने र कुनै अस्वाभाविक आकार, रङ, डिम्पल, स्तनको मुन्टोको आकार के छ भनेर हेर्ने ।
दोस्रो: अब आफ्नो दुवै हात माथि उचालेर आफ्नो स्तन र काखीलाई नियाल्ने ।
तेस्रो: हातमाथि उचालेको बेला स्तनको मुन्टोबाट कुनै पानी, दूध वा रगत आएको नियाल्ने ।
चौथो: खाटमा पल्टिएर आफ्नो स्तनलाई अर्को पट्टिको हातले नरम र गोलाकार रूपमा हरेक भागलाई छाम्ने । त्यस्तै काखीलाई पनि छाम्ने । यसरी छाम्दा स्तनको कुनै भाग पनि नछुट्ने गरी छाम्ने ।
पाँचौँ: उभिएर वा बसेर चौथो विधिअनुसार स्तनलाई चारैतिर छाम्ने । नुहाउने बेलासमेत यो गर्न मिल्छ ।

ब्रेस्ट रिकन्स्ट्रक्सन 
स्तन क्यान्सर भएर स्तन हटाइसकेपछि नयाँ स्तन पनि राख्न मिल्ने अवस्थालाई ब्रेस्ट रिकन्स्ट्रक्सन अर्थात् नयाँ स्तन बनाउनु भनिन्छ । स्तन क्यान्सरका कारण हटाइएका स्तनको ठाउँमा फेरि स्तनको आकारमै नयाँ स्तन बनाउन सकिन्छ । स्तनको शल्यक्रिया गर्ने समयमै वा शल्यक्रिया गरेको कम्तीमा एक वर्षपछि नयाँ स्तन बनाउन मिल्छ । शल्यक्रियापछि एक वर्षसम्म नियमित किमो लिनुपर्ने हुनाले त्यो समयमा नयाँ स्तन बनाउन मिल्दैन । त्यसकारण शल्यक्रिया गरेको कम्तीमा एक वर्षपछि नयाँ स्तन बनाउन सकिन्छ । 

नयाँ स्तन बनाउनका लागि बिरामीको शरीरको विशेषगरी ढाड र पेटको बोसोयुक्त मांसपेशीको पेशीको प्रयोग गर्ने गरिन्छ । नयाँ स्तन बनाउने समय एक सातासम्म डाक्टरकै निगरानीमा बस्नुपर्ने हुन्छ । नयाँ स्तन बनाउन एक साताजति समय लाग्न सक्छ । 

हुन त नयाँ स्तन बनाउँदा यसको अहिलेसम्म बिरामीमा कुनै पनि साइड इफेक्ट देखिएको छैन । तर, नयाँ स्तन बनाउनु भने महँगो छ । झन्डै डेढदेखि साढे तीन लाखसम्म एउटा स्तन बनाउँदा खर्च लाग्छ । बिरामीको स्तनको आकारअनुसार खर्च लाग्ने गरेको छ । पछिल्लो समय नेपालमा झन्डै ९५ प्रतिशत महिलाको स्तन क्यान्सरका कारण फाल्नुपरेको अवस्थामा यो उपचार विधि फाइदाजनक हुन सक्छ ।

नयाँ स्तन बनाएपछि सहज र खुसी महसुस गरेको छु
सुषमा पासवान (नाम परिवर्तन)
पाँचथर

१० वर्षकै उमेरमा स्तनमा गिर्खाजस्तो आएको थियो, तर खासै वास्ता गरिएन । पछि महिनावारी भएका बेला खुबै दुख्ने हुन्थ्यो र महिनावारी बन्द भएपछि आफैँ निको हुन्थ्यो । समय बित्दै गयो । विवाह भयो, छोराछोरी पनि भए । तर, त्यो गिर्खा निको भएन । पछि स्तनबाहिर घाउ भयो । पिप भरिने हुँदा आफैँले सियोले फुटाइदिने गर्थें । पछि घाउ ठूलो हुन थाल्यो अनि वीर अस्पतालमा उपचार गराउन गएँ । 
झन्डै पाँच वर्षपहिले मात्रै स्तन क्यान्सर भएको पत्ता लाग्यो । अनि डाक्टरले अब तपाईंको स्तन काटेर हटाउनुपर्छ भन्नुभयो । त्यो बेलासम्म श्रीमान्सँग छुट्टेर बस्न थालेको थिएँ । छोराबुहारी र छोरीज्वाइँ हुनुहुन्छ । छोराबुहारीले सधैँ सपोर्ट गर्ने गर्छन् । सिलाइ–बुनाइको काम गर्ने मलाई स्तन काटेर हटाएपछि अप्ठ्यारो महसुस हुन्थ्यो । एक वर्ष घरबाहिर कतै गइनँ ।
उमेर पनि ढल्दै गएको हुँदा अब त के नै हुन्छ र भन्ने सोचेँ । पछि एक वर्षपछि काम गर्न जाँदा कपडाको टालो राखेर अर्को स्तनको आकार बनाएर जान थालेँ । काम गर्न जाँदै गर्दा सामाजिक सञ्जालमार्फत नयाँ स्तन पनि बनाउन पाइन्छ भन्ने थाहा भएर नेपाल क्यान्सर हस्पिटल पुगेँ । त्यहाँ डा. प्रफुलसँग जाँच गराउँदा नयाँ स्तन बनाउन पाइन्छ भनेर भन्नुभयो । पछि उहाँकै सल्लाहअनुसार केही सामान्य जाँच गराएर नयाँ स्तन बनाइयो ।
लगभग दुई वर्ष हुन लाग्यो स्तन बनाएको । खुसी छु । पहिलेको जस्तै सहज भएको छ । नियमित जाँचका लागि मात्रै हो जाने, अरू अप्ठ्यारो केही छैन । 

विनिता शाह (नाम परिवर्तन)
कञ्चनपुर

म अहिले ४९ वर्षको भएँ । विवाह भएको ११ वर्षपछि स्तनको बाहिरी भागमा पिप जमेजस्तो घाउ देखियो । अनि मेडिकलमा गएर आफैँले औषधि किनेर खाएँ । तर, केही समय मात्रै त्यो औषधिले सञ्चो भयो । पछि घाउ झन् ठूलो हुँदै गयो । अब गाउँमा सञ्चो नभएपछि काठमाडौं आएँ । काठमाडौं आएर नेपाल क्यान्सर हस्पिटलमा जाँच गराउँदा स्तन क्यान्सर छ भनेर डाक्टरले भन्नुभयो । 
अनि उपचार सुरु भयो । स्तन काटेर हटाउने बेलामै मलाई डाक्टरले तपाईंको नयाँ स्तन पनि बनाउन सकिन्छ भनेर भन्नुभएको थियो । म फेरि समाजसेवीका रूपमा हिँडिरहनुपर्ने हुन्छ । त्यही भएर हुन्छ भनेर शल्यक्रिया गर्ने समयमै नयाँ स्तन बनाइयो । अहिले जे होस् नयाँ स्तन बनाएको एक वर्ष भएको छ । म खुसी छु र अरू महिलालाई पनि स्तन नभएरै लाज मान्ने वा कपडा लगाएर बस्नुभन्दा नयाँ स्तन बनाउँदा हुन्छ भनेर भन्न चाहन्छु ।

Last modified on 2019-08-28 08:16:15

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag