देशको स्वास्थ्य क्षेत्रः कर्मचारी समायोजन लथालिंग,  डेंगुले भयावह रुप लिँदै



Download our app to get more features

काठमाडौं, १३ भदौ । यतिबेला देशको स्वास्थ्य क्षेत्र समस्या नै समस्याको जालोमा रुमलिएको छ । न त महिनौं अगाडिदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको कर्मचारीको समायोजन टुंगाएको छ नत डेंगुको संक्रमण नै नियन्त्रण गर्न सफल भएको छ । 

स्वास्थ्यलाई यी दुवै कुराको समाधान गर्दा हम्मेहम्मे परेको छ । पछिल्लो समय स्वास्थ्यको समायोजनको काम कछुवाको गति बराबर भएको छ। अर्कातिर डेंगुको नियन्त्रण एक्लै गर्न नसक्ने भएको भन्दै हारगुहार मागिरहेको छ । 

स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रण गर्न नसकेको स्वीकार गरेको छ । साथै, डेंगुका बिरामीको उपचार गर्न सक्ने तर नियन्त्रण गर्न नसक्ने बताएको छ । स्वास्थ्य मन्त्रालयले मात्रै डेंगु नियन्त्रण गर्न नसक्दा अरु मन्त्रालयसँग पनि समन्वय गर्नका लागि पहल सुरु गरेको छ । 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सचिव डा.पुष्पा चौधरी र प्रवक्ता महेन्द्र श्रेष्ठले देशैभर फलिएको डेंगु नियन्त्रण स्वास्थ्यले मात्रै नियन्त्रण गर्न नसकेको स्वीकार गरे । 

डेंगु नियन्त्रणबारे भएको छलफलमा प्रवक्ता श्रेष्ठले डेंगु नियन्त्रण चुनौतिपूर्ण रहेको बताए ।

यो वर्ष भाद्र ११ गतेसम्म ४ हजार ९ सय ६२ जनामा डेंगु देखिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

साथै डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान ८५ वटा स्थानीय तहमा सञ्चालन गरिएको पनि महाशाखाले जनाएको छ । तर, पनि डेंगु नियन्त्रण हुन सकेको छैन । साथै किट तथा किटजन्य रोग नियन्त्रणका लागि ६ करोड १७ लाख विनियोजन भएको छ । तर, बजेट खर्च र खोज र नष्ट गर्ने अभियानको प्रभावकारितामा भने प्रश्न उठेको छ ।  

डेंगु नियन्त्रणको काममा चुनौति थपिनुमा कता–कता कर्मचारी समायोजन नसकिनु पनि देखिएको छ । त्यसैगरी, देश संघिय संरचनामा जाँदा स्थानीय निकायसंग डेंगु नियन्त्रण गर्न आवश्यक जनशक्ति छैन । 
संघ भन्छ ‘हामीले स्थानीय तहलाई अधिकार दिएका छौं, आवश्यक परे सहयोग गर्ने हो ।’ 

सुनसरीको एक ठाँउबाट सुरु भएको डेंगुको संक्रमण अहिले ४२ जिल्लामा फैलिसकेको छ ।

यो वर्ष डेंगुका बिरामी ११ भाद्रसम्म ४ हजार ९ सय ६२ जनामा डेंगु देखिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

समायोजनले भेक्टर कन्ट्रोल निरीक्षकलाई बेकाम बनायो

किट तथा किट जन्य रोग फैल्याउने लामखुट्टेको नष्ट गर्न बनेको भक्टर कन्ट्रोल निरिक्षक अहिले काम विहिन भएका छन् । जसले प्रभावित क्षेत्रमा रहेर डेंगु तथा कालाजार रोगको संक्रमण फैलाउने लामखुटेको विनाश गर्थे । 

संक्रामक रोग नियन्त्रणका लागि सरकारले देशभरका २२ जिल्लामा भेक्टर कन्ट्रोल निरीक्षकको व्यवस्था गरेको थियो । कर्मचारी समायोजनसँगै यी भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दी कहाँ हुने भन्ने अस्पष्टताले देशभर डेंगु लगायतका संक्रामक रोग फैलिरहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासनीका अनुसार संघिय संरचनामा मुलुक जानुभन्दा अघि तराईका २२ जिल्ला सहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा भेक्टर कन्ट्रोल निरिक्षकको व्यवस्था थियो ।

साथै पाँचै वटा क्षेत्रीय निर्देशनालयमा एक–एक जानको दरबन्दी पनि थियो । यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ३ जनाको दरबन्दी रहेको थियो । तर, अहिले यो दरबन्दिका  कर्मचारी फाजिलमा छन् । समायोजनले उनीहरु जिम्मेवारी विहीन बनेका छन् । जसका कारण संक्रामक रोग देशभर फैलिरहेको डा.मरासनी बताउँछन् ।

भेक्टर कन्ट्रोल निरीक्षकको जिम्मेवारी
निरिक्षकहरुले गाँउ–गाउँमा डेंगुका बिरामी देखिन साथ सिडिसि ट्रयाप राखेर लामखुट्टे नष्ट गर्ने गर्थे । मरासनीका अनुसार निरीक्षकहरुले बिरामीको तथ्यांक संकलन पनि गर्थे ।

जसले उपचार प्रक्रिया छिटो र प्रभावकारी हुन्थ्यो । तर,समायोजनले हाल यो काम गर्नेलाई काम विहीन बनाएको छ । 

लामखुट्टे मार्ने विषादी छर्न जो कोहिले मान्दैन । जसका कारण पनि भेक्टर कन्ट्रोल निरिक्षकको विकल्प छैन । 

यता कर्मचारी समायोजनले गर्दा विभिन्न दुर्गम ठाँउका ठूला भनिने अस्पतालहरु नै चिकित्सक विहीन भइरहेका छन् । समायोजनको काम स्वास्थ्यले एक तिहाइ पनि सकेको छैन् । तर स्वास्थ्य मन्त्रालयले भने कर्मचारीलाई एउटै सन्देशको सूचना बेला–बेलामा जारी गरी समायोजन पछिको पदस्थापना नहुन्जेल यथास्थानमा रहेर काम गर्न भनिरहेको छ । 

संघीय संरचनामा कर्मचारीको व्यवस्थापनका लागि भन्दै गरिएको कर्मचारी समायोजनका कारण कास्किको एक मात्र मातृशिशु अस्पतालमा पनि चिकित्सक अभाव भएको छ ।

समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि कर्मचारीकै अभावमा जिल्लाको एक मात्र मातृशिशु मितेरी अस्पलातमा चिकित्सक अभाव भएको हो । त्यस्तै सुदूरपश्चिमा पनि समायोजनपछि अस्पतालहरु चिकित्सकविहीन हुने अवस्थामा पुगेका छन् ।

यस क्षेत्रबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापना भएको तर यस प्रदेशमा एक जना मात्र विशेषज्ञ डाक्टरको पदस्थापना हुने सूचि प्रकाशन भएको छ । प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुरा अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि सबै रिक्त रहेको छ ।  

अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा १३ जना मात्र मेडिकल अफिसर थिए । 

यी त केही उदाहरण मात्र हुन । देश भरका विभिन्न स्थानमा कर्मचारी अभाव हुँदा स्वास्थ्य मन्त्रालय मुकदर्शक बनेको छ । मन्त्रालयको एक मात्र रटान छ 'अस्पतालहरुमा समायोजनले  कर्मचारी अभाव हुने अवस्था छैन । '

अस्पतालमा कार्यरत चिकित्सकलाई अन्यत्र पदस्थापन गर्ने र रिक्त रहेको पदमा नयाँ कर्मचारी नपठाउने गरेकाले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको जनाइएको छ ।
 

Last modified on 2019-09-12 12:10:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts