२ हजार ५ सयलाई भयो डेंगु संक्रमण, महामारी नै भइनसकेको चिकित्सकको दावी



Download our app to get more features

काठमाडौ, भदौ २० । देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा बोल्दै चिकित्सकहरुले रोग नियन्त्रणका लागि घर देखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको जानकारी दिएका हुन् ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक कुमार लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २ हजार ५ सय ५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथांक प्रस्तुत गरे । हालसम्म प्रदेश १ मा ७ सय ५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १ हजार ९३ जना, प्रदेश ४ मा ५ सय ७२ जना, प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको उनले बताए । यो रोगबाट कास्की, मकवानपुर, सुनसरी,चितवनमा बढी संक्रमण देखिएको छ ।


डेंगुबाट चार जनाको मृत्यु भईसकेको जानकारी दिदै उनले भने–उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुनुपर्छ । अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको जानकारी गराए । उनले रोग नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै गैर सरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भईरहेको जानकारी दिए । लाले भने– देशभरका स्थानीय तहमा न्यूनतम ८७ लाख र अधिकतम ८९ लाख बजेट छुट्याएको र हालसम्म ८५ वटा स्थानीय तहमा बजेट विनियोजन गरिएको छ । 
यो रोगबाट गत वर्ष ३ जनाको मृत्यु भएको पनि उनले जानकारी गराएका थिए । विरामीहरुमा डेंगु संक्रमणको कारण मात्र नभई स्क्रब टाइफस, कलेजोको रोग, उच्च रक्तचाप, मृगौलाको संक्रमण जस्ता कारणहरुबाट पनि विरामीको मृत्यू हुने गरेको उनले बताए ।

लाम्खुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने,आखाँको गेडी दुख्ने जानकारी गराए । बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने, बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिने जानकारी दिए ।

शुक्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए । उनले भने–डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ । तर, अहिलेको डेंगु संक्रमण गम्भीर खालको नभएको जानकारी दिए । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने बताए । उनले आफू कार्यरत रहेको अस्पतालमा भदौ १९ गते २५० जनालाई उपचार गरेकोमा १ सय १७ जनामा डेंगु संक्रमण देखिएको जानकारी समेत गराए । विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । विरामीहरुमा अन्य संक्रमण भएको कारण सबै विरामी डेंगु संक्रमणबाट मृत्यु भएका होइनन भन्ने उनको भनाई रहेको छ । उनले भने–डेंगु संक्रमण क्लासिकल लाम्खुट्टे र सेविसियल लाम्खुट्टेको टोकाइबाट मात्र डेंगु संक्रमण हुन्छ ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने उनले बताए । यसका लागि संगठनिक संरचना कमजोर भएको, जलवायु परिवर्तन यसका मुख्य कारण बताए । लाम्खुट्टेको अध्ययन गर्दा यो २० वर्ष भन्दा पहिले भित्रिएको बताए । त्यसभन्दा पछाडि नभएको र यसबाट बच्नका लागि लाम्खुट्टेको सर्भे गर्ने सांगठनिक संरचना बलियो बनाउँदै जाने, लाम्खुट्टेले मार्ने काम कुन निकायको हो निर्धारण गर्ने, देशमा लाम्खुट्टेको रिसर्च गरेर नियन्त्रण उपाय पत्ता लगाउनुपर्ने बताए । उनले भने–सबैभन्दा बढी संक्रमण हुनमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ, स्कुल, कलेज, स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण हुन्छ । डेंगु संक्रमण रोकथामका लागि नगरपालिकाले आदेश दिएर सरकारी अड्डा, स्कुल कलेजमा सफा गर्न लगाउने र सबै क्षेत्रबाट सरसफाईका लागि विशेष भूमिका निभाउन सके रोगवाट बच्न सकिने जानकारी दिए । नगरपालिकाले घरको नक्शा पास गर्दा अनिवार्य घरको झ्याल ढोकामा जाली हाल्नुपर्नेमा जोड दिए ।

Last modified on 2019-09-07 13:10:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts