डेङ्गु नियन्त्रणमा उदासीन सरकारः उपचार निर्देशिकासमेत नबन्नु लज्जास्पद


Download our app to get more features
Spark_health_home Birat Hospital

देश अहिले डेङ्गुको चपेटामा रहेको छ । इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भाद्र २२ गतेको बुलेटिन अनुसार ३ हजार ८ सय ९९ जनमा डेङ्गु देखिएको प्रमाणित भएको छ भने यसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । तर यो तथ्यांकभन्दा स्थिति निकै भयावह रहेको समाचार आइरहेका छन् । घटनाक्रम, आम मानिसहरुमा देखिएको सन्त्रास र अस्पतालहरुमा देखिएको संक्रमितहरुको संख्याले पनि डेङ्गु नियन्त्रणमा आउन सकिरहेको छैन भन्ने देखाउँछ । उसो त त्यो सरकारी संयन्त्रमा आएको तथ्यांक मात्र भएको र यकिन संख्या त्योभन्दा धेरै नै रहेको कुरामा दुइमत छैन । देशभरका अस्पतालमा डेङ्गुका बिरामी उपचार गराइरहेका छन् र यसले बहालवाला मन्त्रीदेखि चिकित्सकलाई समेत छोडेको छैन ।

डेङ्गु आउटब्रेक सम्भावित परिघटना

vayoda

bp_ad

एडिज भनिने प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोग नेपालमा नियन्त्रण कार्यक्रम रहेको किटजन्य रोगमध्ये एक हो । बिगतमा सन् २००६ र २०१० मा पनि नेपालमा देखिएको डेङ्गु आउटब्रेक(महामारी) देखिएको थियो भने केही वर्षयता यो रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य सेवा विभागको एनुअल हेल्थ रिपोर्टले देखाउँछ । विश्व स्वास्थ्य संगठनकै तथ्यांकले पनि सन् २०१५ यता डेङ्गुले विभिन्न देशहरूमा महामारीको रुप लिएको र सबै देशहरूलाई यो रोगबाट बच्न र महामारी फैलिन रोक्न सुझाव दिएको छ । त्यसैले हाम्रो देशमा अहिले डेङ्गुको संक्रमण बढ्नु एक्कासी आएको परिस्थिति नभई एउटा सम्भावित परिघटना नै रहेको तथ्यहरुले देखाउँछ । यसको आवश्यक पुर्वतयारी र रोग नियन्त्रणमा खेल्नुपर्ने भुमिकामा हाम्रो सरकारी संयन्त्र केही चुकेको देखिन्छ ।

बढ्दो संक्रमण पछिको तदारुकता
कुनै पनि किटजन्य र सरुवा रोगहरुको संक्रमण देखिएपछि त्यसलाई नियन्त्रण गर्न स्वास्थ्य संयन्त्र यथाशीघ्र चाँडो लाग्नुपर्छ । र्यापीड रेस्पोन्स टीम बनाउने, किटको श्रोत पहिचान गर्ने र त्यसलाई नष्ठ गर्ने, संक्रमितहरु पहिचान गरेर तुरुन्त उपचार प्रक्रियामा लैजाने र भविष्यमा यसको संक्रमण रोक्न आवश्यक उपायहरु अपनाउनु कुनैपनि आउटब्रेक रोक्ने आधारभुत नियमहरु हुन् । तर किटजन्य रोग नियन्त्रणको जिम्मेवार इपिडिमेयोलोजी तथा रोग नियन्त्रण महाशाखाको काममा तदारुकता र प्रभावकारिता देखिएको छैन । संक्रमितहरु बढ्दै जानू, रोगबाट मृत्यु हुनेको संख्या बढ्नु र नियन्त्रणका काम ठोस प्रभावकारी नहुनुले हाम्रो संयन्त्रमै कमजोरी देखाउँछ ।

रोगको पहिचान र उपचारको निर्देशिका
डेङ्गुको मुख्य लक्षण भनेकै ज्वरो र अन्य भाइरल फ्लु जस्तै देखिने हुन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार डेङ्गु लागेको चार जनामध्ये एकजनामा यसको लक्षण देखिन्छ । प्रायमा लक्षण सामान्य खालको हुन्छ भने केहिमा भने केही घन्टामै ज्यान लिनसक्ने खालको डेङ्गु हेमोरेजिक फिभर र डेङ्गु सक सिन्ड्रोम भनिने ज्यानै जानसक्ने अवस्थामा पुर्याउन सक्छ । यी बिरामीहरुको तुरुन्त अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिहाल्नुपर्छ । 

विशेषतः रोगको पहिचान, निदान कसरी गर्ने भन्ने हरेक देशको आफ्नै निर्देशिका हुन्छ । अझै कुनै रोगको प्रकोप देखिएको अवस्थामा मिल्दोजुल्दो लक्षण देखिएमा के गर्ने, कसलाई उपचार गर्ने, कसरी उपचार गर्ने भन्ने विशेष निर्देशिका नै तयार गरिन्छ । अहिले देखिएको डेङ्गुको प्रकोपमा उपचार र रोग पहिचानको राष्ट्रिय कुनै निर्देशिका रहेको जानकारीमा आएको छैन । अझै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त र्यापीड डायग्नोस्टिक(द्रुत परीक्षण) किटको माग अत्याधिक बढेकाले विज्ञहरुको रायले यो आवश्यक र उपयुक्त नहुने भन्दै सूचना जारी गरेको छ । कुनै पनि रोगको प्रकोपको बेला चाँडो रोग पत्ता लगाउन र्यापीड डाग्नोस्टिक किटको प्रयोग गरिन्छ । रोगको यकिन पहिचान गर्न अन्तिम विकल्प यो नभए पनि चाँडो रोग पत्ता लगाउन र उपचार सुरु गरिहाल्न यो प्रभावकारी रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । कुनैपनि ज्वरो आएको बिरामीलाई अहिलेको अवस्थामा के के जाँच गर्ने, कुन जाँचको मात्रा गडबड आएमा भर्ना गर्ने, कस्तो खालको उपचार गर्ने निर्देशिका बनाएर सार्वजनिक गर्नुपर्ने अवस्थामा यस्तो यस्तो सूचना निकाल्नु निश्चय नै महाशाखाको गैरजिम्मेवार कदम हो ।

कर्मचारी समायोजनको प्रभाव 
स्वास्थ्यको कर्मचारी समायोजन अझै सम्पन्न भैसकेको छैन । समायोजनपछि विकेन्द्रीकरणको कारण जिल्ला जनस्वास्थ्य कार्यलयको अधिकारक्षेत्रमा फेरबदल आएको छ । स्थानिय निकायमा जनस्वास्थ्य अध्ययन गरेका विज्ञहरु नियुक्त भएका छैनन । एकातिर कर्मचारीको कमी र अर्कोतिर भएका स्वास्थ्य कार्यालयको अधिकार क्षेत्रको फेरबदलले अहिले देखिएको डेङ्गुको प्रकोपलाई थप जटिल बनाउन मद्दत गरेको छ । त्यसैले जतिसक्दो चाँडो यो समायोजन टुङ्गयाउन र आवश्यक कर्मचारी नियुक्त गर्न स्वास्थ्य मन्त्रालय डटिएर लाग्नुपर्ने देखिएको छ ।

अन्त्यमा,
नेपालमा प्रकोप र महामारी देखिएको यो पहिलो पटक हैन । विश्वका विकसित देशहरूमा यस्ता सरुवा र किटजन्य रोगहरु प्राय हराइसकेका छन । हामी भने एकातिर सरुवा तथा संक्रमणजन्य रोगहरुको महामारीमा पिल्सिएका छौ भने अर्कोतिर नसर्ने रोगहरु पनि पछिल्लो समयमा मृत्युको मुख्य कारण बनिरहेको छ ।

चाहे २००९ मा जाजरकोटमा देखिएको हैजाको महामारी होस् वा पश्चिम नेपालमा बेलाबेला देखिइरहने अज्ञात रोगको प्रकोप होस्, हरेकपटक हाम्रो पुर्वतयारी र प्रकोपपछि नियन्त्रणको निम्ति गरिने प्रयास अपुग र युद्दस्तरमा नभएको देखिन्छ । यसपालीको डेङ्गुको प्रकोपमा पनि सोही नियती दोहिरिएको छ । तर पनि अझै ढिला भएको छैन । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय, निजी स्वास्थ्य संस्था तथा यस क्षेत्रमा काम गर्ने हरेकले डेङ्गुको प्रकोप थप फैलिन नदिन सावधानी अपनाउने र आआफ्नो स्थानबाट पहल गरेमा यसलाई नियन्त्रण गर्न धेरै कठिन छैन । 
 

Last modified on 2019-09-11 09:36:16

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts