डेङ्गुबारे भ्रममा नपर्न चिकित्सकको सुझाव, डेंगुबाट नै ज्यान गएको यकिन भएको छैन !



Download our app to get more features

डेङ्गुबारे भ्रममा नपर्न चिकित्सकहरुको भनाइ डेंगुबाट नै ज्यान गएको यकिन भएको छैन
काठमाडौं, २ असोज । देशभर डेङ्गुको त्रास बढिरहँदा चिकित्सकहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । डाक्टरहरुले डेङ्गुका कारण मृत भएका भनिएकाहरुको ज्यान जानुको कारण डेङ्गुनै हो भन्ने यकिन नभइसकेको बताए । 

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवका सल्लाहकार तथा जनस्वास्थ्य विज्ञ डा. के. के. राईले डेङ्गुबाट त्रसित हुनु नपर्ने बताए । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै उनले यसको रोकथामको उपाय रहेको बताए । उनले भने,‘डेङ्गु नियन्त्रणका लागि तीनै तहको सरकारले आवश्यक कदम चालिसकेको छ । लामखुट्टेको प्रजातिबाट सर्ने रोग भएकाले त्यस्ता लामखुट्टे बन्न नदिने उपायबारे व्यापक जनचेतना चलाइएको छ ।’ 

रोग फैलाउने लामखुट्टे नियन्त्रणको लागि सबैले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने बताउँदै उनले त्यसमा आम जनसमुदायको साथ हुनुपर्ने बताए । उनले भने, ‘रोग नियन्त्रण सरकारबाट मात्र सम्भव छैन, सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ डेंगु रोगविरुद्ध सिंगो देश एकजुट हुनुपर्नेमा उनको जोड थियो । 

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु रोग त्रसित हुनुपर्ने खालको नभएपनि काठमाडौंलगायत देशका पहाडी भेगमा नयाँ भएकाले त्रास उत्पन्न भएको बताए ।

उनले भने,‘यो महामारी होईन, धेरै नेपालीका लागि नयाँ भएकाले त्रास उत्पन्न भएको हो ।’ डेङ्गु रोगको पहिचान गरी समयमै उपचारमा लाग्न सकिने बताउँदै उनले यो रोग निको हुने खालको भएको र एक अर्कालाई नसर्ने स्पष्ट पारे । उनले भने, ‘यो सरुवा रोग होइन ।’

डा. बास्तोलाले डेङ्गुले टोकेको चारदेखि दश दिनमा लक्षण देखापर्ने, १० हजार जनालाई टोकेमा १ हजारमा डेङ्गु हुने र सातदेखि दश दिनसम्म यसका लक्षण शरिरमा रहने, १ हजारमा पनि ५ सयलाई फ्लु हुने, ५ सयलाई डेङ्गु हुने जानकारी दिए । 

उनले अस्पतालमा डेङ्गु रोगीमात्र नभएर स्क्रब–टाइफसका रोगी देखिएको बताए । उनले डेङ्गु रोगका कारण बिरामीमा रक्तश्राव हुने तथा जटिल लक्षण देखा परेकोलाई मात्र अस्पताल भर्ना गर्ने गरेको सुनाए । 

उनले भने,‘डेङ्गु रोगका कारण मानिसको मृत्यु भइहाल्ने होइन ।’ रोग लागेपछि झोल पदार्थ र सिटामोल खान भन्दै जुन पायो त्यो औषधीको प्रयोग नगर्न पनि उनले सुझाव दिए । यो रोग लाग्दा शरीरमा सेतो रक्तकोषिकाको मात्रा घट्दै जाने, खान मन नलाग्ने, अत्यन्त पीडा हुने र अन्तमा रक्तश्राव हुने लक्षण देखापर्ने पनि उनले जानकारी दिए । 

उनले बिरामीको कलेजो, मृगौलामा समस्या देखा परेमा आइसियूमा राखेर उपचार गर्ने गरेको जानकारी गराए । डेङ्गु रोगका कारण मिडियाले भ्रम फैलाएको हुँदा सामान्य विरामीहरु पनि डेङ्गुको डरले अस्पताल जाने गरेको उनको भनाई छ । 

सरुवा तथा संक्रामक रोग अनुसन्धान विशेषज्ञ डा.जीवनबहादुर शेरचनले पोथी लामखुट्टेले लीड गर्ने क्रममा मानिसलाई टोक्यो भने डेङ्गु रोग लाग्ने बताए । 

डेङ्गु रोग पोथी लामखुट्टेले टोक्यो र त्यो लामखुट्टे रोगी भएमात्र मानिसमा यो भाइरल सर्ने हुँदा यसमा धेरै नआत्तिन पनि उनले आग्रह गरे । लामखुट्टेले  जापानीज इन्सेफेलाइटिस, स्क्रब टाइफस जस्ता रोग सार्ने गरेको उनले सुनाए । 

हालसम्म पाँच किसिमका लामखुट्टेका कारण डेङ्गु रोग लाग्न सक्ने अनुसन्धानबाट पत्ता लागेको उनले जानकारी दिए । नेपालमा डेङ्गु–२ को संक्रमण रहेको र यसलाई पचाउन नसकेमा डेङ्गु–३ लाग्ने उनको भनाई थियो । 

डेङ्गु जो कोहीलाई नहुने र रोगसँग लड्ने क्षमता कमजोर भएका मानिसहरुमा यो रोग बढी देखिने गरेको उनले जानकारी गराए । नेपालमा हालसम्म डेङ्गुका कारण आठ जनाको मृत्यु भएको खबर आएपनि डेङ्गुकै कारण विरामीको मृत्यु भएको भन्ने यकिन नभएको जिकिर गरे । उनले भने,‘डेङ्गुका कारण हो या अन्य कारणले भएको हो अध्ययन भइरहेको छ ।’ 

Last modified on 2019-09-20 07:34:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts