तराईमा बढे एचआईभी संक्रमित, नारायणी अस्पतालमा मात्र एकहजार भन्दा धेरै बिरामी



Download our app to get more features


पर्सा १३ असोज । एचअआईभी एड्स रोकथामका लागि विभिन्न कार्यक्रमहरू गरिँदै आएपनि तराईका जिल्लामा एचआईभी एड्स संक्रमितको सख्या भने बढ्न थालेको छ ।

असुरक्षित यौनसम्पर्क, वैदेशिक रोजगारी, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्क लगायतका कारणले पर्सा जिल्लामा एचआईभी संक्रमित बढेका हुन् । जिल्लाको नारायणी अस्पतलबाट एआरटी सेवा लिने एचआईभी एड्स संक्रमित व्यक्तिको संख्या बढ्दै गएको तथ्यांक देखिएको छ । 

पर्सा जिल्लामा एआरटी सेवा नारायणी अस्पतालमा मात्र उपलब्ध छ । अस्पतालबाट १ हजार १ सय ७० जनाले एआरटी सेवा लिइरहेका छन् । तर अहिले नियमित औषधि लिइरहेका बिरामीको संख्या भने ७ सय ३० जनाको हाराहरीमा रहेको छन् । जसमध्ये ४ सय ३ जना पुरुष ,२ सय ७५ महिला र ५० जना बालबालिका नारायणी अस्पताल एआरटी सेवा सेन्टरबाट औषधि खादैछन् । तराई जिल्लाका मानिसहरुमा रोजगारीका लागि भारत जाँदा हुने असुरक्षित यौनसम्पर्कका कारण एजआईभी संक्रमण हुने गरेको एड्स हेल्थकेयर फाउण्डेशनका पर्सा प्रतिनिधि आशिष गुरागाईंले बताए । 

नारायणी अस्पतालमा रहेको एआरटी सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण हुँदै आएको छ  । एआरटी सेवा सेन्टर वीरगञ्जबाट औषधि सेवन गर्नेको संख्यामा प्रत्येकवर्ष निरन्तर वृद्धि भईरहेको छ । सबैभन्दा बढी पुरुषमा एचआईभी एड्स भेटिएको छ  । कार्यालयको तथ्यांकले अनुसार बारा ,पर्सा ,रौतहट , सर्लाही र मकवनपुरका संक्रमित व्यक्तिहरुले वीरगञ्जबाट औषधि लिइरहेका छन ।

असुरक्षित यौनसम्पर्क मात्र नभई सुई, सिरिन्जबाट लागूऔषध प्रयोग गर्नेहरुपनि एचआईभीको उच्च जोखिममा रहेका छन् । कामका लागि विदेश गएकाबाट पनि एचआईभी सरेको पाइएको छ । एकपटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमानेको र समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कारण पनि कतिपय सेवाबाट बञ्चित छन् । एआरटी र पीएमटीसीटी सेवा लिन छुटेका एचआईभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्बन गरेको यौन रोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसियाले बताए । 

संक्रमितले सेवन गरेको औषधिले रोगलाई बढ्न नदिने र भाइरसको संख्या शरीरमा बृद्धि हुन नदिने गर्दछ । अस्पतालमा गर्भवतीको पनि एचआईभी जाँच गरिँदै आएको छ । गर्भ जाँच गराउन आउने महिलाको अन्य जाँचसँगै एचआइभी जाँच पनि गरिन्छ । 

विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीहरूमा धेरै एचआईभी एड्सको संक्रमण देखिएकाले सीमानामा सचेतना अभियान सञ्चालन गर्ने, विभिन्न सरकारी, गैरसरकारी संस्थामार्फत लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्ने र औषधि नियमित सेवन गराउने अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।     

Last modified on 2019-10-01 09:28:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts