एक जना चिकित्सकको भरमा देशकै ‘विशिष्ट अस्पताल’ 



Download our app to get more features

डडेल्धुरा,१६ असोज । अहिले डडेल्धुरा अस्पताल एक जना चिकित्सकको भरमा चलिरहेको छ । संघिय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ ।

भन्दा देशकै विशिष्ट अस्पताल त्यो पनि पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको गृह जिल्लामा रहेको अस्पताल । तर पछिल्लो समयमा यसको सेवा झनझन खस्कँदै गइरहेको छ । चिकित्सक अभाव, कर्मचारीको अभाव तथा भौतिक संरचनाको समेत अभावले गर्दा अस्पतालले दिनुपर्ने जति सेवा दिन सकिरहेको छैन । टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ २०२२ सालमा स्थापना गरिएको हो । 

यहाँका स्थानीय, राजनीतिक दलका नेताहरुहरुले आन्दोलननै गरेका कारण त्यतिबेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषण गरेको थियो । गत असारमा प्रदेश मातहतमा गएको अस्पताललाई गत फागुननै संघको मातहतमा रहनेगरि उपक्षेत्रीयको अस्पतालको नाम परिवर्तन गरेर डडेल्धुरा अस्पताल राखेर स्तरोन्नति गरियो । कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामी हैरान बनेका छन् । 

‘एक महिना अगाडी मेरो श्रीमती पनि सुत्केरी भएकी थिइन, तर यहाँ नहुँदा उनि तराईमा गएर सुत्केरि भइन’ ज्ञानेन्द्र ताम्राकार ‘ठिक छ मेरो छ तराईमा आफन्त छन तर बिचरा गरिब बिरामीले कसरी उपचार गराउने ।’ उनले भने ‘यो अस्पताल नामको मात्रै विशिष्ट अस्पताल छ जुन सेवासुविधा पाउनुपर्ने हो त्यो पाइरहेका छैनन, बिचरा आउछन नाम लेखाएर रिफर भएर जान्छन ।’ चिकित्सकनै नहुँदा यँहाका सबै पहाडी क्षेत्रका बिरामीले महंगो शुल्क तिरेर निजी अस्पताल तथा तराईका अन्य जिल्ला धाउनुपर्ने बाध्यता रहेकाले दरबन्दीअनुसारका चिकित्सक आउनुपर्ने उनको माग छ ।

समायोजनपछी बचेका डाक्टरलाई कागर्नै आपत
नाममा स्तरउन्नित भए पनि अस्पतालमा दरबन्दि अनुसारका चिकित्सक, दक्ष जनशक्ति नहुँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता छ । दैनिक सय देखि दुईसयसम्म बिरामी आउने यो अस्पतालमा रहेका डाक्टरलाई चेकजाँच गर्ननै धौधौ परेको छ । अस्पतालमा बाकीँ एक मात्र थाइ दरबन्दीका रुपमा रहेका डाक्टर नरेश श्रेष्ठले भने ‘अहिले ओपीडीमा दैनिक एक सय देखी दुई सय जना बिरामी आइरहेका छन, तर काम गर्ने थाई चिकित्सक म र दुई जना करारमा रहेको विशेषज्ञ डाक्टर लगाएर तिन जना मात्रै चिकित्सक छौ ।’ अब तिनजनाले ओपीडी हेर्नेकी, वार्डमा हेर्नेकी इमरजेन्सीमा हेर्ने !’ यो अवस्थामा नेपाल सरकारले तुरन्तै स्वास्थ्य मन्त्रालय अथवा विभागबाट करार तथा रिक्त रहेका दरबन्दी पुर्ति गर्नुपर्ने उनको माग छ ।

विशेषज्ञ चिकित्सकको दरबन्दी २०, पदपुर्ति शुन्य
अस्पतालमा अहिले नेपाल सरकार तर्फबाट १ सय ८ जनाको दरबन्दी स्वीकृत भएकोमा ३७ जनाको मात्र पदपुर्ती हुँदा ७१ जनाको पद रिक्त रहेको छ । त्यस्तै अस्पताल विकास समितीबाट ४२ जनाको पद स्वीकृत हुपर्नेमा ३४ जनाको पदपुर्ति भइ ८ जनाको पद रिक्त रहेको छ । अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा ७ जना कर्मचारी कार्यरत छन ।

यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर अहिले अस्पतालमा छात्रवृती करारबाट एक जना र अस्पताल विकास समितीबाट एकजना गरी करारमा ३ जना मात्र विशेषज्ञ चिकित्सक छन । त्यस्तै अस्पतालमा १९ जना मेडिकल अफिसरको दबन्दी रहेकोमा हालसम्म ९ जना नेपाल सरकारको तर्फबाट र १ जना करारमा गरी जम्मा १० जना मात्र रहेका थिए । 

त्यसमध्ये ६ जना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ । बाकी रहेका ४ जना मध्यपनि ३ जनाको समायोजनपछी अस्पतालमा अहिले १ जना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त बताउँछन । ‘यो अस्पताल संघको मातहतमा रहँदा पनि दरबन्दी अनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको छ‘ उनले भने ‘एकजना मात्र स्थाई र तिन जना करारका डाक्टर भएकाले उपचार पद्धति कसरी अगाडी बढ्ने हो अन्यौलको विषय रहेको छ ।’

चिकित्सक ल्याउन कसैले पहल थालेन
चिकित्सक अभावमा डडेल्धुरा अस्तालमा सञ्चालनमा आइरहेका सेवाहरुमध्ये सिजरियन सर्जरी सेवा, यू एस जी सेवा, इन्डोस्कोपी सेवा तथा एस यन सि यू सेवा समेत बन्द भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘एजडिसियस टिम अस्पताल’लाई विभिन्न आरोप लगाएर हटाउन लगाएका यहाँका पार्टि तथा नेताहरुले चिकित्सक अभाव झेलिरहेको यस अस्पतालका लागी कुनै पहल नगरेको स्थानियको आरोप छ ।


 

Last modified on 2019-10-03 22:34:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts