विश्व दृष्टि दिवस

के हो आँखाको प्रत्यारोपण ? कसले गर्न सक्छ आँखादान ?



Download our app to get more features

नेपालमा गरिएको एक अन्धोपन सर्भेक्षणले प्रति सय व्यक्तिमा करिव एकजना व्यक्ति अन्धो रहेको कुरा प्रष्ट रहेको छ । जसको पहिलो कारण आँखाको लेन्सको पारदर्शकत्वमा ह्रास वा कमी आएर हुने मोतिबिन्दु हो ।  

यससँगै आँखाको नानीमा आउने खराबी अन्धोपनको दोस्रो प्रमुख कारण हो ।

आँखाको नानीमा फुलो पर्नुलाई कुनै किसिमको उचित औषधिमुलो छैन र एक मात्र विकल्प भनेको आँखाको नानी फेर्नु हो जसले गर्दा अन्धाले फेरि देख्न सक्ने हुन्छ ।

यसरी मृत मानिसको शरीरबाट आँखाको नानी प्राप्त गरी, आँखाको नानी प्रत्यारोपणबाट अन्धाहरुलाई पुनः दुष्टि प्रदान गर्नु नेपाल आँखा बैंक तिलगंगा आँखा केन्द्रको मुख्य उद्देश्य रहेको छ ।

के हो आँखाको प्रत्यारोपण ?

आँखा फेरियो वा आँखाको प्रत्यारोपण गरियो भन्ने सुन्दा कता–कता आँखाको डल्लो नै फर्ने पो हो की भन्ने भान पर्नसक्छ । तर वास्तवमा आँखाको डल्लो नै फेर्ने नभई केवल आँखाको नानी मात्र प्रत्यारोपण अथवा फेर्ने हो, जसलाई आँखाको प्रत्यारोपण भन्ने गरिन्छ ।

आँखाको सबैभन्दा अगाडि बाहिरपट्टि रहेको पारदर्शक झिल्ली नै आँखाको नानी हो ।

यसरी कुनै कारणवश आँखाको नानीमा फुलो पर्न गई दृष्टिहीन भएकालाई दृष्टि प्रदान गर्ने उद्देश्यले ती अन्धाको फुलो परेको आँखाको नानीलाई काटेर झिकिन्छ र बदलामा दाताबाट प्राप्त सफा आँखाको नानी आवश्यकताअनुसार प्रत्यारोपण गरिन्छ ।

 क–कसले गर्न सक्छ त आँखादान ?
आँखादान कुनै पनि व्यक्ति जसको आँखा स्वस्थ छ, उसले गर्नसक्छ ।

यसमा उमेर तथा आँखाको पावर कम र चश्मा लगाएको आदिले कुनै बाधा गर्दैन । किनभने आँखा फर्ने अथवा आँखाको प्रत्यारोपण भनेको आँखाको डल्लो नै फेर्ने नभई आँखाको नानीको मात्र प्रत्यारोपण हो ।

आँखादान र सामाजिक अवधारण 
हाम्रो यो अन्नपानीको शरीरले जब प्राण त्याग्छ, तब विभिन्न धर्म र संस्कारअनुसार कसैलाई जनाइन्छ भने कसैलाई गाडिन्छ ।

जसले गर्दा हाम्रो शरीर खरानी र माटोमा परिणत हुन्छ ।

मृत्युपछि जलेर, सडेर जाने हाम्रो मृत शरीरमा रहेको आँखाको नानी जुन कोही जीवित अन्धालाई जिउनका लागि पुनःप्रयोगमा ल्याउन सकिन्छ, यसरी कुनै एक व्यक्तिले आँखा दान गरेमा त्यसको मृत शरीरबाट प्राप्त गरिने आँखाको नानीले चारजना अन्धालाई दृष्टि प्रदान गर्दछ ।कोही मानवको हित गर्नु जो कोहिको कर्तव्य मात्र नभई सबै धर्मले दिएको उपदेश पनि हो ।

तसर्थ, हाम्रो समाजमा रहको रुढिवादी परम्परा र सामाजिक मूल्य एवं मान्यतालाई सकारात्मक हिसाबले प्रयोजनमा ल्याई आँखादानप्रति समाजका व्यक्ति विशेषहरुले चाख देखाएका आम जनतामा पनि यसको उत्साह बढ्ने निश्चित छ ।

एकजना व्यक्तिले आँखादान दिने प्रण गरेमा
चार जना अन्धालाई दृष्टि प्रदान र अन्धोपनको अध्ययन र अनुसन्धानमा योगदान पुर्याउँछ । 

दाताको परिवारमा शान्ति, सन्तुष्टि र सकारात्मक भावना जगाउँछ ।

दाताको दानप्रतिको उदारता र मानवीयता बोध गराउँछ । 

गोपनीयता र विश्वसनीयतामा कुनै कमी हुने छैन । 

दाताको उमेर आदिले बाधा पार्ने छैन ।

दाताको मृत शरीरको आकृति वा चेहरामा कुनै असर नपारी केही मिनेटमै आँखाको नानी मात्र झिकिन्छ । 

आँदान सार्थक र सर्वश्रेष्ठ दान हो, जसको लागि कुनै धर्मले बाधा गर्दैन । 

दान गर्ने आँखाका लागि ध्यान दिनुपर्ने कुराहरु
दाताको आँखामा अविर, अक्षता र फोहोर पानी नपरौं । 

दाताको आँखामा घाम नपारौं र आँखा तुरुन्त बन्द गरिदिऔं ।

 

(नेपाल आँखा बैंक तिलगंगा आँखा केन्द्र)

Last modified on 2019-10-10 13:24:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts