बाराको आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ४० प्रतिशत भारतका



Download our app to get more features

बारा, २३ असोज । बाराको परवानीपुरमा रहेको केडिया आँखा अस्पतालमा भारतबाट उपचार गराउन आउने बिरामीको संख्या बढ्न थालेको छ । 

भारतको बिहार र उत्तर प्रदेशका दर्जनौं आँखाका बिरामीहरु उपचारका लागि आरएम केडिया आँखा अस्पताल परवानीपुरमा आउने गरेको अस्पताल स्रोतले जनाएको छ ।

अन्य स्वास्थ्य सेवामा भन्दा नेपालमा आँखाको उपचार राम्रो र सस्तो हुने भएकाले भारतीय नागरिक आँखा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । 

दैनिकजसो विभिन्न सवारी साधनको प्रयोग गरि आँखासम्बन्धी उपचार गर्न अस्पताल आउने बिरामीको संख्या ४० प्रतिशत रहेको छ । अन्य उपचार नेपालमा राम्रो नभएपनि आँखाको उपचार राम्रो हुने भएका कारण आफुहरु उपचारको लागि नेपाल आएको एक जना बिरामी प्रताप सिंहले बताए ।

नेपालका अस्पतालहरुमा विश्वसनियताका साथ आँखाको उपचार हुने साथै उपचार सस्तो हुने भएकाले पहिले–पहिले आर्थिकरुपमा कमजोर व्यक्तिहरु आउने गरे पनि पछिल्ला दिनहरुमा भने गुणस्तरीय सेवा पाइने भन्दै सबै वर्गका बिरामी नेपाल आउन थालेका छन् । 

सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वास योग्य भएको आँखारोग विशेषज्ञ डाक्टर सुर्दशन काफ्लेले बताए । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति संघलाई वार्षिक पाँच करोड रुपैयाँको सहयोग गर्दै आएको छ ।

वार्षिक १ लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजार जनाको आँखाको शल्यक्रिया हुने गरेको डा. काफ्लेले बताए । तर, जिल्लाका स्थानिय बिमारीहरुको उपस्थिति न्यून रहेको छ ।

अस्पतालमा आँखाको १२ सय रुपैयाँमै विश्वसनिय  शल्यक्रिया हुने गरेका कारण पनि पछिल्ला दिनहरुमा नेपालका मात्र नभई भारतका समेत बिरामीहरुको चाप बढेको हो । सस्तो र गुणस्तरीय सेवा भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ छ । 

२०३१ सालमा स्थापना भएको यो अस्पतालले एकै दिन २ सय ६५ जना सम्म बिमारीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’ समेत कायम गर्न सफल भएको छ ।

Last modified on 2019-10-10 13:24:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts