देशकै ‘विशिष्ट’ अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सक नहुँदा समस्या 



Download our app to get more features

डडेल्धुरा, २४ असोज । बुधबार साँझ डडेल्धुराको अमरगढी नगरपालिका – ६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला पर्यो । अन्दाजी ७६ वर्षीका उमाशंकर गिरी नामक उनको शव भेटिएको स्थानमा ढुंगामा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको थियो ।

प्रहरीलाई मृतक गिरीको हत्या भएको आशंका लागेको कारण थप अनुसन्धान गर्न पोष्टमार्टम(शव परिक्षण) गर्नुपर्ने भयो । त्यसका लागी जिल्ला प्रहरी कार्यालयको टोलीले  हिजो बिहीबार बिहानै शव परिक्षण गर्न शवलाई डडेल्धुरा अस्पतालमा पुर्याएको थियो । त्यतीबेला अस्पतालमा दरबन्दी अनुसार बचेका एक मात्र डाक्टर नरेश श्रेष्ठ थिए । सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालिमको आवश्यकता हुन्छ । जुन डाक्टर श्रेष्ठले प्राप्त गरेका छैनन् ।

पोष्टमार्टम गर्नु अनिवार्य भएकाले अस्पतालले छिमेकी जिल्ला अस्पताल बैतडीलाई शव परिक्षण गर्नका लागी त्यहाँबाट चिकित्सक पठाउन मागपत्र लेख्यो । बिहिबार पत्र पठाइसकेपछी शुक्रबार बिहान बैतडीबाट डाक्टर बसन्त जोशी आए र शव परिक्षण गरेर फर्के । ‘नजिकैको जिल्ला अस्पताल बैतडीमा शव परिक्षणको तालीम प्राप्त डाक्टर रहेछन’ अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त भन्छन ‘यहाँ चिकित्सक नहुँदा समस्या नै भयो, बिहिबार बिहान आएको शवको पोष्टमार्टम एक दिनपछी भयो । ’

मृतक साधु उमाशंकर गिरीको हत्यारा पत्ता लाग्ला नलाग्ला तर अस्पतालमा पोष्टमार्टम गर्न समेत चिकित्सक नहुँनु लज्जास्पद भएको भन्दै अहिले स्थानिय आक्रोशित बनेका छन ।

सधै चिकित्सक अभाव झेलिरहेको अस्पताल
टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ २०२२ सालमा स्थापना गरिएको हो ।  यहाँका स्थानीय, राजनीतिक दलका नेताहरुहरुले आन्दोलननै गरेका कारण त्यतिबेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषण गरेको थियो । गत असारमा प्रदेश मातहतमा गएको अस्पताललाई गत फागुननै संघको मातहतमा रहनेगरि उपक्षेत्रीयको अस्पतालको नाम परिवर्तन गरेर ‘विशिष्ट’ सेवा सहितको डडेल्धुरा अस्पताल राखेर स्तरोन्नति गरियो । कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा दरबन्दिअनुसकारका चिकित्सक नहुँदा ७ पहाडी जिल्लाको स्वास्थ्य सेवानै प्रभावित बनेको  छ । 

अस्पतालमा अहिले नेपाल सरकार तर्फबाट १ सय ८ जनाको दरबन्दी स्वीकृत भएकोमा ३७ जनाको मात्र पदपुर्ती हुँदा ७१ जनाको पद रिक्त रहेको छ । त्यस्तै अस्पताल विकास समितीबाट ४२ जनाको पद स्वीकृत हुपर्नेमा ३४ जनाको पदपुर्ति भइ ८ जनाको पद रिक्त रहेको छ । अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा ७ जना कर्मचारी कार्यरत छन । 
यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर अहिले अस्पतालमा छात्रवृती करारबाट एक जना र अस्पताल विकास समितीबाट एकजना गरी करारमा ३ जना मात्र विशेषज्ञ चिकित्सक छन । त्यस्तै अस्पतालमा १९ जना मेडिकल अफिसरको दबन्दी रहेकोमा हालसम्म ९ जना नेपाल सरकारको तर्फबाट र १ जना करारमा गरी जम्मा १० जना मात्र रहेका थिए । 

त्यसमध्ये ६ जना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ । बाकी रहेका ४ जना मध्यपनि ३ जनाको समायोजनपछी अस्पतालमा अहिले १ जना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त बताउँछन । ‘यो अस्पताल संघको मातहतमा रहँदा पनि दरबन्दी अनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको छ‘ उनले भने ‘एकजना मात्र स्थाई र तिन जना करारका डाक्टर भएकाले उपचार पद्धति कसरी अगाडी बढ्ने हो अन्यौलको विषय रहेको छ ।’

दैनिक सय देखि दुईसयसम्म बिरामी आउने यो अस्पतालमा रहेका डाक्टरलाई चेकजाँच गर्ननै धौधौ परेको छ ।

Last modified on 2019-10-12 13:37:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts