२१ प्रतिशत नेपालीमा पुड्कोपन, शहरको भन्दा ग्रामिण क्षेत्रमा बढी पुड्कोपनको समस्या



Download our app to get more features

५० वर्ष अघि नेपालमा पुड्कोपनको समस्या व्यापक मात्रामा थियो । आजभन्दा ५० वर्ष अघि सरकार र दाताहरुको संयुक्त आयोजनामा संयुक्त पोषण कार्यक्रम लागु भएको थियो । उक्त सर्भेक्षणले नेपालका ७२ प्रतिशत बालबालिकामा पुड्कोपन देखाएको थियो । हाल नेपालमा पुड्कोपनको समस्या हट्दै गएको छ, वरिष्ठ बाल रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले भने । ५० वर्ष अघि तराईमा पर्याप्त चामलको उत्पादन भएपनि पहाडमा पुग्दैन थियो । गरिबिको संख्या धेरै थियो । पैसा भएका मानिसहरुले चामल समेत किनेर खानसक्ने अवस्था थिएन त्यसैले पोषणको कमिले पुड्कोपनको समस्या व्यापक फैलिएको थियो डा. मरासिनिले भने । 

अग्ला हुँदै नेपाली
स्वास्थ्य उपचारका लागि आउने बालबालिकामा उमेर अनुसार पुड्कोपनको समस्या धेरै हुन्थ्यो । डा. मरासिनिका अनुसार पुड्को हुनुको मुख्य कारण कुपोषणको कमि हो । तर, पछिल्ला केही वर्ष यता पु्ड्कोपनको समस्या क्रमिक रुपमा सुधारहुदै गएको छ । २५ वर्षको दौरानमा नेपालीहरु अग्ला हुँदै जान थालेका छन् । 

सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएकोमा हाल २१ प्रतिशतले घटेर ३६ मा झरेको छ । यसले पनि नेपालीहरु क्रमिक रुपमा अग्ला हुँदै गएको देखाउँछ अधिकारीहरुले भनेका छन् । पोषणमा आएको सुधारका कारणले नेपालीमा हुने पुड्कोपन घट्दै गएको हो । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ अनुसार नेपालमा पुड्कोपनको समस्या घटेर ३३ मा झरेको छ । २०११ मा गरेको सर्वेक्षणलाई आधार मान्दा २०१६ मा ५ प्रतिशतले पुड्कोपन घटेको हो । डा. मरासिनिको भनाई अनुसार यो संख्याले पनि नेपालमा गरिबिको संख्या घट्दै गएको अनुमान गर्न सकिन्छ । 

२१ प्रतिशत पुड्कोपन घट्नु सन्तोषजनक 
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखाका अनुसार यो सुधारलाई सकारात्मक रुपमा लिनुपर्ने छ । अपेक्षा अनुसार नघटेपनि यसलाई सन्तोषजनक मान्नु पर्छ । आगामि दिनमा नेपालीहरुमा अग्लोपन क्रमिक रुपमा बढ्दै जानेछ । उनले समयमा पोषिलो खाना नखुवाउने हो भने, बालबालिकालाई अग्लो बनाउन सकिँदैन । 

पुड्कोपनको समस्या ग्रामिणक्षेत्रमा बढी देखिएको छ । तथ्याङ्कले देखाए अनुसार ग्रामिणक्षेत्रका ४० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको छ । सहरमा भने ३२ प्रतिशत देखिएको छ । सरकारले यसलाई अझै कम गराउन पोषणका कार्यक्रमलाई देशका दूरदराजसम्म लैजान आवश्यक छ । अपेक्षा गरे अनुसार घट्न भने अझै केहि समय लाग्ने देखिन्छ ।

यस्तो छ पुड्कोपनको अवस्था
सर्भेक्षणका अनुसार पुड्कोपन भएका बालबालिका प्रदेश नम्बर ६ मा बढी रहेका छन् । उक्त प्रदेशमा पुड्कोपनको दर ५५ प्रतिशत रहेको छ । प्रदेश ३ र ४ को दर भने २९ प्रतिशत रहेको छ । प्रदेश एक मा ३३ प्रतिशत, दुईमा ३७ प्रतिशत प्रदेश ५ मा ३९ प्रतिशत र प्रदेश ७ मा ३६ प्रतिशत पुड्कोपन  रहेको छ । सर्भेक्षणले अन्तराष्ट्रिय मापदण्ड अनुृसार बालबालिकाहरुको उचाई र तौलको तुलना गरी उनीहरुको पोषणको स्थितिको मापन गरिएको थियो । सबैभन्दा गरिब घरपरिवारका ४९ प्रतिशत बालबालिकाहरु र शिक्षा हासिल  नगरेका आमाहरुबाट जन्मिएका ४६ प्रतिशत बालबालिकामा पुड्कोपन हुने गरेको पाईएको छ ।  १० प्रतिशत बालबालिको उचाई अनुरुप तौल नपुगी ख्याउटे भएको पाईएको छ । जुन दिर्घकालिन कुपोषको लक्षण हो । 

कति हुनुपर्छ बच्चाको तौल र उचाई 
विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्मदा ३ केजी सम्मको तौल भएको लाई नर्मल मान्ने गरेको छ । तर, नेपालमा भने साढे दुई केजि तौललाई नर्मल मान्ने गरिएको छ ।

डा. बाबुराम मरासिनिका अनुसार नर्मल मान्छेको उचाई ५ फिट हुनुपर्छ । त्यस भन्दा कम भएको अवस्थामा पुड्को मानिन्छ । ६ महिनाको उमेर सम्म बच्चा पुग्दा जन्मदाको तौलभन्दा दोब्बर र बर्ष दिनमा तेब्बर हुनु पर्छ । 

चिकित्सकहरुका अनुसार त्यस पश्चात दुई वर्षमा बच्चाको तौल साढे दुई केजी बढ्नु पर्छ । बच्चा जन्मिदा उसको उचाई सामान्यतया ५० सेन्टिमिटर हुनुपर्छ । दुई वर्ष भित्र एक स्वास्थ्य बच्चाको उचाई ८८ सेन्टिमिटर हुनुपर्छ । उनका अनुसार बच्चाको उचाई भने दुई वर्षको उचाईको अनुपातमा युवा उमेरमा त्यसको दोब्बर हुनु पर्छ । मानिसको औसत उचाई एक मिटर ७५ सेन्टिमिटर हुनुपर्ने हो तर, हाल पनि नेपालीहरुको उचाई एक मिटर ६३ सेन्टिमिटर मात्रै रहेको छ उनले भने । तर, ५० वर्ष अघिको तुलनामा उचाई र तौलमा भिन्नता देखिदै गएको अधिकारीहरु बताउछन् । 

पुड्कोपन घटाउन पोषण सम्बन्धी सरकारी प्रतिबद्धता
१. बहुक्षेत्रीय पोषण योजनालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयले पोषण क्षेत्रमा प्राबिधिक नेतृत्व प्रदान गर्ने । 

२. स्वास्थ्य सुखी र समृद्ध परिवार हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा जनताको अधिकारलाई मूर्तरुप दिन आआफ्नो कार्य क्षेत्रबाट प्रतिवद्ध रहने  ।

३. केन्द्रदेखि तहसम्म पोषणको कार्यक्रमलाई प्रभावकारी बनाउने ।

४. हरेक स्वास्थ्य संस्थामा पोषण सम्पर्क व्यक्ति तोक्ने र पोषण सम्बन्धी कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्याउने । 

५. स्थानीय तहमा पोषण सम्बन्धी छुट्टै निकायको स्थापना गर्नु पर्ने ।

६. पूर्ण पोषणयुक्त गाउँ घर जिल्ला अभियान संचालन गर्ने । 

७. कुपोषण र खाद्य असुरक्षाको दृष्टिले अति प्रभावित जिल्लामा कुपोषण उपचार तथा व्यवस्थापन सहितको एकीकृत पोषण कार्यक्रम संचालन गर्नुपर्ने । 

Last modified on 2019-10-16 19:30:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts