मुटुरोगीले के खाने, के नखाने ?



Download our app to get more features
Spark_health_home

मुटुरोगबाट विश्वमा प्रत्येक वर्ष करिब १७.३ मिलियन मानिसको मृत्यु हुन्छ । यो तथ्यांकले विश्वभरि नै मुटुरोगको त्रास देखाउँछ । यसबाट नेपाल पनि अछुतो रहने कुरै भएन । 

नेपाल एक विकासोन्मुख राष्ट्र हो । विकासोन्मुख राष्ट्रले झेल्नुपर्ने आर्थिक अभाव, सामाजिक, भौगोलिक, सामाजिक भारले मुटुरोग ओझेलमा पर्ने गरेको छ । धरानमा गरिएको एक अनुसन्धानअनुसार हरेक वर्ष नेपालमा कोरोनरी मुटुरोगी पुरुष सात प्रतिशतले बढिरहेका छन् । यस्तै सहिद गंगालाल अस्पतालका अनुसार प्रत्येक वर्ष मुटुरोगी दुई गुणाले बढिरहेका छन् । नेपाल शिक्षण अस्पताल आउने बिरामीमध्ये २० प्रतिशत कोरोनरी मुटुरोगी हुन्छन् । नेपालगन्जको शिक्षण अस्पतालमा दैनिक २० देखि ४० जना मुटुरोगको चेकजाँच गराउन आउँछन् । 

नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रले हालै गरेको एक अध्ययनअनुसार मुटुरोगका कारण धेरै पुरुषको मृत्यु हुन्छ भने महिलामा दमको कारणले धेरैको मृत्यु हुने गरेको छ । डा. मेघनाथ धिमाल (प्रमुख अनुसन्धानकर्ता, अनुसन्धान विभाग)ले गरेकोे अनुसन्धानबाट महिलामा फोक्सोको रोग बढी हुने गरेकोे छ । ७५ प्रतिशत महिला दाउरामा खाना पकाउने तथा दिनभरि घरको काममा व्यस्त हुने गरेकाले यो समस्या भएको हो । यस्तै पुरुषमा मृत्युको कारक तत्व सुर्ती, धूम्रपान, मद्यपान, तनावपूर्ण जीवन, धुवाँधुलो आदि छन् । 

श्वासप्रश्वास नलीको अवरोध, संक्रमण, पखाला, पक्षघात, अल्जाइमर रोग मुख्यतः महिलामा बढी पाइएको छ । महिलामा यदि मधुमेह रोग पनि छ भने उनमा तीनदेखि चार गुणा मुटुरोग हुने खतरा हुन्छ । रजोवती पनि छ भने उसको हाइपोस्ट्रेजोन कम उत्पादन हुन्छ र जसले गर्दा इस्ट्रोजेन हर्मोन उत्पादनमा कमी आउँछ र हृदयघातको खतरा बढ्ने सम्भावना हुन्छ । 

पुरुषको पेटको बोसो बढ्दै जान्छ जसका कारण उच्च रक्तचाप, उच्च कोलेस्ट्रेरोल, रगतमा चिनीको मात्रा थपघट भएर हृदयघातको जोखिम बढ्न सक्छ । 

मुटुरोगीका लागि एउटा भिन्न खालको आहार पद्धति छ, जसलाई उपचारात्मक जीवनशैली परिवर्तन आहार (थेरापेटिक लाइफ स्टायल चेन्ज डाइट) भनिन्छ । यो आहार मुटुरोगीका लागि विशेष छ । राष्ट्रिय स्वास्थ्य विभागले यसको विकासमा सहयोग गरेकोे हो । जसले गर्दा मुटुको जोखिम, पक्षघात कम गर्न मद्दत गरेको छ । यो आहारको मुख्य उद्देश्य रगतमा नराम्रो कोलेस्ट्रेरोलको मात्रा घटाएर रक्तनलीलाई सफा बनाएर मुटुलाई स्वस्थ राख्नु हो । 

यो आहारको विशेषता 
१. जीवनशैली परिवर्तन गर्ने, तौल नियन्त्रण गर्ने, योग, अभ्यास, तनावमुक्त रहने तथा कोलेस्ट्रेरोललाई कम गरेर रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने । 
२. तौल तथा कामको आवश्यकताअनुसार मात्र क्यालोरी सेवन गर्नुपर्छ । जसले तौललाई नियन्त्रण गर्न सकिन्छ । 
३. खानामा चिल्लो पदार्थको जम्मा क्यालोरीको १५ देखि २० प्रतिशत मात्र प्रयोग गर्नुपर्छ । खाद्य पदार्थबाट पाउने कोलेस्ट्रेरोल बढीमा दुई सय मिलिग्राम मात्र प्रयोग गर्नुपर्छ । 
४. जनावरबाट पाउने चिल्लो पदार्थ बढीमा सात प्रतिशत मात्र सेवन गर्नुपर्छ । दैनिक भोजनमा १५ देखि २५ ग्राम फाइबर प्रयोग गरेमा राम्रो हुन्छ । टिएलसी डाइटमा पर्याप्त मात्रामा फलफूल तथा हरियो सागपात, तरकारी, रेसायुक्त खानेकुरा, दाल, गेडागुडी, बिउ इत्यादि हुन्छ । 
५. दैनिक ३० मिनेटसम्म नियमित शारीरिक व्यायाम गर्नुपर्छ । साइक्लिङ, कुद्ने, दौडने, पौडी खेल्ने आदि अवस्था हेरेर जुन सहज हुन्छ त्यही अभ्यास गर्नुपर्छ । 
६. खानेकुरामा कम चिल्लो प्रयोग गर्ने, कोलेस्ट्रेरोल नियन्त्रणमा राख्ने, रातो मासु, खसी, राँगा, अन्डाको पहेँलो भाग नखाने, नुन कम प्रयोग गर्नुपर्छ । 

यो उपचारात्मक जीवनशैली परिवर्तन (टिएलसी) आहार ३६ जनामा ३२ दिनसम्म गरेकोे एउटा अध्ययन, जसको उच्च कोलेस्ट्रोरोल थियो । यो आहारको सेवनले ११ प्रतिशत खराब कोलेस्ट्रेरोल कम भएको देखिएको थियो । 
 
यो आहारको फाइदा 

१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

२. शरीरको तौल नियन्त्रण गर्छ । 
नियमित शारीरिक अभ्यास, कम क्यालोरी सेवन, खानेकुरामा पर्याप्त मात्रामा रेसायुक्त पदार्थ प्रयोग, शरीरको तौल घटाउन सहयोग पु¥याउँछ । 

३. रगतमा चिनीको मात्रा नियन्त्रण । 
रगतमा भएको ग्लुकोजको मात्रालाई समेत नियन्त्रणमा ल्याउन सहयोग गर्छ । खानेकुरामा अत्यधिक मात्रामा रेसा प्रयोगले ग्लुकोजको मात्रालाई मिलाउन मद्दत गर्छ । 

४. उच्च रक्तचाप नियन्त्रण गर्छ । 
उच्च रक्तचाप कम गरेर, सामान्य अवस्थामा ल्याउन मद्दत गर्छ । 

५. यसको मुख्य उद्देश्य स्याचुराटेड चिल्लो पदार्थ एकदम कम गरेर राम्रो एल्डिएल कोलेस्ट्रेरोल बढाउन हो । 

६. मध्यम मात्रामा सेतो मासु, (कुखुरा, माछा) तथा अन्डाको सेतो भाग आदिको सेवन गर्नुपर्छ । 

फलफूल : फलफूलमा स्याउ, केरा, खरबुजो, सुन्तला, मेवा, नासपाती, आरु, अम्बा, एभोकाडो, मौसमअनुसारको ताजा फलफूल सेवन गर्नुपर्छ । 
तरकारी : तरकारीमा ब्रोकाउली, काउली, कांक्रो, पालुङ्गो, रायो, मुन्टा, गान्टेमुला, गाँजर, सबै प्रकारको मौसमअनुसारको तरकारी प्रयोग गर्नुपर्छ । 
अन्न : अन्नमा जौ, ओट्स, उसिनेको चामल, कोदो, फापर तथा दालहरूमा सबै प्रकारको सिमी, राज्मा, गेडागुडी, बदाम, ओखर, काजु, फर्सीको बिउ, आलसको बिउ, सूर्यमुखीको बिउ आदिको सेवन गर्नुपर्छ ।
 

Last modified on 2019-10-16 19:30:57

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts