पोषण सुधार अभियन्ता बोनिता शर्मा बीबीसीको १०० प्रेरणादायी महिला सूचिमा



Download our app to get more features

काठमाडौं, २९ असोज । बीबीसीले बुधवार सार्वजनिक गरेको १०० प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छन् । सूचीमा परेकी शर्माले कुपोषणबाट बालबालिकाहरूलाई बचाउन पोषण माला निर्माण गरेकी छन् । हातमा लगाउने सो मालाले आमाहरूलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिन्छ ।

बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट आ–आफ्नो क्षेत्रमा सफल भएर परिवर्तनका लागि काम गरेका १०० महिलाहरूको सूची सार्वजनिक गर्छ । यो वर्ष बीबीसीले ती महिलाहरूलाई सोधेको थियो, यदि महिलाहरूले नेतृत्व लिने हो भने भविष्य कस्तो हुनेछ ? शर्माले अन्य तीन साथीसँग मिलेर ‘द सोशल चेन्जमेकर एन्ड इनोभेटर (सोचाइ) नामक संस्था खोलेकी छन् । सोही संस्थामार्फत उनले बालबालिकालाइ बचाउन कुपोषण माला निर्माण र कार्यान्वयनमा ल्याएकी छिन् ।

 

के हो पोषण माला ?
पोषण माला हेर्दा सामान्य माला जस्तै छ । हुन त यो माला आकारको हातमा लगाउने ब्रासलेट हो । यसमा विभिन्न रंगका मोतीका दाना राखिएका छन् । सुनौला हजार दिनमा जन्मेदेखि २ वर्षमा बच्चाको ८० प्रतिशतसम्म दिमागको विकास हुन्छ । बच्चालाई पोषण र स्वास्थ्यको बारेमा जानकारी दिने ‘सुनौला हजार दिन’ सुनौलो मौकाको रुपमा लिँदै यो माला तयार गरिएको हो । 

पोषण मालामा २१ वटा दाना हुन्छन् । जसमध्ये केही दानामा ०, ६, ९, १२ र २४ संख्या भनेर लेखिएको हुन्छ । संख्याले बच्चाको उमेर जनाउँछ भने रङले खानेकुराको समूह जनाउँछ । ० देखि ६ मा सेतो रङ छ, जसले आमाको दूध मात्र खुवाउनुपर्छ भन्ने बुझाउँछ । त्यसपछि सेतो, खैरो, निलो, पहेँलो, हरियो रङले विभिन्न खानेकुरा जनाउँछ । सेतोले दूधजन्य खानेकुरा, खैरोले अन्नबाली, आलु, पहेँलोले दाल, गेडागुडी, हरियोले सागसब्जी तथा निलोले मासुजन्य परिकार बुझाउँछ । 

उनको यो खानाको सूचीमा महँगा फलफूलहरु राखिएको छैन । घरमै उत्पादन हुने स्थानीय फलफूल तथा तरकारी खान सुझाव दिने गरेका छन् उनीहरुले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएका छन् । हाल उनको संस्था सोचाइलाई युनेस्को अन्तर्गत मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेसनले समेत सहयोग गरिरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts