मेडिकल काउन्सिलमा डा.शर्माको पदावधि सकियो, नयाँ रजिष्ट्रार बन्ने दौडमा को–को ? 



Download our app to get more features

काठमाडौं, १३ कात्तिक । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माको पदावधि सकिएको छ । चारवर्षे कार्यकालका लागि नियुक्त भएका डा. शर्माको अवधि सकिएसँगै काउन्सिलको रजिष्ट्रार पद खाली भएको छ । काउन्सिलको प्रशासनिक काम कार्वाहीको नेतृत्व रिक्त भएसँगै काउन्सिलका दैनिक काम समेत प्रभावित हुनसक्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. शर्मालाई ओलीले आफु पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ साल कात्तिक १३ गते काउन्सिलको रजिष्ट्रार नियुक्त गरेका थिए । संयोगवश उक्त समयमा प्रधानमन्त्री ओलीले नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 
कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा वीर अस्पतालमा कार्यरत छन् । आफ्नो पदावधि सकिएसँगै डा. शर्माले क्लिनिकल क्षेत्रबाट आएको व्यक्तिलाई प्रशासनिक नेतृत्व लिन र काम गर्न सघाएको भन्दै सामाजिक सञ्जालबाट धन्यवाद दिएका छन् ।

नयाँ रजिष्ट्रार बन्न दौड सुरु 
काउन्सिलको रजिष्ट्रार बन्न दौड सुरु भइसकेको छ । तर, जानकारहरुका अनुसार काउन्सिलमा नियुक्ति लिने पहिलोजस्तो हानथाप भने छैन । चिकित्सा शिक्षा ऐन र त्यस अन्तर्गतको चिकित्सा शिक्षा आयोग बनेसँगै काउन्सिलको भूमिका घटेकाले खास आकर्षण नरहेको जनाइएको छ । यद्यपी स्वास्थ्य मन्त्रीको सिफारिसमा मन्त्रीपरिषदले नियुक्त गर्ने स्थान भएकाले केही चिकित्सकहरु आकांक्षीका रुपमा देखिएका छन् ।

यो दौडमा मूलतः स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. कृष्णकुमार राई निकट मानिएका डा. प्रकाश बुढाथोकी देखिएका छन् । उनी वीर अस्पतालमा कार्यरत छन् भने नेपाल चिकित्सक संघको कार्यसमितिमा पनि रहेका छन् । उनले रजिष्ट्रार बन्न दौड सुरु गरेको स्वास्थ्य मन्त्रालय स्रोतले दावी गरेको छ । 

त्यस्तै, प्रत्यारोपण विशेषज्ञ डा. वीरेन्द्र यादवपनि काउन्सिलको रजिष्ट्रार बन्न दौडमा लागेका छन् । स्वास्थ्य मन्त्री र राज्यमन्त्री दुवैसँग निकट मानिएका यादवपनि आकांक्षीका रुपमा दौडधूपमा लागेको स्रोतको दावी छ । यादव शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत छन् । 
 

Last modified on 2019-11-01 10:54:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts