प्रधानमन्त्रीलाई बालुवाटारमै डाइलासिस गरिने



Download our app to get more features

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै डाइलासिस मेसिन जडान गरिने भएको छ ।

यसका लागि शुक्रवार बिहान बालुवाटारमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले छलफल गरेका थिए । मिर्गौला रोग विशेषज्ञ समेत रहेकी क्याविनेट चिकित्सक डा दिव्या सिंह शाह, चिकित्सक डा दिलिप शर्मा, बरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण सायमी लगायतका चिकित्सक छलफलमा सहभागि थिए । प्रधानमन्त्रीको अबको थप स्वास्थ्य उपचार र त्यसको व्यवस्थापनका बारेमा छलफल भएको जनाइएको छ ।

तर प्रधानमन्त्री ओलीकोे नियमित डाइलासिस गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा टुंगो लागि सकेको छैन् । शुक्रबार बेलुका सम्म आइसक्ने आउने रगत रिपोर्ट पछि टुंगो लाग्ने छ । छलफलमा सहभागि एक चिकित्सकले भने ‘ डाइलासिस सुरु गरिसके पछि अब उहाँलाई नियमित डायलासिस नै गर्नु पर्छ जसको लागि हामीले बालुवाटारमानै डाइलासिस मेसिन सेट गर्ने कि भन्ने बिषयमा छलफल गरेका हौँ।‘ मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओलीको धापासीस्थित ग्राण्डी अस्पतालमा दुई दिन उपचार गरिएको थियो। सो अवधीमा उनको दुईपटक हेमो डाइलासिस गरिएको थियो ।

प्रम ओलीले उपचार गराइरहेको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलका चिकित्सकसंग समेत परामर्श भइरहेको बैठकमा सहभागी एक चिकित्सकले बताए। प्रधानमन्त्री ओलीको झण्डै १२ बर्ष अघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

Last modified on 2019-11-02 11:51:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts