पाचौं दिन पनि डा. केसीको अनसन जारी

यसकारण डा. केसीले रोजे चिसो डडेल्धुरा



Download our app to get more features

डडेल्धुरा, २२ कात्तिक । चिकित्सा शिक्षा सुधारको मागसहित प्राडा गोविन्द केसी गत सोमबारदेखि १७औं चरणको अनसनमा छन् । उनी डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट एक सय मिटर दुरिमा रहेको निर्मल क्लिनिक रहेको भवनको तेस्रो तलाको एउटा चिसो कोठामा अनसनरत छन् ।  

डडेल्धुराको चिसोका बाबजुत पनि सात बुँदे माग राख्र्दै उनको अनसन जारी छ । केसी अनशन बसिरहेको क्षेत्रमा कहिल्यै घाम लाग्दैन । त्यसकारण अनसन बसेको गल्लीको न्युनतम तापक्रम सधै ९ देखि १२ डिग्री सेल्सियस रहन्छ । चिसो कोठालाई न्यानो बनाउन स्थानीयले सहयोग त गरेका छन । तर स्थानीयको प्रयासले मात्रै कोठा चिसो हुने सम्भावना छैन । 

अनशनको पाचौँ दिन शुक्रबार बिहानसम्म उनको स्वस्थ्य अवस्था नाजुक बन्दै गएको डडेल्धुरा अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताएका छन । तेस्रो दिनमै चिसोका कारण स्वस्थ्य अवस्था बिग्रिएपछि उनको स्याहारमा स्थानीय, नागरिक समाज, राजनीतिक दल तथा स्वास्थ्यकर्मी लागेका थिए ।

यसकारण रोजे डा. केसीले चिसो डडेल्धुरा
सरकारी मातहतका क्षेत्रमा अनसन नबस्ने घोषणा गरेका डा. केसीले अस्पताल परिसर नजिकैको डडेल्धुरा अस्पतालकै स्वास्थ्यकर्मी निलकण्ठ भट्टको घरमा अनसन सुरु गरेका हुन् । 

गत १२ भदौमा डा. केसी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको एक्लै भ्रमणमा आएका थिए । उनले डोटी र डडेल्धुरा आउनुको कारण भने खोलेका थिएनन् । पर्यटकका रुपमा सुदूरपश्चिम आएको प्रतिक्रिया दिएका उनले त्यतिबेला डडेल्धुरा राम्रो लागेको प्रतिक्रिया दिएका थिए । उनको त्यो संकेतले भने अब उनी यतै अनसन बस्ने निश्चित जस्तै भएको थियो ।

भदौमा डडेल्धुरा घुमेका उनी सोमबार फेरि दिउँसो फेरि सुटुक्क जिल्ला आइपुगे । काठमाडांैबाट रात्रीबस चढेर उनी सोमबार बिहान कैलाली पुगेका थिए । त्यसपछि कैलालीबाट माइक्रोबस चढेर २ बजेतिर डडेल्धुरा पुगेका थिए । उनी डडेल्धुरा आउने कसैलाई जानकारी थिएन ।

डा. केसी लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका छन् । उनले देशका दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका थिए । सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान पटक पटक राख्दै आएका थिए ।

१५औं पटकको अनशन तोड्दा सरकारसँग १० साउन ०७५ मा डा. केसीको मागअनुसार सरकारले इलाम, पाँचथर, उदयपुर र डडेल्धुरामा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्ने उल्लेख थियो । त्यसका लागि एक महिनाभित्र टोली गठन गर्ने भनिएको थियो। तर एक वर्ष बित्दा पनि त्यो बुँदा कार्यान्वयन भने भएको छैन । यस अघिका अनसन तोडाउने क्रममा सरकारसँग भएका सहमति कार्यान्वयन गराउन र पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवाको गृहजिल्ला भएका कारण पनि सरकारमाथि दबाब दिन सहज हुने भएकाले डा. केसीले डडेल्धुरा रोजेको हुनसक्ने अनुमान स्थानीयको छ । उनले पनि अनसन बस्नु अघि पूर्वको इलाम र सुदुरपश्चिमको डडेल्धुरा वा डोटीमा मेडिकल कलेज बनाउने मागलाई दोहो¥याएका थिए । उनले भनेका थिए ‘भदौमा डडेल्धुरा पुग्दा डडेल्धुरा अस्पतालको हालत स्वास्थ्य चौकीको जत्तिको पनि थिएन । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामीले पाएको दुःख देख्दा एकदमै पिडा भएको थियो ।’

स्थानीय, संघसंस्था र राजनीतिक दलको ऐक्यबद्धता
डा. केसीले राखेका मागमा स्थानीय, संघसंस्था तथा राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् । डोटीका विभिन्न पाँच संघसस्थाले शुक्रबारसम्ममा ऐक्यबद्धता जनाइसकेका छन् । डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा डडेल्धुरा पुगेको टोलीले पनि डाक्टर केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको छ । उद्योग वाणिज्य संघसँगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात ब्यवसायी संघ डोटी, होटल ब्यवसायी संघ डोटी र त्रिवि प्राध्यापक संघ डोटीले केसीका माग पुरा गर्न सरकार समक्ष माग गरेका छन् । संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै डा. केसीले उठाएका माग जनताको पक्षमा रहेको उल्लेख गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका सांसद तथा कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले गत मंगलबार सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका थिए । उनले डा. केसीलाई भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए । उनले सम्पूर्ण सुदूरपश्चिमबासीमा गरिबको स्वास्थ्यको लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोध समेत गरेका थिए । 

बिहिबार डडेल्धुरा नागरिक समाजले दबाब र्यालीनै निकालेर उनको सत्याग्रहप्रति समर्थन जनाएको छ । केसीलाई भेट्न र उनको सत्याग्रहमा ऐक्यबद्धता जनाउन स्थानीयको लर्को नै लाग्ने गरेको छ । शुक्रबार पनि डडेल्धुरामा डा. केसीको सर्मथनमा बसपार्कबाट अनशनरत स्थलसम्म दबाबमुलक ¥याली निस्किएको थियो  । 

यी हुन् डा. केसीका ७ बुँदे माग :
हामीसँग १० साउन ०७५ मा सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस ।

आन्दोलनरत मेडिकल विद्यार्थीका माग पुरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस ।

संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्वि गर्नेसम्बन्धी निर्णय तत्काल खारेज गरियोस ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस कार्यक्रम संचालन गरियोस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस् ।

क्यान्सरलगायतका महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस । कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरालगायतका अस्पताल र स्वास्थ्य संस्थामा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट रोकी पीड़ितहरुको माग अनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

Last modified on 2019-11-10 05:54:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts