आमामा मधुमेह भए बच्चामा कस्तो पर्छ असर ? जानौं



Download our app to get more features

गर्भावस्थामा आउने मधुमेह उमेरको करणले आउँदैन । परिवारका सदस्य कसैलाई मधुमेह भएको छ वा पहिले गर्भवती हँुदा मधुमेह देखिएको छ भने त्यस्ता महिलामा गर्भ अवस्थामा मधुमेह देखिने सम्भावना हुन्छ । साथै उच्च रक्तचापको औषधि लिइरहेका महिला गर्भवती भए पनि मधुमेहको सम्भावना हुन्छ । 

गर्भावस्थामा देखिने मधुमेह अर्थात ‘जेस्टेसनल डायबेटिज’ समान्यतया पहिलो तीन महिना पार गरिसकेपछि देखिन्छ । यो अवस्थाको मधुमेहमा रगतमा चिनीको मात्रामा सन्तुलन ल्याउन नसके शिशुको तौल अत्यधिक वृद्धि हुने हुन्छ । त्यसैले यस अवस्थामा अधिकांशलाई इन्सुलिन प्रयोग गर्नु पर्ने हुनसक्छ । गर्भावस्था सकिनासाथ अर्थात डेलिभरीपछि यो मधुमेह आफै निको भए पनि ३३ प्रतिशत महिलामा पछि गएर मधुमेह देखिने अध्ययनले देखाएको छ ।

गर्भावस्थाको मधुमेह सधै रहँदैन
गर्भावस्थामा मात्र देखिने मधुमेह सधैं रहँदैन । साथै यसले बच्चामा पनि मधुमेह हुने सम्भावना रहँदैन । तर, यो अवस्थाको मधुमेहका कारण शिशुको तौल र साइज भने ठूलो हुन्छ । यदि गर्भावस्थामा देखा परेको मधुमेह पछिसम्मै रहिरह्यो भने बच्चा ठूलो भएपछि वंशाणुगत रुपमा देखा पर्न सक्छ । गर्भमा रहेको शिशुमा आमाबाट गएको इन्सुलिनको कारण तौल र आकार बढ्ने हो । गर्भावस्थामा देखा परेको मधुमेह नियन्त्रण भएन भने गर्भमा समस्या पनि आउन सक्छ । 
अर्को अवस्था भनेको मधुमेहका दीर्घरोगीहरू गर्भवती हुनु हो । गर्भवती हुनु भन्दा अघि वा गर्भवती अवस्थामा मधुमेह नियन्त्रण नभए यिनीहरूमा झन् बढी समस्या हुन सक्छ ।

यस्ता व्यक्तिमा मधुमेहको खतरा 
—परिवारका अन्य सदस्यमा मधुमेह भएमा । 
—मोटोपना भएमा ।
—पहिले पनि गर्भावस्थामा मधुमेह देखिएमा ।
—पहिले गर्भवती हुँदा चार किलो वा त्यो भन्दा ठुलो बच्चा जन्मेमा । — महिनावारी गडबड हुने रोग (पोलिसिस्टिक ओवरी सिन्ड्रोम) भएमा ।
    
आमामा मधुमेह शिशुलाई पनि जोखिम 
मधुमेहले गर्भवतीको पेटमा भएको शिशुलाई सिधै असर गर्छ । गर्भावस्थाका शुरुका दिनमा मधुमेह नियन्त्रण नभए गर्भस्थ शिशु बिकलांङ हुने खतरा हुन सक्छ । साथै मुटु, मस्तिष्क, ढाड आदिमा समेत असर पर्न सक्छ । यसको अलावा गर्भपातको सम्भावना पनि अत्यधिक हुन्छ । गर्भावस्थाका पछिल्ला महिनामा गर्भस्थ शिशुको पोषण अत्यधिक भएर शारीरिक तौल बढ्छ । जन्मदा तौल ४ किलो भन्दा बढी भएमा प्रसवकालमा विभिन्न समस्या जस्तंै चोटपटक लाग्ने, सामान्य तरिकाले प्रसव नभएर अप्रेसन गर्नुपर्ने वा गर्भस्थ शिशुको मृत्यु समेत हुन सक्छ ।

मधुमेहले मिर्गाैलामा कस्तो असर गर्छ
मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । मधुमेह बाहेक रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा छैन भने मिर्गाैलामा समस्या हुनसक्छ । केही व्यक्तिलाई मधुमेह सुरु भएसँगै मिर्गाैलामा पनि समस्या देखिन्छ । तर, धेरैमा भने मधुमेह भएको पाँच वर्षपछि मात्रै मिर्गाैलामा समस्या हुन्छ । यदि मधुमेहलाई नियन्त्रणमा राखियो भने १५ देखि २० वर्षपछि मात्रै समस्या देखिन्छ ।

यस्तो अवस्थामा मधुमेह रोगीको हात खुट्टा नै काट्नु पर्छ 
मधुमेहले मुख्य असर गर्ने अंग भनेको मिर्गाैला हो । तर, मधुमेहले जटिल रुप धारण गरे हात खुट्टा नै काट्नु पर्ने हुन्छ । मधुमेहका कारण नशा जाम हुन थाल्छन । जसका कारण हात खुट्टामा रक्तसञ्चार हँुदैन । जब नशा जाम हुन्छ विस्तारै पिडुलाको मासु दुख्ने, खुट्टाको औलाहरू निलो हुने, पछि कालो हुने र छोएको थाहा नपाउने हुन सक्छ । यस्तो अवस्था आए शरीरका अंग नै हटाउनु पर्छ । यसरी रक्तसञ्चारमा अवरुद्ध भएर इन्फेक्सन भए ती भागलाई शरीरबाट छुट्टाउनु पर्छ । नत्र यो संक्रमण शरीरभरी फैलिन्छ । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ । 

मधुमेहका कारण नशामा नकारात्मक कोलेस्ट्रोल र फोहार जम्मा हुन्छन् । जसले नशाको भित्ता कडा बनाउँछ । यसले गर्दा रक्तसंचारमा समस्या भई नशा ब्लक हुन्छ ।
महिलालाई मात्र मधुमेह हुने छुट्टै अवस्था भनेको गर्भावस्था हो । जसले आफ्नो सुगर, कोलेस्ट्रोल परीक्षण र शारीरिक व्यायमका साथै  तौलको पनि ख्याल गरेको छ त्यस्ता महिललाई मधुमेहको सम्भावना न्युन हुन्छ । मधुमेह वंशानुगत भए पनि खानपान, व्याम र शरीरको तौल नियन्त्रण गरे मधुमेहको सम्भावना कम हुन्छ । तर, यी तीन कुरामा वेवास्ता गर्ने र परिवारमा कसैलाई पनि मधुमेह छैन मलाई पनि हँुदैन भनेर ढुक्क हुनेलाई पनि मधुमेह हुन सक्छ ।

Last modified on 2019-11-14 15:15:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts