बन्नै छाडे 'नेपाली भियाग्रा'

विदेशमा माग तर बन्दैन



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । धेरै मानिसलाई हिजोआज भियाग्राका बारेमा थाहा छ । धेरैको एउटै बुझाई हो यसले यौनशक्ति बढाउँछ । कतिपयले यसलाई नियमित सेवन समेत गर्ने गरेको सुन्न पाइन्छ । जसले गर्दा समयक्रममा प्रयोगकर्ताहरुको प्राकृतिक यौन शक्ति नष्ट हुँदै गएकोमा चिकित्सकहरुले चिन्ता पनि व्यक्त गर्ने गरेका छन् । आधुनिक औषधि विज्ञान अनुसार बनेको भियाग्रा जस्ता यौन शक्तिवर्धक औषधिले तत्काल उत्तेजना बढाउने भएपनि साइड इफेक्ट पनि प्रशस्तै गर्ने गर्छ । 

तर, धेरै मानिसलाई यो थाहा छैन कि नेपालमा पनि आफ्नै ब्राण्डको यौनशक्तिवर्धक बन्थ्यो । जसलाई कतिपयले नेपाली भियाग्रा भन्ने गर्थे । नेपाली भियाग्रा अर्थात सिंहदरबार वैद्यखानाले निर्माण गर्ने वाजीकर शक्ति । जुन अहिले बन्न छाडेको छ । वाजीकर शक्ति बन्दासम्म त्यो औषधिको माग उच्च थियो । उक्त औषधिलाई चर्चामा ल्याउन पछिल्लो समय त्यसलाई नेपाली भियाग्रा भनेर प्रचार गरियो त्यसपछि त झनै त्यसको माग ह्वात्तै बढ्यो । वाजीकर शक्तिलाई वैद्यखानाले स्वास्थ्य र सुखद यौनजीवनका लागि अतिप्रभावकारी औषधि भनेर प्रचार गरेको थियो । सो औषधिको माग बढ्दै गएपछि वाजीकर शक्तिमाथि ‘दुश्मनको आँखा लाग्यो ।’ र, त्यो बन्द भयो । 
वैद्यखानका वरिष्ठ बजार अधिकृत ऋषिराज रेग्मीका अनुसार वाजीकर शक्ति बन्दासम्म त्यसको माग अचम्मले बढेको थियो । 'हामीले केही पत्रिकामा नेपाली भियाग्रा भनेर लेखहरु लेख्यौं । त्यसपछि त झनै यसको माग आश्चर्यचकित बनाउने गरि बढ्यो ।' उनले सम्झिए । तर, त्यो औषधि किन अहिले बन्दै भन्ने प्रश्नको स्पष्ट जवाफ भने उनीसँग पनि छैन । कसैले कच्चा पदार्थ नभएर भन्छन्, कसैले जनशक्ति र पूर्वाधारको अभावले भन्छन् । वाजीकर शक्ति विशुद्ध जडिबुटीहरुको समीश्रणबाट बनेको आयुर्वेदिक उत्पादन हो । जसले कुनै पाश्र्वअसर बिना यौनशक्ति वृद्धि गथ्र्यो । यौनशक्ति भन्नुको अर्थ यौन उत्तेजना होइन । वाजीकर शक्ति बाहेक अश्वगन्धा चूर्णपनि बन्ने गरेको छैन । यो पनि यौनशक्ति बढाउने तथा पौष्टिकता प्रदान गर्ने औषधि हो ।  

विदेशमा माग तर बन्दैन

वाजीकर शक्तिमात्र होइन वैद्यखानाको आफ्नो पेटेन्ट(प्रतिलिपि अधिकार) भएका अरु पनि थुप्रै औषधिहरु बन्न छाडेका छन् । जसको अर्को ज्वलन्त उदाहरण हो शुद्ध शिलाजित । यो पनि सिंहदरवार वैद्यखानालाई चिनाउने अर्को ब्राण्ड हो । यो औषधिको नेपालमा त माग थियो नै विदेशमा समेत माग बढेको थियो । मुत्र तथा रक्तविकार शुद्दिकरण गरेर धेरै रोगको समूल नष्ट गर्ने भनिएको शिलाजित एकवर्षअघिदेखि केही व्यापारीले बेलायतमा समेत निर्यात गर्न थालेका थिए । शिलाजित ४० वर्ष नाघेकाले नियमित र त्यसमुनी उमेर समूहकाले पनि बेलाबखत प्रयोग गर्न सक्छन् । यो औषधि पनि अघिल्लो वर्षयता बन्न सकेको छैन । 'शुद्ध शिलाजित ५ सय किलो बनाउन विदेशबाट माग भएको छ । तर, यहाँ बन्न सकिरहेको छैन ।' वैद्यखानाका उत्पादन अधिकृत डा. हरिदेव यादवले थपे, 'बनाउन त अरु कम्पनीले पनि बनाउँछन् तर, सिंहदरवार वैद्यखानाको जति विश्वासयोग्य र प्रभावकारी कसैको छैन ।'  

सिंहदरवार वैद्यखानाले बनाउँदै आएको अविपत्तिकर चुर्ण (चिनीरहीत) पनि अहिले बनेको छैन । जसले गर्दा आयुर्वेदलाई अनुशरण गरेका मधुमेह तथा ग्यास्टिकका रोगी सो औषधि सेवन गर्नबाट बञ्चित भएका छन् भने वैद्यखानाको उत्पादन र आम्दानी घटेको छ । वैद्यखानाका करिब १ सय ६० वटा उत्पादन औषधि व्यवस्था विभागमा दर्ता भएपनि अहिले मुश्किलले ६० वटा औषधि उत्पादन हुन्छन् । यो साल पनि अहिलेसम्म ठेक्का प्रकृया सुरु नहुँदा ती औषधि पनि बन्ने छाँट छैन । 

एकवर्षैमा आधाभन्दा बढि बिक्रि गिरावट 
सिंहदरवार वैद्यखानामा हुने राजनीतिक हस्तक्षेपले सो संस्थाको साखलाई विस्तारै धमिराले झैं नष्ट बनाउँदै लगेको तीतो यथार्थ छ । यसलाई पुष्टि गर्न अघिल्लो वर्ष वैद्यखानामा भएका राजनीति प्रेरित गतिविधि र व्यापारको तथ्यांक हेर्दैमा थाहा हुन्छ । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले आयुर्वेदमा स्नातकोत्तर गर्ने जनशक्ति वैद्यखानामा हुँदाहुँदै स्नातकमात्र गरेका बाहिरी व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाएसँगै संस्थाभित्र तीव्र अन्तरविरोध सिर्जना भएको थियो । 

संघीयता कार्यान्वयनसँगै सरकारले सबै विकास समिति खारेज गर्ने निर्णय गर्यो । जसअनुसार सिंहदरवार वैद्यखाना विकास समितिपनि खारेज भयो । तर, खारेजीसँगै पदमुक्त भएका प्रबन्ध निर्देशक एवं विकास समितिका सदस्यसचिवलाई अदालतले फर्काइदियो । त्यसयता अहिले सम्म वैद्यखानामा विकास समिति नै बनेको छैन । 
वैद्यखानामा नेतृत्व परिवर्तन, अन्तरसंघर्ष तथा स्वास्थ्य मन्त्रालयको उदासिनताका कारण अघिल्लो वर्ष स्वाट्टै उत्पादन घटेको छ । एकै वर्षमा ५० प्रतिशतभन्दा धेरै उत्पादन र बिक्रि घटेको हो । आ.व २०७४/७५ मा ५ करोड ३४ लाखको उत्पादन गरेको वैद्यखानाले अघिल्लो अर्थिकवर्ष २०७५/७६ मा जम्मा २ करोड ४८ लाखको उत्पादन बिक्रि गरेको छ । जबकी सिंहदरवार बैद्यखानाले १० वर्षअघि आर्थिक वर्ष २०५७/५८ मै २ करोड ५८ लाखको औषधि उत्पादन गरेको थियो । 

मन्त्रीले छापा हाने र हाता लाग्यो शून्य 
सिंहदरवार वैद्यखानाले उत्पादन प्रभावहीन बन्दै गएको भन्दै झण्डै डेढ दुई महिनाअघि स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले सिंहदरवार वैद्यखानामा छड्के गरे । छड्के गर्दा उनले वैद्यखानाका प्रबन्ध निर्देशक डा. वंशदीप खरेललाई एकमहिना भित्र कार्ययोजना ल्याउन निर्देशन दिए । 'तर, कस्तो कार्ययोजना बन्यो र के प्रगति भयो कसैलाई थाहा छैन । न त केही परिणाम नै देखिएको छ ।' वैद्यखानाका एक कर्मचारील अक्रोश पोखे । 

वैद्यखानाले यो वर्षपनि अझै औषधि उत्पादनको तरखर गरेको छैन । अहिलेसम्म औषधि बनाउन चाहिले कच्चा पदार्थका लागि टेण्डर नै हुनसकेको छैन । 'यो वर्ष त त्यही २ करोडको बिक्रिपनि हुन गाह्रो छ ।' ती कर्मचारीले भने । 
 

Last modified on 2019-11-15 14:58:27

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts