स्त्री रोग पहिचान र उपचारमा सफल ल्याप्रोस्कोपी



Download our app to get more features

पछिल्लो समय डाइग्नोस्टिक ल्याप्रोस्कोपी प्रविधि प्रभावकारी बन्दै गएको छ । लामो समयसम्म महिलाको पेट दुखेको समस्या पत्ता लाग्न नसकेको अवस्थामा यो विधिबाट धेरैले सेवा पाएका छन् । अल्ट्रासाउण्ड गर्दा समेत पत्ता लगाउन नसको अवस्थामा डाइग्नोस्टिक ल्याप्रोस्कोपबाट रोग पत्ता लगाउन सकिन्छ । 

के हो ल्याप्रोस्कोपी ?
ल्याप्रोस्कोपी भनेको रोग पत्ता लगाउने र पत्ता लगाएसँगै त्यसको समाधान गर्ने प्रविधि हो । यो प्रविधिमा नाइटो मुनि सानो प्वाल पारेर पेट भित्र दुर्विन छिराएर त्यहाँ भएकोे समस्या हेरिन्छ । यस प्रविधिबाट पेटभित्र रहेको समस्या पत्ता लगाएसँगै शल्यक्रिया गर्न सकिन्छ ।

कस्तो अवस्थामा गर्ने ?
महिलाको पेटको समस्याहरू जस्तै तल्लो पेट दुखिरहने, दुखाई कम गर्ने औषधि सेवान गर्दा ठिक हुने र पछि फेरी दुखाई सुरु हुने, क्रोनिक पेल्भिक पेन भएका बिरामीलाई डायग्नोस्टिक ल्याप्रोस्कोपी गरेर जाँच गरिन्छ । महिलाको यस्तो समस्यामा भिडियो एक्स–रे गर्दा कुनै समस्या देखिदैन । रगत, पिसाव जाँच गर्दा पनि पत्ता नलाग्ने, रिर्पोट सामान्य आउने हुन्छ । यस्तो अवस्थामा डाइग्नोस्टिक ल्याप्रोस्कोपी गरिए रोग पत्ता लगाउन सकिन्छ । 

सानो दुर्विन पठाएर पाठेघरमा मासु पलाएको, पाठेघरको बनावट, पाठेघर फुलेको, अण्डाकोषमा मासु पलाएको, पानी वा रगत जमेको ल्यापारोस्कोपिक प्रविधिबाट निकाल्न सकिन्छ । इन्डोमेट्रियोसिस रोगका कारण पेट दुखाईमा औषधि सेवन गर्दा समेत निको हँुदैन । यो समस्या भए लामो समयसम्म पेट दुख्ने, यौनसम्पर्क गर्दा दुख्ने, दिसा गर्दा दुख्ने हुन्छ । यस्तो समस्या अल्ट्रासाउण्डमा देखिदैन जसका लागि ल्याप्रोस्कोपी नै गर्नु पर्ने हुन्छ । बाँझोपनाका समस्या पनि यो लाभदायक मानिन्छ । किनभने यसबाट पाठेघरको बनावट, ओभरी सामान्य छ छैन देखिनुको साथै पाठेघर सानो भएको अवस्था थाहा पाउन सकिन्छ । यसबाट क्रोमोट्युवेसन पनि गर्न सकिन्छ । पाठेघरका मिथालिन ब्लु भन्ने औषधि पठाइन्छ । जसको माध्यमबाट ट्युबहरू खुला छ÷छैन जाँच गर्न सकिन्छ । यसको सहायताले कतै अवरोध भएका ट्युब खुल्न जान्छ । 

कसरी गरिन्छ ?
डाइग्नोस्टिक ल्याप्रोस्कोपीका लागि पनि जनरल एनेथेसिया दिएर बेहोस बनाइन्छ । नाइटो मुनि सानो प्वाल पारेर त्यसबाट पेटमा कार्वनडाइअक्साइड पठाईन्छ । जसले पेट फुल्न जान्छ । त्यसपछि त्यहाँबाट दुर्विन छिराइन्छ । यसको साथै अरु २ वटा प्वाल पारेर त्यसबाट शल्यक्रियाका लागि आवस्यक साना साना इन्स्ट्रमेन्ट पठाइन्छ । साथै डिम्बको अवस्था, ट्युबको अवस्था हेरेर शल्यक्रिया गरिन्छ । 

पहिला पेटमा भएको समस्या समाधान गर्न ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु पर्ने अवस्था थियो । यसरी शल्यक्रिया गर्दा सिमित क्षेत्रमा मात्र हेर्न सकिन्थ्यो भने ल्याप्रोस्कोपी प्रविधिमा पेटभित्रको सम्पूर्ण समस्या थाहा पाउन सकिन्छ । यसरी शल्यक्रिया गर्दा घाउ सानो हुने दुखाई कम हुनुको साथै एन्टिबायोटिक र अन्य औषधि समेत कम लाग्छ । 

ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गर्दा अस्पतालमा धेरै बस्नु पर्दैन । यो प्रविधि महङ्गो भए पनि धेरै बिरामीले यसको सदुपयोग गर्न सकुन भन्ने उदेश्यले यसलाई सस्तो भन्दा सस्तोमा सेवा दिदै आएका छौं । 

(डा. शोभा इवामुरा अस्पतालकी स्त्री रोग विशेषज्ञ हुन् ।)
 

Last modified on 2019-11-16 09:45:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts