टेकुको जनस्वास्थ्य प्रयोगशालालाई राष्ट्रिय निदान केन्द्र बनाउन कार्यदल गठन



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई राष्ट्रिय निदान केन्द्र बनाउने प्रकृया थालनी भएको छ । 

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार प्रयोगशालालाई राष्ट्रिय निदान केन्द्र बनाउन सल्लाहकार समिति र कार्यदल बनाइएको हो । कार्यक्रम अनुसार हरेक प्रदेशमा जनस्वास्थ्इ प्रयोगशाला सेवा सञ्चालनका लागि आवश्यक भवन निर्माण र जनशक्ति व्यवस्थापन तथा केन्द्रीय स्वस्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रुपमा स्तारोन्नती गर्त पूर्व तयारी र गुरुयोजना तयार गर्न दुईवटा कार्यदल र एउटा सल्लाहकार समिति बनाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिइन् ।
 
स्वास्थ्य सेवा विभागका महानिर्देशक संयोजक रहने गरि १५ सदस्यीय सल्लाहकार समिति बनाइएको छ । जसको सदस्य सचिवको रुपमा केन्द्रकी निर्देशक डा. झा रहेकी छिन् । समितिमा भवन विभागका महानिर्देशक, स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक सदस्य रहेका छन् । त्यस्तै, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक, परिवार कल्याण महाशाखाका निर्देशक, चिकित्सा सेवा महाशाखाका निर्देशक, वीर अस्पतालका निर्देशक पनि पदेन सदस्य रहेका छन् । सल्लाहकार समितिमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक लक्ष्मीराज पाठक, जनस्वास्थ्य प्रयोगशालाकी पूर्व निर्देशक डा. गीता शाक्य, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्राडा हरिगोविन्द श्रेष्ठ र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानै माइक्रोबायोलोजी विभागका प्रमुख प्राडा जीवन सेरचन पनि सदस्य छन् । 

त्यस्तै, उक्त कार्यक्रममध्ये हरेक प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला सेवा सञ्चालनका लागि आवश्यक भवन निर्माण र जनशक्ति व्यवस्थापनका लागि भन्दै जनस्वास्थ्य प्रयोगशालाकी प्र.क.प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माको संयोजकत्वमा १४ सदस्यीय कार्यदल पनि बनाइएको छ । जसमा प्रयोगशालाकै सह. प्र.मे.टेक्नोलोजिष्ट विष्णु उपाध्याय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि, नीति योजना तथा अनुगमन महाशाखा, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्र, क्षयरोग केन्द्र, परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन, ग्लोबल फण्ड लगायतका प्रतिनिधि सदस्य रहेका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रुपमा स्तरोन्नती गर्न पूर्व तयारी र गुरुयोजना तयार गर्न पनि कार्यदल बनाइएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झा संयोजक रहेको सो कार्यदल ९ सदस्यीय छ । सो कार्यदलमा प्रयोगशालाकी उप प्र.मे.टे लिली श्रेष्ठ, मे.टे राजेशकुमार गुप्ता, भवन विभागका इञ्जिनीयर, केन्द्रीय रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकार, प्रयोगशालाको लेखा र शाखा अधिकृति लगायत सदस्य छन् । सो कार्यदलको सदस्य सचिवका रुपमा प्रयोगशालाकै वरिष्ठ क. प्याथोलोजिष्ट डा. रेखा मानन्धर सदस्य सचिव रहेकी छिन् । 

Last modified on 2019-11-17 05:51:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts